पार्टीको कमिटी ठूलो भयो, अब छरितो बन्छ

|

काठमाडौं : नेपाल कम्यूनिष्ट पार्टीका नेता वामदेव गौतमले पार्टीको संगठन चुस्त, छरितो र सशक्त पारेर छिटै नयाँ स्वरुप दिने बताएका छन्। ठूला कमिटी बनाउने र व्यक्ति-व्यक्तिले निर्णय गर्ने परम्पराको अन्त्य गर्दै छरितो कमिटी बनाएर ब्यक्तिलाई कमिटी मातहत र अल्पमतलाई बहुमत मातहत राखिने उनले बताएका छन्।

यस ब्यवस्थाले कमिटीमा संगठित हरेक सदस्यलाई जिम्मेवारी बोध गराउने उनले बताए। गौतमले नेता कार्यकर्ताहरु असुरक्षित महसुस गरी ठूला नेताको आड लाग्दै गुटको छाता ओढेर चारैतिर दौडिने काम बन्द गरिने पनि बताए ।

पाँचदिन अघि मात्रै संगठन विभाग प्रमुखको जिम्मेवारी पाएका नेता गौतमले थाहाखबरसँग कुरा गर्दै भदौ १५ भित्र विभागले पूर्णता पाउने र विभागको कार्यालय स्थापना गर्ने ढंगले काम गरिरहेको बताए। विभागलाई पूर्णता दिने बिषयमा उपप्रमुख जनार्दन शर्मा र आफ्नो सर-सल्लाह भइरहेको पनि गौतमले जानकारी दिए ।

महत्वाकांक्षी लक्ष

नेता गौतमले पार्टी केन्द्रको मातहतमा हरेक जिल्ला कमिटी र सातवटै प्रदेश कमिटीलाई आधुनिक प्रविधियुक्त बनाउनु आवश्यक रहेको औँल्याए। 'आगामी दश वर्षमा संगठित सदस्य २० लाख र पार्टी सदस्य ३० लाखसहित ५० लाख देशभक्त सशक्त र इमान्दार कार्यकर्ता तयार गरिन्छ', उनले आफ्नो योजना सुनाए ।

यसका लागि जिल्ला र प्रदेश कमिटीले पूर्णता पाउनासाथ एकीकृत पार्टीको सदस्यता नवीकरण गर्ने म्याद जारी गरिने योजना उनले सुनाए। 'त्यस म्यादभित्र तोकिएको शुल्कसहित नवीकरण नगर्नेले नयाँ सदस्यता लिनु पर्ने व्यवस्था गर्न लागेका छौँ', उनले भने, 'सदस्यता नवीकरण गर्ने हरेक संगठित सदस्यले हरेक वर्ष चारजना पार्टी सदस्य बनाउनु पर्ने छ।'

नेता गौतमले पार्टी स्कुल विभागबाट प्रारम्भिक, मध्यम र केन्द्रीय तहको परीक्षा उत्तीर्ण गरी उच्च नैतिक, अनुशासित, प्रतिबद्ध र सैद्धान्तिक ज्ञानले परिपूर्ण व्यक्तिलाई योग्यता अनुसारका कमिटीमा संगठित गरिने बताए। 'यो काम पार्टी स्कूल विभागसँगको सहयोग र समन्वयमा गरिने छ', वामदेवले भने।

ठूलो संख्या हुँदैन

संगठन विभाग प्रमुख गौतमले अब नेकपाका कुनै पनि कमिटी ठूलो संख्या बनाएर अनिर्णयको बन्दी नबनाउनेतर्फ बिचार भइरहेको बताए ।

'ठूला कमिटीले तुरुन्त निर्णय लिन सक्दैनन, त्यसपछि दुईचार जनाले निर्णय गर्नुपर्ने हुन्छ', गौतमले भने, 'जसको अपनत्व कमिटीका सबै सदस्यले उत्तिकै नलिने अनि कुण्ठा र असन्तोष बोकेर हिँड्नुपर्ने अवस्था आउँछ। यसो हुँदा पार्टी ठूलो देखिए पनि सुदृढ, खँदिलो र सशक्त बन्न सक्दैन।'

चीनको उदाहरण

गौतमले एक अर्ब ३६ करोड जनसंख्या र करिब नौ करोड ६० लाख पार्टी सदस्य भएको चिनियाँ कम्युनिष्ट पार्टीमा दुई सय पाँचजनाको केन्द्रीय कमिटी रहेको उदाहरण दिए। 'चिनियाँ कम्युनिष्ट पार्टीमा २०५ जनाको केन्द्रीय कमिटी छ। १७१ जना वैकल्पिक केन्द्रीय सदस्य, २५ जना पोलिटब्युरो सदस्यर र सातजनाको स्थायी कमिटी छ', उनले भने, 'हाम्रो केन्द्रीय सदस्य ९९ जना र वैकल्पिक ५१ जना राखेर १५० मा सीमित गर्नुपर्छ।'

यसरी गरौँ संगठन निर्माण

यसरी बनेका वैकल्पिक केन्द्रीय सदस्यमातहत कमिटीमा संगठित गर्ने र आवश्यकताका आधारमा बैठकहरुमा आमन्त्रण गर्ने व्यवस्था गरिनु उचित हुने उनको तर्क छ।

आगामी दिनमा पार्टी अधिवेशनले कमिटीका लागि सदस्य मात्रै चुन्ने व्यवस्था गरिनुपर्ने उनको तर्क छ। चुनिएका सदस्यहरुले आफैं पदाधिकारी छान्नु उपयुक्त हुने बताउँदै गौतमले हरेक अधिवेशनमा नयाँ नेतृत्वको खाका पुरानो नेतृत्वले प्रस्तुत गर्ने उल्लेख गरे। 'त्यसमा असहमत हुनेलाई निर्वाचनमा जान पाउने स्वतन्त्रता पनि दिइनु पर्छ', उनले भने।

नेकपाका कार्यकर्तालाई उनले विभाजित मनस्थितिमा नरहन आग्रह गर्दै उनले एकीकृत कम्युनिष्ट पार्टीको जिम्मेवार सदस्यको गौरवबोध गर्न पनि अपिल गरे। 'अब पार्टीको रुप र गति मात्रै नभइ समग्रमा जनताले खोजे जस्तै भएर फेरिन्छ र फेर्नुपर्छ', उनले भने, 'यो कुरामा विश्वस्त रहेर काम गर्न पनि पनि म पार्टी पंक्तिलाई आग्रह गर्छु।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.