डडेल्धुरा : डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका–८ जमरानीमा झाडापखालाको प्रकोप फैलिएको छ। वडा नम्बर ८ मा पर्ने सानखोला र धादलीफाटामा झाडापखालाको प्रकोप देखिएको हो।
ती दुई गाउँमा अहिलेसम्म ६५ जनामा झाडापखला देखिएको परशुराम स्वास्थ्य शाखाका उप–संयोजक हिक्मत धामीले जानकारी दिए। ‘साउन २९ मा झाडापखालाको प्रकोप देखिएको हो। हामीले गाउँमा स्वास्थ्य शिविरको आयोजना गरेका छौं, स्वास्थ्यकर्मी पनि खटाएका छौं,’ उपसंयोजक धामीले भने, ‘अहिलेसम्म ६५ जनामा झाडापाखला देखिएको छ। जसमध्ये पाँच जना जोगबुडा अस्पतालमा रेफर गरिएको जानकारी आएको छ।’
साउन २९ देखि सुरु भएको प्रकोप अहिलेसम्म नियन्त्रणमा नआएको परशुराम नगरपालिका–८ का वडाध्यक्ष गोविन्द बोहराले बताए। ६० जना बिरामीको सादनी स्वास्थ्य चौकी प्रमुख आन्नदकुमार यादवको नेतृत्वको टोलीले उपचार गरिरहेको छ। पाँच जनालाई जोगबुडा अस्पतालमा रेफर गरिएको जनाइएको छ। उनीहरुमध्ये चार जना डिस्चार्ज भइसकेको र एक जनालाई थप उपचारका लागि अन्यत्रै रेफर गरिएको अस्पतालले जनाएको छ।
डडेल्धुरा अस्पतालले बिरामीको दिसाको नमुना परीक्षण गर्दा झाडापाखलाकै जीवाणु भेटिएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी भुषालले जानकारी दिए। स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत टंकप्रसाद चपागाईंले आफू बिदामा रहेको बताउँदै अहिलेसम्म जिल्लाको स्वास्थ्यकर्मीको टोली तथा प्रदेशको स्वास्थ्यकर्मीको टोली पनि उक्त क्षेत्रमा पुगेको जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।