|

रुकुम : जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले रुकुम पश्चिमका केही सरकारी कार्यालयमा छड्के अनुगमन गरेको छ। अनुगमनका क्रममा सरकारी कर्मचारी कार्यालय आउने, नआउने र पोशाक लगाउने नलगाउनेमा पनि मनपरी देखिएको छ।

प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याले ५ वटा सरकारी कार्यालयमा गरिएको अनुगमनमा अधिकांस कार्यालयमा कर्मचारीको कमजोरी देखिएको बताए। 

‘कर्मचारीहरू कार्यालय नै नआउने, आए पनि ढिलो गरी आउने र पोशाक नलगाउने ठूलो समस्या देखियो’ प्रजिअ पौड्याले भने, ‘उनीहरूलाई तीनदिने स्पष्टीकरण सोधिएको छ र चित्त नबुझे विभागीय कारबाहीका लागि पत्राचार हुन्छ।’

जिल्लाको जिल्ला अस्पताल सल्ले, जिल्ला स्वास्थ्य कार्यालय, समशितोष्ण तरकारी बिउ उत्पादन केन्द्र, नापी कार्यालय र मालपोत कार्यालयमा छड्के अनुगमन गरिएको थियो। आगामी दिनमा अनुगमनलाई थप विस्तार र प्रभावकारी तरिकाले लैजाने प्रजिअ पौड्यालको भनाइ छ।

जिल्ला अस्पताल सल्लेमा सबै प्रकारका गरी ५३ जना कर्मचरीमध्य १५ जना कर्मचारी अनुपस्थित तथा हाजिरी दुरुस्त नभएको पाइएको छ। उनीहरू सबैलाई स्पष्टीकरण सोधिएको छ। कार्यालयमा रहेका ६ जना कर्मचारीले कार्यालयमा समयमा तोकिएको पोशाक नलाएर आएको पाइएको छ। स्वास्थ्य कार्यालय सल्लेमा १३ जना कर्मचरीमध्ये तीनजनाले तोकिएको पोशाक नलाएको र हाजिरी विवरण दुरुस्त नभएका २ जना कर्मचारीलाई स्पष्टीकरण सोधिएको बताइएको छ।

तर, समशितोष्ण तरकारी चाँपामा १ जना कर्मचारी काजमा रहेको र अन्य सबै कार्यालयमा हाजिर र तोकिएको पोशाक लगाएको पाइएको हो। त्यस्तै नापी कार्यालयमा १० जना कर्मचारी मध्य १ जनाको हाजिरी नभएको र एक जनाले करार सम्झौता नै नगरि हाजिरी गरिरहेको पाइएको छ भने मालपोत कार्यालयमा ढिलो गरी तीनजना कर्मचारी कार्यालयमा उपस्थित रहेको देखिएको छ।

सेवाग्राहीको भीडभाड हुने उक्त कार्यालयमा सेवाग्राही सहायताको लागि नागरिक बडापत्र र उजुरी पेटिका नराखिएको र लेखापढी व्यवसाय आफैँ सरकारी कर्मचारी सरह कामकाज गरिरहेको पाइएको प्रजिअ पौड्याले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.