|

सुर्खेत : भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी आफैँ लिएका कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीपश्चात् पहिलो पटक मन्त्रालय पुगेका छन्।

मन्त्रालयमा पुगेर मुख्यमन्त्री शाहीले अबको तीन महिनाभित्रै निर्माण कार्य थालनी गर्ने गरी योजना कार्यन्वयन प्रक्रिया अगाडि बढाउन कर्मचारीलाई निर्देशन दिए। भोलिदेखि नै बजेट कार्यान्वयनको तयारी शुरु गर्न निर्देशन दिएका हुन्।

‘पहिलो महिनाभित्र सर्भे, डिजाइन, स्टिमेटको काम पूरा गर्ने, दोश्रो महिना सार्वजनिक खरीद तथा टेण्डरको कार्य पूरा गर्ने र तेश्रो महिनादेखि निर्माण कार्यको काम अगाडि बढाउने गरि काम थालनी गर्नुस्’ शाहीले निर्देशन दिए।

मुख्यमन्त्री शाहीले योजना निर्माण तथा बजेट विनियोजनको कार्य सम्पन्न भएको महिनौँ बितिसक्दा पनि मन्त्रालयले कार्यान्वयनको प्रक्रिया शुरु नभएको प्रति आफ्नो ध्यानाकर्षण भएको बताए।

भौतिक पूर्वाधार विकास मन्त्रालयको गतवर्षको प्रगति निराशाजनक रहेको भन्दै मुख्यमन्त्री शाहीले जनतालाई संघीय व्यवस्थाले फाइदा दिएका अनुभूति हुने गरी मन्त्रालयले कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए।

पहिलो पटक भौतिक पूर्वाधार विकास मन्त्रालय पुगेका मुख्यमन्त्री शाहीलाई प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारी, मन्त्रालयका सचिव दानरत्न शाक्य तथा मन्त्रालयका कर्मचारीहरूले स्वागत गरेका थिए।

नक्कली बैंक ग्यारेण्टी पत्र जारी गरेको अभियोगमा अदालतले पक्राउ गर्न आदेश दिएपछि गएको साता मुख्यमन्त्री शाहीले भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीलाई बर्खास्त गरी सो मन्त्रालयको जिम्मेवारी आफैँले लिने निर्णय गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.