विश्वभर नेपाल चिनाउने अभियान

|

काठमाडौः काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले राष्ट्रिय पर्व इन्द्रजात्रालाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन चाडकै रुपमा मनाउन लागिएको बताएका छन् ।

बुधबार इन्द्रजात्रा व्यवस्थापन समितिका पदाधिकारीसँगको छलफलमा प्रमुख शाक्यले विदेशीलाई पनि इन्द्रजात्रा देखाउनुपर्ने बताएका हुन्।

' इन्द्रजात्रा नेवाः समूदायको मात्र पर्व होइन यो राष्ट्रिय पर्व हो। यसलाई सबै जातजातिको साझा पर्वका रुपमा मनाउनुपर्छ,’ शाक्यले भने, ‘नेवाः समूदायको बाहुल्यता भएको ठाउँमा भएकाले नेवाः समुदायले पर्वको समन्वय गर्छन्। तर यो सबैको साझा पर्व हो। अब यसलाई यो वर्षबाट अन्तराष्ट्रियस्तरमा पनि चिनाउने गरी मनाउने भएकोमा खुशी लागेको छ ।’

छलफलका क्रममा विगतका वर्षमा भन्दा यो वर्ष इन्द्रजात्रालाई भव्यरुपमा सम्पन्न गर्न महानगरपालिकाले विषेश समन्वय गरेको पनि उनले जानकारी दिए।

'हामीले इन्द्रजात्रा अवलोकनका लागि यो वर्ष महानगरपालिकासँग भगिनी सम्बन्ध भएका विभिन्न देशका धेरै नगर प्रमुखहरूलाई निम्ता गरेका छौँ। त्यस मध्ये १३ वटा नगरपालिकाका ५ मेयरसहित ४८ जनाले सहभागिता जनाउने निश्चित भइसकेको छ,' शाक्यले भने, ' हामी अहिले नेपाल भ्रमण वर्ष २०२० को तयारीमा जुटेका छौँ। हामीले उहाँहरुलाई निम्ता गर्नुको प्रमुख कारण नेपाल चिनाउनका लागि पनि हो।'

चीन, जापान र संयुक्त राज्य अमेरिकाबाट इन्द्रजात्रा अवलोकन गर्न आउने पाहुनालाई यहाँको मूर्त–अमूर्त सम्पदाका बारेमा जानकारी गराउने तयारी समेत महानगरपालिकाले गरेको छ। ‘चार रात पाँच दिनका लागि नेपाल आउने पाहुनालाई हनुमानढोका दरबार, स्वयम्भू, चन्द्रागिरी पाटन, भक्तपुर दरबार स्क्वायर लगायतका स्थानको अवलोकन गराउने तयारी भएको छ,’ शाक्यले भने,' यहाँको सस्कृति, सम्पदा र पर्यटनका बारेमा जानकारी गराउन पाहुनालाई नासल चोकमा रात्रिभोज सहित साँस्कृतिक कार्यक्रम गर्ने तयारी पनि हामीले गरेका छौँ ।'

त्यसै गरी महाकाली नाच, लाखे नाच, पुलुकिसी नाचसँगै कुमारीको दर्शन र जात्रासँग सम्बन्धित विभिन्न गुठीबारे जानकारी गराउने पनि महानगरपालिकाले तयारी गरेको छ।

उनले यसले भगिनी सम्बन्ध स्थापित गरेका नगरसँग यहाँको पर्यटन प्रवर्द्ध्नमा अनुभव आदन–प्रदान हुने बताए। विगतमा इन्द्रजात्राका लागि केन्द्र सरकारले नै आर्थिक सहयोग गर्दै आएको स्मरण गराउँदै प्रमुख शाक्यले सरकारको अनुमति अनुसार नै अघिल्लो वर्षदेखि स्थानीय सरकारले सहयोग गर्ने गरेको जानकारी पनि दिए। 

‘इन्द्रजात्राको सबै तयारी गर्नुहोला महानगरपालिकाले आर्थिक अभाव हुन दिँदैन,’ उनले भने, ‘स्थानीय सरकारसँग मिलेर यहाँका पर्व–जात्रा लगायत सबै सम्पदा र संस्कृतिको जगेर्ना गरौँ ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.