|

बाँके : स्वास्थ्यमा समस्या देखिएपछि तत्कालीन नेकपा माओवादीका नेता राममणि शर्मालाई उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनको आइसियूमा राखेर उपचार सुरु गरिएको भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले जानकारी दिए।

बर्दिया भुरिगाउँ निवासी ७२ वर्षीय शर्मालाई निमोनियाको संक्रमण भएको र उपचारपछि स्वास्थ्यमा क्रमिक सुधार आएको उनले बताए। ‘उहाँलाई निमोनियाको संक्रमण भएको देखिएको छ,’ डा. पाण्डेले भने ‘हामीले आइसियूमै राखेर उपचार गरिरहेका छौँ। अहिले उहाँको स्वास्थ्यमा निकै सुधार आएको छ।’

शर्मालाई निमोनियासँगै दमको समस्या पनि देखिएको उनले बताए। पाण्डेका अनुसार सोमबार र मंगलबारको तुलनामा बुधबार शर्माको स्वास्थ्यमा सुधार आएको छ।

यसैबीच, व्यवस्थापिका संसदका पूर्वसभामुख ओनसरी घर्तीले शर्माको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकलाई निर्देशन दिएकी छन्। शर्मालाई भेट्न बुधबार अस्पतालमै पुगेकी पूर्वसभामुख घर्तीले उपचारमा संलग्न चिकित्सक तथा अस्पताल प्रशासनलाई यस्तो निर्देशन दिएकी हुन्। घर्तीसँगै प्रदेश सांसद कृष्णा केसी पनि अस्पताल पुगेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.