भन्छन् : देश जस्तै सुन्दर र दयालु नेपाली

|

काठमाडौं : 'घाँटी हेरेर हाड निल्नु', 'आँखाको कसिंगर हुनु' लगायत नेपाली उखान सिकाउँदैछन् प्राध्यापक घनश्याम न्यौपाने। उनको स्वरमा स्वर मिलाउनेहरु कुनै नेपाली होइनन्। ती १० जना विद्यार्थी त चिनियाँ हुन्। विश्वभर आफ्नो प्रभाव छोडिरहेको चीनका नागरिकको नेपाली भाषामोहको एउटा दृश्य हो यो। सोमबार दिउँसो २:३५ बजे। स्थान, विश्व भाषा क्याम्पसको कोठा नम्बरमा ७।

रोचक त के छ भने ती सबै चीनबाट स्नातक पढ्न आएका विद्यार्थी हुन्। पछिल्लो समय नेपालमा नेपाली भन्दा अंग्रेजी पढ्ने जमात बढिरहेको छ। यसका आफ्नै सामाजिक आर्थिक र राजनीतिक कारण छन्।

नेपालीहरूले मौलिकता भुल्दै अंग्रेजी भाषालाई पछ्याइरहँदा विदेशी नागरिक भने नेपाली भाषातिर आकर्षित भइरहेका छन्। विश्वभाषा विद्यार्थी उनीहरु औपचारिक रूपमा नेपाली पढ्ने पहिलो व्याच हुन्।

उनीहरूले बोलेको नेपाली भाषा सुन्दा जोसुकै मोहित हुन्छन्। उनीहरू सिक्दै छन्। नेपाल आएको २० दिन मात्र भएको छ। तर उनीहरू सजिलै नेपाल भने आएका होइनन्। चीनमा उनीहरूले नेपाली भाषा एक वर्ष पढेका थिए।

चीनले आफ्ना नागरिक यसरी विदेशमा पढ्न पठाउने गरेको पहिलो घटना होइन्। चिनले विश्वभरि आफ्ना नागरिकलाई पढ्न पठाइरहेको छ। सम्बन्धित देशको भाषा पढाएर आफ्नो प्रभुक्त विश्वभर फैल्याउने उसको नीति पनि हुन सक्छ।

नेपाल पढ्न आएका विद्यार्थीमध्ये नेपाली नाम गरेका लक्ष्या, मोहिनि,  भाग्या, जसको चिनिया नाम  क्रमश हु लिंङ,पु हाइ छिङ, हाङ या निले अन्य विद्यार्थीले भन्दा अलि बढी नेपाली भाषा बुझेका छन्।

नेपाली भाषामा आकर्षण

युनान प्रान्तकी पो आइ छिङ २१ वर्षकी भइन्। उनले नेपालबारे कसरी त थाहा पाइन् त? उनी चिनियाँ लवजमा भन्छिन्, 'चीनमा हुँदा एकजना नेपाली शिक्षिकाले हामीलाई नेपालबारे वृत्तचित्र देखाउनु भएको थियो। त्यो वृत्तचित्रले नेपालको बारेमा थप कुरा जान्‍ने उत्सुकता जाग्यो। त्यसपछि नेपाली भाषा पढ्ने रहर पलाएर यहाँसम्म आइपुगेँ।'

नेपालबारेको उक्त भिडियोले नेपाल र नेपालीबारे बुझ्ने कौतुहलता बढेपछि नेपालसम्मको यात्रा तय गरेको उनी बताउँछिन्। चीनमा पनि नेपाली भाषा पढाइ हुन्छ। नेपालसम्मको यात्राबारे युनान प्रान्तकी फुलिङ भन्छिन्, 'यहाँको आर्थिक, सामाजिक अवस्था र जनसरोकारप्रति रूचि बढ्दै गएकाले हामी नेपाल आएका हौं।'

चीनमा उनीहरूले कक्षा कोठामा नेपाली भाषा पढ्थे तर बाहिर निस्केपछि चिनियाँ भाषा नै बोल्नुपर्थ्यो। नेपालमा आएपछि पाइला पाइलामा नेपाली बोल्न जरूरी छ। यही वातावरणले उनीहरूलाई नेपाली भाषा छिटो सिक्न प्रेरित गरेको छ।

नेपालको परिवेश र यहाँका नागरिकसँग उनीहरु घुलमिल हुदैँ गइरहेका छन्। 'हामीले सुनेको भन्दा फरक रहेछ नेपाल', युनान प्रान्तकी  ह्याङआनी भन्छिन्, 'यो देशसँगै यहाँका मानिस पनि दयालु र सुन्दर रहेछन्।'

उनीहरूले पढेर शिक्षिका बन्‍ने लक्ष्य राखेका छन्। आखिर शिक्षिका नै किन त? उनीहरू एकै स्वरमा भन्छन्, 'हामीलाई कसैले सिकायो। हामी पनि कसैलाई सिकाउछौं। नेपाली भाषा पढ्न इच्छुक चिनियाँ धेरै छन्। उनीहरूलाई पढाउने लक्ष हामीले बनाएका छौँ।'

शिक्षिका बन्‍न मात्रै नेपाली पढिरहेका छन् कि अरु पनि केही लक्ष छन् त? यसबारे पंक्तिकारले प्राध्यापक न्यौपानेलाई सोधेको थियो। उनको बुझाईमा चीनले जसरी विश्वभर आफ्नो उत्पादनको क्षेत्र विस्तार गरिरहेको छ। त्यसैगरी आफ्ना जनतालाई विश्वभर फैल्याइरहेको छ।

चीनले नेपालीमाझ् सम्बन्ध अझै विस्तार गर्न आफ्ना विद्यार्थीलाई पढ्न पठाएको अनुमान न्याैपाने गर्छन्। 'चीन सरकारले बिनाउद्देश्य आफ्ना प्रतिभा र युवालाई विश्व बजारमा पठाउँदैन। उसले बुझेको छ। आफ्नो उत्पादन बेच्‍न बजार, समाज र सामाजिक जीवनबारे मानिसहरूको धारणा बुझ्‍न यस्ता उपाय अपनाएको हुन्छ।'

भिडियो :

नेपाली भाषा पढेर के गर्ने?

पृथ्वीनारायण शाहले उहिल्यै दिव्योपदेशमा नेपाल दुई ढुङ्गाबीचको तरूल भनेका थिए। तर अहिले यो परिभाषा नै गलत हुँदै गएको छ। नेपाल तरूल होइन चीन-भारतको पुल हो। जसले विश्वका शक्तीशाली भारत र चीनबीच सौहार्द सम्बन्ध बनाउन भूमिका खेलिरहेको छ। यसैबीच नेपाली पढ्न चिनियाँहरू लालयित हुनु नेपालीका लागि खुशीको कुरा हो।

उनीहरू नेपाली भाषा पढेर गर्छन् त? प्राध्यापक न्यौपाने भन्छन्, 'नेपाली भाषा पढेर उनीहरूले आफ्नो देशमा दोभाषेको काम गर्न सक्छन्। अर्को कुरा उनीहरूको क्षमता नेपाली बजारमा सजिलै बिक्न सक्छ।' नेपाल-चीन सम्बन्धमा नयाँ उचाई दिन यी विद्यार्थीको भूमिका महत्वपूर्ण हुने न्यौपाने बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.