विप्लवसँग पनि वार्ता गर्नुपर्ने दलहरूको निचोड

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सकिएको छ। बालुवाटारमा साँझदेखि बसेको बैठक सकिएको छ। बैठकमा प्रधानमन्त्री ओलीले देशले प्राप्त गरेको उपलब्धिमाथि प्रहार गर्ने तत्त्व र शक्तिहरू सक्रिय भएको भन्दै चिन्ता जनाएका थिए। 

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अुनसार प्रधानमन्त्रीले बैठकको सुरुमै दलहरूबीच सहकार्यको आवश्यकता औँल्याएका थिए। ‘हामी लामो समयसम्म एउटै उद्देश्यले हिँडेका हौँ।  समझदारी र सहकार्य अघि बढाउन यो बैठक बोलाएको हुँ’, ओलीको भनाइ उद्धृत् गर्दै श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले मुख्यतः तीनवटा विषयमा केन्द्रित भएर आफ्ना भनाइ राख्नुभएको थियो।’ 

के भने प्रधानमन्त्रीले?

१ गणतन्त्र, संविधान, लोकतन्त्र संघीयतामाथि आक्रमण भइरहेको छ। विभिन्न समूहबाट आक्रमणको प्रयत्न भएकाले यस निम्ति संघर्ष गर्न समझदारीसहित अघि बढ्नुपर्छ। 

२ देशमा हिंसात्मक गतिविधि हुन नदिन हामी सबै एक भएर अघि बढ्नुपर्छ। शान्ति स्थापना गरेर यहाँ आइपुगेपछि देशलाई फेरि हिंसामा लानु हुँदैन। यस्तो गतिविधि नहोस भन्नका लागि शान्ति दीगो बनाउन एक जुट हुनुपर्छ। 

के भने अन्य नेताले 

प्रधानमन्त्रीले बोलेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित अन्य नेताले पनि प्रधानमन्त्रीको भनाइमा सहमति जनाएका थिए। ‘गणतन्त्र, संघीयता, संविधान र लोकतान्त्रिक प्रणालीको रक्षाका लागि हामी एकताबद्ध छौँ’, देउवाको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने। 

श्रेष्ठका अनुसार शान्ति प्रक्रियाका बाँकी काम पनि पूरा गर्न र देशमा फेरि हिंसा हुन पनि दलहरू एकजुट हुने कुरामा सहमत भएका छन्। ‘आवश्यकता परेर वार्ता पनि गर्नुपर्छ भन्ने निचोड निस्केको छ’, श्रेष्ठले भने।

नेता श्रेष्ठका अनुसार हिजो विस्थापित भएकै शक्तिहरू अहिले चलखेलमा लागेको निचोड सर्वदलीय बैठकले निकालेको बताए। ‘हिजो जुन शक्ति र तत्त्वहरू विस्थापित भएका थिए, तिनीहरूबाट नै केही न केही चलखेल हुन सक्ने भन्नेमा छलफल भयो’, उनले भने, ‘प्रतिगमन हुन्छ भन्ने हाम्रो निचोड होइन। तर केही खतरा भएको भन्ने हाम्रो निचोड रह्यो।’

शान्ति प्रक्रियाको बाँकी कामबारेमा पनि छलफल श्रेष्ठले बताए। त्यसलाई छिटोभन्दा छिटो टुंगोमा लान दलहरू सहमत भएका छन्। उनका अनुसार हिंसात्मक गतिविधि गरेको भनिएको नेत्रविक्रम चन्दसहितका समूहसँग पनि वार्ता थाल्नुपर्नेमा दलहरू सहमत भएका छन्।

स्वास्थ्य ठीक छ

बैठकमा प्रधानमन्त्रीले बाहिर चर्चा चले जस्तो अवस्था स्वास्थ्य अवस्था जटिल नरहेको बताएका थिए। ‘राजनीतिक पार्टीका नेतालाई प्रधानमन्त्रीले बाहिर चर्चा चले जस्तो स्वास्थ्य गम्भीर नरहेको बताउनुभयो’, श्रेष्ठले भने, ‘डाक्टरहरूले दिएको सुझाव अनुसार पर्सी प्रधानमन्त्री सिंगापुर जाने बताउनुभएको छ। सबै नेताहरूले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्नुभयो।’ 

प्रतिपक्षीले के भन्यो

बैठकपछि बाहिरिँदै कांग्रेसका नेता कृष्ण सिटौलाले प्रधानमन्त्रीले देशको राजनीतिक अवस्थाबारेमा बैठक राखेको बताए। ‘प्रमले स्वास्थय अवस्थाबारे पनि जानकारी गराउनु भयो’, उनले भने, ‘फलोअप र उपचारका लागि जानुहुने भएकाले हामीले स्वास्थ्य लाभको कामना गर्‍यौँ।’

सिटौले सरकारले ल्याउने विधेयकमा पर्याप्त छलफल नभएको जानकारी आफूहरूले गराएको बताए। ‘विधेयकबारे हामीले प्रश्न उठायौँ। सच्याउनुपर्ने कुरा सुधार गर्नु जरुरी छ’, उनले भने, ‘प्रधानमन्त्री आफैँले शक्ति हातमा राखेको कुरा उठायौँ। उहाँले हाम्रा कुरा नकारात्मकरूपमा लिनु भएन।’ 

प्रधानमन्त्री भएपछि पहिलो पटक बोलाइएको सर्वदलीय बैठकमा प्रधानमन्त्री पनि सकारात्मकरूपमा प्रस्तुत भएको उनले बताए। ‘शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन कुरा भएको छ’, उनले भने, ‘प्रधानमन्त्रीका कुरा कांग्रेसले पनि सकारात्मक लिएको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.