|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि पटक-पटक सिंगापुर जानुपरेको बिषयमा लिएर सांसदले प्रश्न उठाएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँगको प्रश्नोत्तरका क्रममा सांसद प्रेम सुवालले प्रधानमन्त्रीको उपचार गर्ने क्षमता नेपालमा भए नभएकोबारे गरेका हुन्।

'भर्खरै प्रधानमन्त्री केपी ओली सिंगापुरमा स्वास्थ्य उपचार गराएर फर्कनुभयो', उनले भने, 'फेरि भोली सिंगापुर नै जानुपर्ने भयो। के प्रधानमन्त्रीज्यूको उपचार गर्ने क्षमता भएका अस्पताल नेपालमै छैन र ?'

केही रुपैयाँको स्वास्थ्य उपकरण खरिद गरिए प्रधानमन्त्री ओलीलगायत सर्वसाधारणको उपचार नेपालमै गर्न सकिने मत चिकित्सकहरुले राखेको उनले स्मरण गराए। 'नेपालसँग उपकरण भएको भए सिंगापुरका डाक्टरलाई केही समय नेपालमै राखेर प्रधानमन्त्रीको उपचार गराउन सकिने पनि मत छ', सांसद सुवालले भने।

सांसद सुवालको प्रश्नको उत्तर दिँदै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री यादवले प्रधानमन्त्रीलाई डाक्टरहरुले सिंगापुरमै उपचार गर्न सिफारिस गरेकाले उतै गएको बताए।

नेपालमा धेरै रोगहरुको उपचार सम्भव रहेको र भइरहेको जानकारी दिँदै उनले केही गम्भीर अवस्थामा मात्रै बाहिर जानुपर्ने बाध्यता रहेको सुनाए। 'प्रधानन्त्रीको उपचारका लागि चिकित्सकले नै रिफर गरिसकेकाले बाहिर पठाउन उचित हुन्छ', उनले भने, 'उहाँ उपचारका लागि फेरि जाने क्रममा हुनुहुन्छ। सबै किसिमका उपचार नेपालमै गर्ने गरी सबै उपकरण ल्याएपछि यो अवस्था नआउला ।'

गत साउन १८ गते सिंगापुर गएर १० दिनको उपचारपछि प्रधानमन्त्री ओली काठमाडौं फर्किएका थिए। स्वास्थ्य समस्या बल्झिएपछि प्रधानमन्त्री ओली फेरी सिंगापुर जान लागेका हुन्। ओलीले १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.