फिचर

उपेन्द्र र राजेन्द्र : सदैव राजनीतिक दुश्मन
SHARES

पुस १७, २०७३

    काठमाडौं : नयाँ संविधानप्रति बिमति जनाउँदै जारी आन्दोलनमा एकै ठाउँ सडकमा भए पनि उपेन्द्र यादवले नेतृत्व गरिरहेको संघीय गठबन्धनको बैठकमा सद्‍भावना पार्टी अध्यक्ष राजेन्द्र महतो भने आजसम्म गएका छैनन्।

    उनी अझैसम्म पनि प्रतिनिधि मात्रै पठाउँछन्- कहिले सहअध्यक्ष लक्ष्मणलाल कर्ण त कहिले महासचिव मनिष सुमन, तर आफू भने कहिल्यै जाँदैनन्। एकैदिन गठबन्धन र मोर्चाको बैठक भयो भने महतो मोर्चाको बैठकमा उपस्थित हुन्छन् तर त्यही दिन, त्यही ठाउँमा आधा घन्टापछि गठबन्धनको बैठक हुनेछ भने पनि उनी बस्दैनन्। बरु, त्यहाँबाट आफू हिँडेर गठबन्धनमा अरू नेतालाई पठाउँछन्। यो सिलसिला लामो समयदेखि चलिरहेको छ।

    अन्तिममा उपेन्द्र यादव राजेन्द्र महतोसँग असहमति जनाउँदै आउन मानेनन्, उनी आश्चर्यजनक रूपमा अशोक राईसँग पो पार्टी एकता गर्न पुगे। मधेस-केन्द्रित दलसँगको अन्तिम चरणमा पुगिसकेको एकता त्यहाँ त्यत्तिकै टुट्यो।

    त्यसैले होला, महतो गठबन्धनले गत साउनमा खुल्लामञ्चमा सञ्चालन गरेको रिले अनसनमा सहभागी नै भएनन्, न त गठबन्धन संयोजक यादव प्रमुख अतिथि हुने सडक आन्दोलनमा नै साथसाथ रहन पुगे। बरु, महतोले सार्वजनिक मञ्चहरू मार्फत् गठबन्धन संयोजक यादवको चर्को आलोचना गर्दै आएका छन्, गरिरहेका छन्। उनको आरोप छ- 'पहाडसँग मिलेर मधेसको पछिल्लो आन्दोलनलाई ड्यामेज बनाउने काम उपेन्द्रले गरे। न जिम्मेवारी पाएको नाका (जोगवनी) बन्द गराउन सके, न त त्यहाँ आन्दोलन नै चर्काउन सके।' महतोको बुझाइमा उपेन्द्रले अलि बढी जोड गरेको भए, विगतको आन्दोलन सफल हुने थियो। 

    आन्दोलनको क्रममा वीरगन्जमा भएको एक शवयात्राको क्रममा उपेन्द्र यादवमाथि हातपातको प्रयास भयो, जहाँ उपेन्द्रविरुद्ध नारावाजी पनि भएको थियो। उपेन्द्रहरूको बुझाइमा त्यो नारावाजी महतोका मानिसहरूले लगाएका थिए, जसको नियत, उपेन्द्रको बदनाम गराएर आफू 'राजनीतिक हिरो' हुनु थियो।

    त्यति मात्रै होइन, राजविराजमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको औपचारिक बैठक बस्यो। त्यो त्यही बैठक थियो, जुन बैठकले नाका अवरोध तथा राजमार्ग जाम गर्ने निर्णय लिएको थियो। त्यहाँ मातृका यादवलाई लगेपछि उपेन्द्र आत्तिए। न त मोर्चामा मातृकालाई पसाउन यादव मञ्जुर भए, न जेपी गुप्तालाई नै। यादवको विरोधका कारण आफूले लगेका मातृका र गुप्तालाई मोर्चामा अवरोध गरेपछि महतो थप आक्रामक भए।

    सोही बैठकमा एकाएक चिनियाँ झन्डाको प्रसङ्ग निस्क्यो। सो बैठकको दुई दिनअघि सुनसरीको इनरुवामा चीनको राष्ट्रिय झन्डा जलाउने काम भएको थियो, उपेन्द्रले त्यो झन्डा जलाउनका लागि महतोका कार्यकर्ताहरू सक्रिय भएको आरोप लगाए। विवाद यति धेरै बढ्यो कि अन्ततः चीनको झण्डा जलाउने कार्य गलत भएको भन्दै मोर्चाले विज्ञप्ति निकाल्यो। तर, चीनप्रति यादव लचक भएको भन्ने कुरा भारतीय दूतावासमा महतोले रिपोर्टिङ गरिदिए। भारतले मोर्चाको आन्दोलनलाई सहयोग गरिरहेको बेला चीनको झण्डा जलाउनु हुन्न भन्ने वक्तब्य आएपछि त्यसले आन्तरिक रूपमा द्वन्द्व मौलायो। तर, पछि उपेन्द्रले वक्तव्य जारी गर्न बाध्य भए। उपेन्द्र भारतप्रति औपचारिक रूपमा अति नै लचक भएको त्यो पहिलो र अन्तिम घटना हुन पुग्यो। यहाँ महतोले क्षणिक विजय हासिल गरे।

    मधेस आन्दोलनको लिगेसी सद्‍भावनाको हो कि फोरम नेपालको? यही लिगेसीको लडाइँमा दुवै नेताबीच राजनीतिक इगो कायमै छ। महतो र यादवको 'दुश्मनी'को पहिलो आधार र स्रोत पनि यही रहेको बुझ्न कठिन छैन।

    अझ केही समय अगाडिका कुरा, यादव र महतोसहित तराई-मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरका बीचमा तीन पार्टी एकीकरण हुने बहस पनि चल्यो। यो बहस त्यही बेला चल्यो, जब संविधानसभाको चुनावमा मधेस केन्द्रित दलको लज्जास्पद पराजय हुन पुग्यो। पटक पटक छलफल भयो, कार्यदलहरू बने, कार्यदलले धेरै काम गर्‍यो, पार्टीको नाम पनि जुरायो- तराई-मधेस सद्‍भावना फोरम, लोकतान्त्रिक सद्‍भावना फोरम। त्यति मात्रै भएन, पार्टी एकताका लागि भनेर एकताको दस्तावेज पनि बन्यो। तर, अन्तिममा उपेन्द्र यादव राजेन्द्रसँग असहमति जनाउँदै आउन मानेनन्, उनी आश्चर्यजनक रूपमा अशोक राईसँग पो पार्टी एकता गर्न पुगे। मधेस-केन्द्रित दलसँगको अन्तिम चरणमा पुगिसकेको एकता त्यहाँ त्यत्तिकै टुट्यो।

    महतो र यादवबीचको लामो विवादको शृङ्खलाको मुख्य कारण मधेस आन्दोलनको 'लिगेसी' कसले लिने भन्नेमा बढी केन्द्रित देखिन्छ। मधेसको मुद्दालाई मूलधारको राजनीतिमा स्थापित गराउने मुख्य योगदान सद्‍भावना पार्टीको हो, जो २०४७ सालको राजनीतिक परिवर्तनदेखि नै सक्रिय छ। संघीयताको मुद्दा उठाएर आन्दोलन गर्ने, जुलस गर्ने वा धर्ना कस्ने मात्रै होइन, २०६२/६३ को जनआन्दोलनपछि पनि काङ्ग्रेस, एमाले र माओवादीले संघीयतामा जान नमान्दा 'नोट अफ डिसेन्ट' दर्ज गराउने पार्टी पनि सद्‍भावना नै हो। तर, त्यो नोट अफ डिसेन्टको सुनवाई नभएपछि तराईमा असन्तुष्टि बढ्यो, त्यो असन्तुष्टिको लडाइँको नेतृत्व भने सद्‍भावनाबाट फुत्केर मधेसी जनअधिकार फोरम नेपालका अध्यक्षले गरिदिए।

    महतोको बुझाइमा सद्‍भावना नभएको भए मधेसका जनताले अधिकार प्राप्त गर्दैनथे, मधेसलाई केन्द्रमा स्थापित गराउन २७ वर्षदेखि निरन्तर लड्ने एक मात्र पार्टी सद्‍भावना हो। तर, उपेन्द्र यादव भने त्यसलाई मान्दैनन्। 'मधेसका एजेन्डा उठाएर सद्‍भावनाले सत्ताको भर्‍याङ मात्रै बनाउने काम गर्‍यो, अबको नेतृत्व मै हुँ। यदि म थिइनँ भने मधेस आन्दोलन हुँदैनथ्यो, संघीयता हुँदैनथ्यो। मेरो उपस्थितिपछि मात्रै बल्ल मधेसले मधेसको पहिचान पाएको हो', भन्छन्।

    मधेस आन्दोलनको लिगेसी सद्‍भावनाको हो कि फोरम नेपालको? यही लिगेसीको लडाइँमा दुवै नेताबीच राजनीतिक इगो कायमै छ। महतो र यादवको 'दुश्मनी'को पहिलो आधार र स्रोत पनि यही रहेको बुझ्न कठिन छैन।

    त्यसमाथि, पछिल्लो समयमा मधेसको राजनीतिमा बहुसङ्ख्यक रहेका यादवहरूको हालीमुहाली छ, जसले पचपनियाहरूलाई पनि च्यालेन्ज गरिरहेको छ। गैरब्राह्मण र यादवहरुको नेतृत्व आफूले गर्नुपर्नेमा महतो लगभग 'क्लियर' छन्। उनी त्यो समुदायप्रति बढी उदार छन, जसको नेतृत्व आफू गर्न चाहन्छन्। त्यसमाथि, भारतप्रति बढी नै झुकाव राख्ने महतोलाई यादवको पहाड चढ्ने कुरा भने त्यति मनपरेको छैन। यादव विशुद्ध मधेस र मधेसीको नेता हुन नसकेको भन्दै सबैभन्दा बढी चर्को आलोचना उनै महतोले गर्नुको कारण यादवको पहाड उक्लाइ पनि हो।

    त्यसैले कार्यगत एकता होस् वा मोर्चाबन्दी वा गठबन्धनमा नै रहे पनि उपेन्द्र र राजेन्द्रको 'मन मिलेको' छैन र हैन पनि। उनीहरू एकअर्काका लागि बाध्यात्मक मिलनमा छन्, परिस्थितिजन्य आवश्यकताले मात्रै उनीहरूलाई जोडेको छ। तर, सत्य यो हो कि महतो र यादव भने कहिल्यै मिलेका छैनन्, मिलेको देखिएका मात्रै छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

  • अनिल कुमार झा

    पत्रकारिता गर्दा र पार्टीको स्थिति र इतिहाँस लेख्दा न्युनतम जानकारी नराख्नेले नलेख्ने र प्रतिष्ठित मिडियाले त्यस्ता न्युज वा भ्यु लेख्नेलाइ स्थान दिंदा हुने क्षतिको क्षतिपुर्ति कस्ले गर्ने? उक्त लेखमा लेखिएको सदभावना, राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी होइन । राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी 2064 सालमा स्थापित भएको हो । गजेन्द्र नारायण सिंहको नेतृत्वमा स्थापित, आनन्दी देवी सिंहको नेतृत्वमा 2062/063को आन्दोलनमा 7दलिय आन्दोलनको एक घटक रहेको पार्टी, हात चुनाव चिन्ह र उक्त ऐतिहाँसिक कार्य गरेको पार्टी नेपाल सदभावना पार्टी हो । राम्ररी अध्ययन, अनुसन्धान र खोज होस् । यसका अतिरिक्त दलहरूको लागी त नियामक निकाय नै छ, निर्वाचन आयोग । त्यहाँबाट बुझ्दा त्यतिका बिधि मिहिनेत पनी गर्नु पर्दैन ।

  • सामाजिक संजाल

    सम्पर्क

    थाहा खबर प्रा. लि.
    मुक्तिश्री टावर
    नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    इमेलः
    समाचार विभाग: news@thahakhabar.com
    बिज्ञापनः ad@thahakhabar.com
    फोन : ९७७-१- ४७८६५६२

    थाहा मिडिया ग्रुप

    थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]