|
फाइल फोटो

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल–चीन सम्बन्धप्रति भारत चिन्तित हुन आवश्यक नभएको बताएका छन्। नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक शुरु हुँदै गर्दा ज्ञवालीले यस्तो बताएका हुन्।

बिबिसीसँगको कुराकानीमा उनले भनेका छन्, ‘भारतले यसबारे चिन्ता लिइराख्नुपर्दैन। भारत र चीन नेपालका छिमेकी हुन्, हामी छिमेकीहरूबीच तुलना गर्न चाहदैनौं।’

‘नेपालले अन्य देशसँग सम्बन्ध विस्तार गर्दा भारतले बुझ्नुपर्दछ। उक्त सम्बन्ध भारतको हितविपरीत होइन भन्ने भारतीय नेतृत्वले बुझेको पनि छ। नेपालले आफ्नो मित्र देशहरूको हितविपरीत कुनै कदम उठाउँदैन, न त त्यसप्रकारका गतिविधि नै हुन दिन्छ,’ उनले भने।

नाकाबन्दीबाट दुवैले पाठ सिक्नुपर्छ

‘हिजो जे भयो, भयो। अब भविष्यलाई ध्यानमा राखेर अघि बढ्नुपर्दछ। नेपाल र भारतको सम्बन्ध बहुआयामिक छ। हामी आपसमा यति निर्भर छौं कि संयुक्त रुपमा अघि बढ्नुको विकल्पै छैन', मन्त्री ज्ञवालीले भने, 'दुवै देशको भविष्य र हितलाई ध्यानमा राख्दै हामी नयाँ दृष्टिकोणका साथ अघि बढिरहेका छौं। हिजो जे भयो, त्यसको छायासम्म पनि अब देखिनेवाला छैन। तर विगतका कुराहरूबाट पाठ भने अवश्य सिक्नुपर्छ। दुवै देशलाई यस कुराको बोध छ। त्यसैले हामीले अब पछाडि फर्केर हेर्ने होइन, अगाडि हेर्ने हो।’

कश्मीरमा शान्ति नखलबलियोस् भन्ने चाहन्छौँ

‘नेपालले अहिले सार्कको अध्यक्षता गरिरहेको छ। हामीलाई पूरा विश्वास छ, कश्मीर विकासको दिशामा अघि बढ्नेछ र यस मामिलाले क्षेत्रीय शान्तिमा कुनै प्रतिकूल प्रभाव पार्नेछैन। सबै समस्याहरू शान्तिपूर्ण तवरले हल हुनेमा हामी विश्वस्त छौं। हाम्रो आग्रह यही रहन्छ, कुनै पनि पक्षले शान्ति, स्थायित्व र आपसी सम्बन्ध खलबल्याउने कुनै कदम उठाउनुहुँदैन। क्षेत्रीय शान्ति तथा स्थायित्वमा सबैले योगदान गर्नुपर्छ। हामीलाई विश्वास छ, भारतको सक्षम नेतृत्व यो समस्यालाई सही ढंगले समाधान गर्न सफल हुनेछ’, अन्तर्वार्तामा ज्ञवालीले भनेका छन्, ‘नेपालको तर्फबाट शुभकामना छ। भारत सरकारसँग निकट सम्बन्धमा रहेर हामीले कश्मीरको स्थितिबारे जानकारी लिइरहेका छौं। त्यहाँ बसोबास गरिरहेका नेपालीहरू सुरक्षित छन्। उनीहरूलाई कुनै किसिमको समस्या हुनेछैन भन्नेमा हामी विश्वस्त छौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सबै योजना सफलताका साथ अघि बढोस्, हाम्रो विश्वास र शुभकामना छ। हामीले हाम्रो शुभेच्छा दूतावासमार्फत प्रकट गरिसकेका छौं।’

आर्थिक मुद्दामा केन्द्रित हुनेछ संयुक्त बैठक

‘यो बैठकमा हामी पारस्परिक सहयोगका सबै मुद्दामा छलफल गर्छौं, तर आर्थिक साझेदारी प्राथमिकताको विषय हुनेछ। त्यसबाहेक नेपालले झेलिरहेको व्यापार घाटाको समस्या हल गर्नेबारे पनि छलफल गर्नेछौं। हामी आशा गर्छौं, यो बैठकबाट नेपाल–भारत सम्बन्ध अझ बलियो हुनेछ’, ज्ञवालीले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.