|

संखुवासभा : एक वर्षअघि तामझामका साथ खुला दिसामुक्त जिल्ला घोषणा गरिएको संखुवासभाको सदरमुकामसहित मुख्य बजार र बसपार्कमा नै सार्वजनिक शौचालय छैन। 

जिल्लाको मुख्य बजारको रुपमा रहेको खाँदबारी, तुम्लिङटार र मानेभञ्याङ बसपार्कमा सार्वजनिक शौचालय छैन। सार्वजनिक शौचालय नहुदाँ सास्ती खेप्नु परेको सिलिचोङ गाउँपालिका–२ का अदल कुलुङले बताए। दैनिक एक हजार यात्रु ओहोरदोहोर गर्ने बस पार्कमा शौचालय नहुँदा आसपासमै शौच गर्दा दुर्गन्ध फैलिएको छ। तर, सरोकारवाला निकाय कानमा तेल हालेर बसेको कुलुङको गुनासो छ।

बजार क्षेत्र र बसपार्कमा  सार्वजनिक शौचालय नबन्दा बाहिरबाट आउने मानिसलाई शौच गर्न समस्या भएको सभापोखरी गाउँपालिकाका अमीर भट्टराईले गुनासो गरे। त्यस्तै, मकालु गाउँपालिकाको नुम बजार, सभापोखरीको बाह्रबिसे बजार, मादीको ओखरबोटे बजारमा समेत समेत सार्वजनिक शौचालय छैन। 

सदरमुकामको बजार र बस पार्कमा सार्वजनिक शौचालय नहुनु दुःखद् भएको जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताउँछन्। शाक्यले भने, ‘मैले यो विषयमा खाँदबारी नगरपालिकाको नगर अधिवेसनमा पटक–पटक कुरा उठाए पनि प्रमुखबाट कुनै प्रतिक्रिया आएन।’ पर्यटन वर्ष २०२० लाई सफल बनाउने भनिरहँदा जिल्ला भित्रने मुख्य ठाउँमा नै सार्वजनिक शौचालय नहुनु जिल्लावासीका लागि लाजमर्दा कुरा भएको उनको भनाइ छ।

खाँदबारीबाट धरान र विराटनगरका लागि दैनिक दर्जनौं साना तथा ठूला सवारीसाधन सञ्चालन हुने गरेको छन्। खाँदबारी बर्सपार्कबाट अहिले सभापोखरी गाउँपालिकाको बाह्रबिसे, धुपु, चैनपुर नगरपालिका, मकालु गाउँपालिकाको नुम, भोटखोलाको वरुण, खाँदबारी नगरपालिकाको तुम्लिङटार र मानेभञ्याङ क्षेत्रमा नियमित रुपमा यातायात सञ्चालन हुँदै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.