भारतबाट आएका मोबाइल चोर बढेको प्रहरीको दाबी

|

विराटनगर : प्रहरीको अनावश्यक चेकजाँचका कारण नेपाल आउने भारतीय पर्यटकको संख्या ५० प्रतिशत घटेको होटल तथा पर्यटन व्यवसायीले बताएका छन्।

जिल्ला प्रहरी कार्यालयको सहकार्यमा विभिन्न ४ वटा होटल व्यवसायी संगठनको आयोजनामा मंगलबार आयोजित कार्यक्रममा भारतीय पर्यटकका गाडी पर्यटक ओरालेर जताततै चेकजाँच गर्ने गर्दा निरुत्साहित भएको उनीहरूको भनाइ छ। होटल तथा पर्यटन व्यवसायी भविष श्रेष्ठले अघिल्लो वर्षको तुलनामा यस वर्ष भारतीय पर्यटकको आगमन ५० प्रतिशतले घटेको दाबी गरे। ‘यसअघि भारतीय पर्यटक बोकेका गाडी दैनिक २० देखि २५ वटासम्म नेपाल भित्रिएको रेकर्ड थियो,’ श्रेष्ठले भने, ‘यस वर्ष भने त्यसरी भित्रने गाडीको संख्या १० को हाराहारीमा मात्रै छ।’

श्रेष्ठका अनुसार प्रहरीले भन्सार कार्यालय विराटनगरमा चेकजाँच गर्ने, त्यसपछि निमुवा, दुहबी, इटहरी, धरानमा पटकपटक सोही तरिकाका चेकजाँच गर्ने गरेको छ। यसले पर्यटन वर्ष सन् २०२० को २० लाख पर्यटक पुर्‍याउने लक्ष्य पूरा नहुने उनको भनाइ छ। होटल व्यवसायी राजन श्रेष्ठले होटलमा बसेका मानिसलाई चेकजाँचका नाममा ह्यारेसमेन्ट गर्ने गरेको कारण भारतीय पर्यटक आउनै छाडेको बताए।

प्रहरीले विराटनगरमा केही दिनअघि होटलमा छापा मारी दर्जनौं जोडीलाई पक्राउ गरेको थियो। त्यसक्रममा कतिपय उपचारका लागि आएका बिरामीहरू र श्रीमान-श्रीमतीसमेत भएको होटल व्यवसायीको दाबी छ। ‘कतिपय मानिसहरू श्रीमान-श्रीमती हौँ भन्दै आउँछन्, हामी आइडी कार्ड लिएर होटलमा बस्न दिन्छौँ, हामीलाई विवाह गरेको प्रमाण लेऊ भन्ने अधिकार छैन,’ होटल व्यवसायी सुरेश भट्टराईले भने, ‘तर प्रहरीले हामीसँग भएको कागजात नहेरी सिधै कोठामा गएर पक्राउ गर्ने गरेको छ, यसले गर्दा पर्यटनमा पनि असर गर्छ।’

होटल खुल्ने समय निर्धारण पनि नगर्न व्यवसायीले माग गरेका छन्। ‘कतिपय यात्रुबस रातको १० बजे १२ बजे आउँछन्, ती बसमा आउने यात्रुलाई बास दिनु कि नदिनु ?’, होटल व्यवसायी महेन्द्र ढुंगानाले भने, ‘प्रहरीले होटल खोल्ने समय भयो भनेर सटर जबरजस्ती तान्न लगाउने अवस्थाको अन्त्य हुनु आवश्यक छ।’

अपराध नियन्त्रणका लागि चेकजाँच : प्रहरी

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्वराज अधिकारीले पर्यटन वर्षलाई असर गर्ने गरी प्रहरीले कुनै चेकजाँच नगरेको बताए। केही समयअगाडि होटलबाटै साफ सुटर पक्राउ गर्न सफल भएको उदाहरण दिँदै उनले पर्यटन वर्ष सफल बनाउन शान्ति सुरक्षाको अवस्था राम्रो हुनुपर्नेमा जोड दिए।

केही समययता तराईका जिल्लाहरूमा मोबाइल पसल चोरी गर्ने संगठित गिरोह भारतबाट आएको र चोरीका घटना गराइरहेको बताउँदै उनले त्यसलाई नियन्त्रण गर्न पनि प्रहरीले सचेतता अपनाएको बताए। ‘भारतबाट मोबाइल चोरको गिरोह संगठीत रूपमा आएको हामीले सूचना पाएका छौँ,’ अधिकारीले भने, ‘त्यस्ता अपराधिक क्रियाकलाप गर्नेहरू दिनभर होटलमा बस्ने र रातभर चोरी डकैती गर्न जाने गरेको हाम्रो अनुसन्धानबाट खुलेको छ, ३ जनालाई हामीले भर्खरै पक्राउ पनि गरेका छौं।’

उनले त्यसखालका अपराधिक क्रियाकलापमा संलग्न भएको आशंका भए प्रहरीलाई खबर गरेर सहयोग गर्न पनि आग्रह गरे। ‘प्रहरीले ११ सय वटा विषयमा कमाण्ड गर्नुपरेको छ र १ प्रहरी बराबर ७ सय मानिसको निगरानी गर्नुपर्छ,’ पोखरेलले भने, ‘प्रहरी एक्लैले यो सम्भव नहुन सक्छ तपाईहरूको पनि सहयोग आवश्यक छ।’

रथयात्रामा चोर आउने डर

पोखरेलले विगत केही दिन यता झापा, मोरङ, सुनसरी र सप्तरीका ५/७ वटा सटर फोरेर मोबाइल पसल चोरी भएको बताए। त्यसमा पारिबाट आएका संगठित गिरोह रहेको सूचना प्रदेश प्रहरी कार्यालयबाट आएको उनको दाबी छ।

‘खासगरी भदौ ७ गते विराटनगरमा हुने रथयात्रामा ठूलो मात्रामा होटल बुक हुने र त्यही मौका छोपेर कैयौँ चोर आउने तयारीमा रहेको सूचना हामीले पाएका छौँ,’ अधिकारीले भने, ‘पहिलेदेखिका घटनाले पनि त्यही देखाउँछ, महिलामाथि हुने घटना, सिमाबाट हुने अपराधिक क्रियाकलाप धेरै भएको छ।’ त्यसलाई नियन्त्रण गर्नका लागि जिल्ला प्रहरी कार्यालयबाट डेढ सयदेखि २ सय प्रहरी सादा पोशाकमा खटाएको र विराटनगरका विभिन्न क्षेत्रमा १६ वटा टोली परिचालित गरिएको उनको भनाइ छ।

कार्यक्रममा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी अनुप भण्डारीले प्रहरीले होटलमा छापा मार्नु सानो कुरा नभएको बताए। अपराध नियन्त्रणका लागि सहज हुने भएकोले प्रत्येक होटलमा सिसिटिभी जडान गर्न व्यवसायीलाई आग्रह गर्दै भण्डारीले त्यसले थुप्रै अपराधका घटनाको छानबिनमा सहयोग पुग्ने बताए।

व्यवसायीले भने सिसिटिभी जडानमा जिल्ला प्रशासन कार्यालयमा अनुमति लिनुपर्ने झन्झटिलो प्रक्रिया भएको भन्दै गुनासो गरेका थिए। भण्डारीले भने सिसिटिभी जडानका लागि अनुमति लिनु नपर्ने तर विवरणसहितको जानकारी जिल्ला प्रशासन कार्यालयमा बुझाए हुने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.