प्रधानमन्त्रीको कार्यालयबाट ताकेता

|

काठमाडौं : सरकारका चार मन्त्रीले पदवहाली भएको एक वर्ष बितिसक्दा पनि सम्पत्ति विवरण बुझाएका छैनन्। 

उपप्रधान तथा स्वास्थ्य मन्त्रीमा उपेन्द्र यादव, कानुन मन्त्री भानुभक्त ढकाल र सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले अझै सम्पत्ति विवरण नबुझाएका हुन्। 

उपेन्द्र यादव र मोहम्मद इस्तियाक राई मन्त्री भएको १५ महिना बितिसकेको छ। तर उनीहरु दुवैले सम्पत्ति विवरण बुझाउनेतर्फ चासो दिएका छैनन्।त्यसैगरी देशको कानुन, नियम र ऐन निर्माणको प्रमुख जिम्मेवारी पाएका भानुभक्त ढकालेसमेत सम्पत्ति विवरण बुझाएका छैनन्। 

तत्कालीन मन्त्री शेरबहादुर तामाङले २०७५ साउन ८ गते पदबाट राजीनजामा दिएपछि २०७५ साउन १८ गते मन्त्री बन्ने अवसर पाएका ढकालले पनि आफ्नो कार्यकाल एक वर्ष बिताइसकेका छन् । तर उनले पनि अझैसम्म सम्पत्ति विवरण बुझाउन नसकेका हुन्। 

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवका स्वकीय सचिव महेश चौरसियाले प्रधानमन्त्रीको कार्यालयको निर्देशन बमोजिम् केही दिनमै बुझाउने तयारी गरिएको बताए । 
‘यो आर्थिक वर्षको सुरुवातसँगै प्रधानमन्त्रीको कार्यालयबाट बुझाउन निर्देशन आइसकेको छ’, उनले भने, ‘मन्त्रीज्यूले केही दिनमै बुझाउने तयारी गर्नुभएको छ । 

त्यसैगरि ढकालसँगै स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त डा. सुरेन्द्रकुमार यादवले पनि अझैसम्म सम्पत्ति विवरण बुझाएका छैनन्। 

के भन्छ कानुन? 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० मा  सार्वजनिक पद धारण गरेका व्यक्तिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारका नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको विवरण सरकारले तोकेको निकायमा पेस गर्नुपर्ने प्रावधान छ ।

तोकिएको समयसीमाभित्र सम्पत्ति विवरण बुझाउन नसकी मानसिब कारणसहित म्याद थप्न अनुरोध भएमा सम्बन्धित निकाय वा अधिकारीले बढीमा ३० दिन थप्न सक्ने व्यवस्था ऐनमा छ । 

थप गरिएको म्यादभित्र पनि सम्पत्ति विवरण नबुझाउनेलाई जनही पाँच हजार रूपैयाँ जरिबाना हुन्छ । जरिबानामात्रै नभइ त्यस्ता व्यक्तिको सम्पत्ति वैध भए–नभएको विषयमा सम्बन्धित निकाय या अधिकारीले छानबिन गर्नसक्ने प्रावधान पनि ऐनमा छ। 

प्रधानमन्त्री कार्यालय यसो भन्छ

तर यी चार मन्त्रीले एक वर्ष भन्दा धेरै समय गुजार्दा पनि सम्पत्ति विवरण बुझाएका छैनन्। उनीहरुलाई सम्पत्ति विवरण बुझाउन ताकेता गरिएको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ। 

प्रधानमन्त्रीको कार्यालयका प्रवक्ता तथा सहसचिव विनोदबहादुर कुवँरले चारै मन्त्रीले सम्पत्ति विवरण यसअघि बुझाएको बताउँदै सार्वजनिक मात्रै नगरिएको उल्लेख गरे। उनले प्राविधिक कारणले मात्रै प्रधानमन्त्रीको कार्यालयको वेबसाइटमा नराखिएको दाबी गरे।

‘नयाँ आर्थिक वर्षको बुझाउन अझै ३० दिन बाँकी छ। हामीले आर्थिक वर्ष सुरु भएदेखि ६० दिनको समय दिएका हुन्छौँ’, उनले भने, ‘उहाँहरु सबैले बुझाउने जानकारी दिनुभएको छ। नयाँ आर्थिक वर्षको सबै मन्त्रीहरुले बुझाउनुहुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.