|

जनकपुरधाम : सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा क्षेत्रमा भारतले ठूलो बाँध बनाएकाले तराईमा बर्सेनि डुबानको समस्या भएको बताएका छन्।

जनकपुरमा सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा अध्यक्ष प्रचण्डले भारतले सीमा क्षेत्र नजिकै ठूलो बाँध र सडक बनाएका कारण तराई डुबानमा पर्ने गरेको दाबी गरे । ‘बहाव नै रोकिने खालले बाँध बनाउँदा तराई बाढीले डुब्छ,’ उनले भने, ‘त्यसैले सडक वा बाँध कस्तो खालको बनाउने विषयमा भारतले सहकार्य हुनुपर्छ।’

बाढीले तराई मधेसमा बर्सेनि ठूलो जनधनको क्षति पुर्‍याउने गरेको र दीर्घकालीन समाधान गर्ने विषयमा प्रधानमन्त्री केपी ओली शर्मासँग समेत छलफल भइरहेको अध्यक्ष प्रचण्डले बताए। उनले पीडितलाई राहत दिने कार्यभन्दा दीर्घकालीन समाधान गर्नुपर्नेमा जोड दिए। अत्यधिक बाढी आउने तराईका सबै नदीनालामा  तटबन्ध निर्माण गर्नुपर्ने औंल्याए।

अध्यक्ष प्रचण्डले प्रदेश २ का बाढी पीडितका लागि विशेष प्याकेज लिएर प्रधानमन्त्री ओली छिट्टै आउने आश्वासन दिए। 

प्रचण्डले कुरा फेरे

सोमबार धनुषाको बरमझियामा शहीद रामवृक्ष यादव स्मृति सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रदेश २ मा भ्रष्टाचार बढेको र जनता झन् दुःख पाउन थालेको अभिव्यक्ति दिएका थिए। तर, आज उनले उक्त अभिव्यक्ति सच्याएका छन्।

प्रचण्ड सम्मिलित जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सोमबारको उक्त अभिव्यक्तिलाई लिएर प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले आपत्ति जनाए। 

‘काठमाडौंमा त सिंहदरबार नै बिक्री हुन्छ र पार्टीका महासचिव नै संलग्न रहेको रहस्य बाहिर आउँछ । के त्यो भ्रष्टाचार होइन?’ उनले भने, ‘देश नै भ्रष्टाचारमा चुर्लुम्म डुबेको अवस्थामा प्रदेश २ अछुतो रहन सक्दैन। भ्रष्टाचार अन्त्यका लागि सहकार्य गरेर अगाडि बढ्न जरुरी छ।’

यादवपछि मन्तव्य राखेका प्रचण्डले अन्य ठाउँमा जस्तै प्रदेश २ मा पनि भ्रष्टाचार मौलाउन थालेको मात्र भनेको दाबी गरे। उनले भने, ‘जनताले जुन आकांक्षा बोकेका थिए, त्योअनुसार काम नहुने गरेको मात्र भनेको थिएँ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.