|

भद्रपुर : कैदीबन्दीमाथि हुने सुरक्षा चुनौती र आर्थिक भारलाई कम गर्न उद्देश्यले झापा कारागारमै भिडियो कनफ्रेन्स सेवा सञ्चालनमा ल्याएको छ। 

कारागार व्यवस्था विभागले झापा कारागारमा भिडियो कनफ्रेन्स जडानका लागि ५ लाख बजेट विनियोजन गरेपश्चात् सो सेवा सञ्चालनमा ल्याइएको कारागारका जेलर राजेन्द्र निरौलाले जानकारी दिए। कारागारमै एउटा छुट्टै कोठामा जडान गरिएको भिडियो कनफ्रेन्स सेवा मंगलबारदेखि प्रयोगमा ल्याएको हो।

विद्युतीय अपराधसम्बन्धी मुद्दा लागेका इलाम घर भई हाल झापा भद्रपुर ८ बस्ने कुमार खनाललाई काठमाडौं जिल्ला अदालतका न्यायाधीससँग भिडियो कनफ्रेन्सबाटै बयान गराई उक्त सेवा सञ्चालनमा ल्याइएको जनाइएको छ। ‘कारागारमा रहेका कैदीबन्दीलाई जिल्लाबाहिरका अदालतमा बयानका पठाउने पर्ने दीर्घकालीन समस्या थियो’, जेलर निरौलाले भने, ‘अब त्यो समस्या टरेको छ, अब कारागारभित्रबाट सम्बन्धित अदालतका न्यायाधीसले भिडियो भिडियो कनफ्रेन्सबाटै बयान लिन सक्छ।’ 

‘अन्य जिल्लामा बयानका लागि अदालत पठाउँदा एक जना कैदी बन्दी बराबर दुई जना सुरक्षाकर्मी र एक जना कर्मचारी अनिवार्य पठाउनु पर्ने हुन्थ्यो’, उनले भने, 'सुरक्षा चुनौती रहेका जिल्लाहरूमा तीनदेखि चारजनासम्म प्रहरी पठाउनु पर्थ्यो, प्रहरी र कर्मचारीलाई पठाउँदा उनीहरूलाई यातायातसहित भत्ताको व्यवस्था पनि कारागारले गर्नुपर्थ्यो, त्यसमा कम्तीमा ३० देखि ४० हजारसम्म खर्च हुन्थ्यो, अब कैदीबन्दीको सुरक्षा चुनौतीसँगै आर्थिक भारसमेत कम हुने भयो।'

झापा जिल्ला अदालतको हकमा भिडियो कनफ्रेन्स प्रयोगमा नलाउने उनको भनाइ छ। देशभरिका कारागारमध्ये ८ देखि १० वटा कारागारमा मात्र भिडियो कनफ्रेन्स जडान भएको जनाइएको छ। यसअघि झापा कारागारमा कैदीबन्दीको सेवा सुविधालाई मध्यनजर गरी कारागार व्यवस्था विभागले टाटा विङगर मिनी बस उपलब्ध गराएपछि कैदी बन्दी राहत मिलेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.