|

काठमाडौं : काठमाडौँ–तराईरमधेस द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मन्त्रिपरिषद्बारा स्वीकृत भएको छ। उक्त द्रुतमार्गको डीपीआर स्वीकृत भएसँगै अब द्रुतमार्ग निर्माणको बाटो खुलेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए। 

मुलुकको पहिलो प्राथमिकताप्राप्त तथा राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत सो दु्रतमार्गको डीपीआर भदौ २ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरी नेपाली सेनालाई प्राप्त भएको उहाँले स्पष्ट पार्नुभयो। कोरियाको सुसुङ इन्जिनियरिङ कन्सल्टिङ कम्पनीले तयार गरेको डीपीआर स्वीकृत भएको होे। यसअघि भारतीय कम्पनीले बनाएको डीपीआर अस्वीकृत भएको थियो। 

कोरियाली कम्पनीले गत वर्ष माघ २० गते डीपीआरको अन्तिम प्रतिवेदन नेपाली सेनालाई बुझाएको थियो। सेनाले अन्तिम स्वीकृतिका लागि चैत ५ गते रक्षा मन्त्राललाई बुझाएको थियो। पेस गरिएको पाँच महिनापछि सरकारले डीपीआर स्वीकृत गरेको हो। डीपीआर समयमा स्वीकृत नहुँदा गत आर्थिक वर्षमा विनियोजन गरिएको १५ अर्बमध्ये नौ अर्ब रुपियाँ सेनाले सरकारलाई फिर्ता गरेको थियो भन्ने खबर गाेरखापत्र दैनिकमा छ।

स्वीकृत डीपीआरअनुसार सडक निर्माणको लागत एक खर्ब ५५ अर्ब तीन करोड ८५ लाख ६५ हजार रुपियाँ लाग्नेछ। नयाँ डीपीआरअनुसार द्रुतमार्गको लम्बाइ घटेको छ। पहिलेको डीपीआरमा लम्बाइ ७६ दशमलव दुई किलोमिटर थियो भने अब ७२ दशमलव पाँच किलोमिटर हुनेछ। दु्रतमार्गमा पुलको जम्मा सङ्ख्या ८७ वटा, तीनवटा सुरुङ र १६ वटा ‘हाइराइज ब्रिज’ अर्थात् आकासे पुलको निर्माण गरिनेछ। 

एसियाली राजमार्गको ‘क’ वर्गको डिजाइन मापदण्डका आधारमा निर्माण भइरहेको सो द्रुतमार्गमा महादेव डाँडा, धोद्रे डाँडा र लेन डाँडामा गरी तीनवटा सुरुङ मार्ग रहने प्रवक्ता पाण्डेले जानकारी दिनुभयो। डीपीआरअनुसार सुरुङको कुल लम्बाइ ६ दशमलव ४१ किलोमिटर हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.