समानन्तर कमिटी गठन गर्ने चेतावनी

|

रौतहट : नेपाल कम्युनिष्ट पार्टी नेकपाका असन्तुष्ट पक्षले नेकपा प्रदेश नं. २ का अध्यक्ष तथा रौतहट क्षेत्र नं. ३ का सांसद प्रभु साहले पदको दुरुपयोग गरेको भन्दै कार्वाहीको माग गरेका छन्। रौतहटको गौरमा बुधबार आयोजित पत्रकार सम्मलेनमा असन्तुष्ट पक्षले पदको दुरुपयोग गरेका प्रदेश अध्यक्ष साहलाई कार्वाहीको मागसमेत गरेका छन्।

नेकपाका पूर्वसभासद अशोक जयसवालले पत्रकार सम्मेलनमा बोल्दै सांसद साहको कारण विगत लामो समयदेखि पार्टीमा ठूलो योगदान दिएका साथीहरूले बाध्य भएर पार्टी छाडेको बताए। स्थानीय तहको निर्वाचनको समयमा मौलापुर नगरपालिकाको लागि नगर प्रमुखको टिकट नपाएपछि स्थानीय धिरज पटेलले तत्कालीन माओवादी पार्टी छाडेर राजपाबाट टिकट लिएका थिए। पटेल भूमिगतकालदेखि नै लामो समयदेखि माओवादीमा रहँदै आएका थिए।

पछिल्लो पटक प्रदेश सदस्य,जिल्ला पदाधिकारी,जिल्ला सदस्यहरूको नामावली र गाउ/नगरको कमिटीको पदाधिकारी चयनमासमेत पूरै गुटबन्दी गरेको पूर्वसभासद जयसवाललेले बताए। सांसद साहले पदको दुरुपयोग गदै विभिन्न नगरपालिकामा आफ्नो मान्छेलाई मात्रै टिकट दिएको बताउँदै पूर्वसभासद जयसवालले भने ‘अर्को पद हत्याउनको लागि उनले राजीनामा दिएका हुन र यो सबै उनको नाटक हो।’ 

‘म विगत १० वर्षदेखि रौतहट जिल्लाको पार्टी इन्चार्ज,केन्द्रीय सदस्यसमेत भएको मान्छेलाई २ वर्षदेखि दबाएर राखे र म जस्ता धेरै कार्यकर्तालाई दबाएर राखेका छन,’ पूर्वसभासद जयसवालले भने, ‘बलिदानीको गरिमामय इतिहास बोकेको पार्टीलाई रौतहटमा सिध्याएर साहले आफ्नो घरपरिवार र दलालहरूको पार्टी बनाउन खोजेका छन्।’ 

पत्रकार सम्मेलनमा सभासद जयसवालले नगर/गाउँ पालिकाकाको पदाधिकारी चयन, जिल्ला सदस्यहरूको चयन चाडोभन्दा चाडो नसच्चाए जिल्लाभित्र अर्को समानन्तर कमिटी गठन गर्नेसमेत चेतावनी दिएका छन्। आफ्नो माग सम्बन्धमा केन्द्रीय तहले चाडोभन्दा चाडो सम्बोधन गर्न पत्रकार सम्मेलनमा सहभागीहरूले आग्रह गरेका छन्।

पत्रकार सम्मेलनमा यमुनामाइ गाउँपालिकाका अध्यक्ष श्री प्रसाद मुखिया, तत्कालीन नेकपा माओवादीका केन्द्रीय सदस्य विपिन जयसवाल,पार्टीका प्रदेश सदस्यहरू,जिल्ला सदस्यहरू, तत्कालीन नेकपा माओवादीको तर्फबाट विजयी भएका विभिन्न वडाका अध्यक्ष,विभिन्न संगठनका सदस्यसहित ठूलो संख्यामा असन्तुष्ट नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। आगामी दिनमा पार्टीलाई सच्चाएर हिँडनसमेत पत्रकार सम्मेलनमा सहभागीहरूले केन्द्रीय कमिटीलाई सुझाव दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.