|

काठमाडौं : लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै पटक-पटक संसद अवरुद्ध गरेको राष्ट्रिय जनता पार्टीले फेरि उक्त माग उठाएको छ।

राष्ट्रिय जनता पार्टीकी सांसद अमृता अग्रहरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेर सरकारले आफूहरुलाई विद्रोहका लागि बाध्य पार्न खोजेको आरोप लगाइन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा लाल आयोगको प्रतिवेदनबारे सभामुखले निर्देशन दिएको स्मरण गर्दै सांसद अग्रहरीले सरकारले भने आफूहरुको समस्यालाई वेवास्ता गरेको आरोप लगाइन्।

'लाल आयोगको प्रतिवेदनको विषयमा पटक पटक आवाजसँगै सदनपनि अवरुद्ध गरियो, त्यसपछि सभामुखमार्फत आश्वासन र विशेष शब्दको प्रयोग गरी निर्देशन समेत दिइयो', उनले भनिन्, तर दुईचार दिनअघि प्रधानमन्त्रीले सदनमा सार्वजनिक महत्वको विषयमा गरेको सम्बोधनमा हाम्रो समस्यालाई छुँदासमेत छोइएन।

उनले अब शासकहरुले गर्दै आएका अपराधमा आफ्नो पार्टी सहभागी नहुने बताइन् । 'कुनैपनि कुराको एउटा सीमा हुन्छ, यस देशका शासकले गर्ने अपराधमा अब हाम्रो पार्टी धेरै सहभागी हुनेवाला छैन', उनले भनिन्।

सरकारले आफूहरुको समस्या समाधान नगरे चुप लागेर नबस्ने भन्दै सांसद अग्रहरीले आफूहरुलाई देशमा विद्रोहका लागि बाध्य नपार्न चेतावनी समेत दिइन्।

'समयमै सरकारले हाम्रो समस्यामा विचार नगरे, वारम्वार भन्न आवश्यक छैन', उनले थपिन्, 'हामी चुप लागेर बस्नेछैनौं।'

नागरिकता नहुँदा मधेसका बेरोगार युवाहरुले विभिन्न किसिमका समस्या भोगिरहेको उनको भनाई छ। 'हामी मधेसी शान्ति-प्रिय छौं, हामी अहिंसा चाहन्छौं, हिंसामा विश्वस गर्दैनौं, त्यसैले हामीलाई बाध्य नपारीयोस्', उनले भनिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.