|

काठमाडौं : पशुपति क्षेत्रको मन्दिर परिसर आसपासमा भक्तजनको सुविधाको लागि थप घुम्ति शौचालय सञ्चालनमा ल्याइएको छ।

पशुपति मन्दिर परिसर क्षेत्रमा पहिले नै पाँचवटा त्यस्ता शौचालय सञ्चालन भइसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। सफा र व्यवस्थित शौचालय नभएको अवस्थामा दर्शनार्थीले समस्या भोग्दै आएका थिए। तर, यही समयमा थप यस्ता शौचालय सञ्चालनमा आएपछि राम्रो सन्देश बाहिर जाने विश्वास रहेको पशुपति विकास कोष स्रोतले बताएको छ।

दर्शनका लागि आउने श्रद्धालु तथा अवलोकन गर्न आउने पाहुनाहरूको लागि व्यवस्थित शौचालयको अभावलाई ध्यानमा राखेर आधुनिक शौचालय सञ्चालनमा ल्याएको पशुपति क्षेत्र विकासका सदस्य सचिव डा. प्रदीप ढकालले बताए। उनका अनुसार परिसर क्षेत्रमा १९ वटा शौचालय छन्। पशुपति मन्दिर परिसरका लागि हाल पाँच वटा शौचालय थपिएको हो।

सचिव ढकालले शौचालय सबै मन्दिर क्षेत्रमा प्रयोग गर्नको लागि ल्याएको नभई मन्दिर आसपासका क्षेत्रमा पनि प्रयोग गर्न ल्याएको बताए। 'अत्यावश्यक अवस्थामा मात्र प्रयोग गर्ने गरी पाहुनाको लागि मन्दिर क्षेत्रमा एउटा शौचालय विशेष दिनमा मात्र राखिनेछ' उनले भने। 

सधैँ मन्दिर क्षेत्रमा शौचालय राख्दा समस्या आउने भएकाले अरू दिन बाहिर राखिने उनको भनाइ छ। थप शौचालय कहाँकहाँ राखिने भनेर छलफल भइरहेको र आवश्यकताअनुसार राखिने उनले प्रतिक्रिया दिए।

दुईवटा शौचालय पार्किङ क्षेत्रमा र अन्य तीनवटा भने पुरानो शौचालय भएको स्थानमा राखिएको ढकालले बताए। 'यसलाई भक्तजनहरूले पनि प्रयोग गरिरहेका छन्। पार्किङ क्षेत्रमा राखिएको शौचालयले मन्दिर दर्शन गर्ने आउने दर्शनार्थीहरूलाई सहज हुने छ' उनले भने।

बाह्य पर्यटकलाई लक्षित गरी घुम्ति शौचालयको अवधारणा ल्याइएको हो। पर्यटन वर्ष पनि नजिकिदै गरेको अवस्थामा पशुपति क्षेत्र अवलोकन गर्न आउनेको लागि यो शौचालय उपयोगी हुने उनको भनाइ छ। शौचालय भित्र पानी, साबुन र कागजलगायत आवश्यक चिजहरू राखिने पनि उनले बताए।

पशुपति क्षेत्रमा भएका घुम्ति शौचालय पहिले प्रयोग गर्दै आइरहेको शौचालयभन्दा सफा रहेको महोत्तरीका रामचन्द्र यादवले बताए। उनले भने, 'यस्तो शौचालयको संख्या बढाउनुपर्छ। पशुपति मन्दिर क्षेत्रमा सफा शौचालय प्रयोग गर्न पाउनु भनेको ठूलो कुरा हो।'

पहिले प्रयोगमा आइरहेको शौचालय सफा नभएको उनले प्रतिक्रिया दिए। पैसा तिरे पनि सफा थिएनन् तर, अहिले निःशुल्क भए पनि सफा रहेको उनको भनाइ छ।यस्ता शौचालय काठमाडौं सहरका सबै भागमा राखे उपत्यका बाहिरबाट आउनेलाई सहज हुने उनले बताए। एक ठाउँबाट अर्को ठाउँमा सार्न सकिने यस्ता शौचालयको सरसफाई र व्यवस्थापन  पशुपति क्षेत्र विकास कोषले कसरी गर्ने हो त्यो चाहीँ प्रतीक्षाको विषय बन्न सक्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.