|

सिन्धुपाल्चोक :  प्रदेश ३ सरकारको लोकप्रिय कार्यक्रमको रुपमा स्थापित भएको ‘एक विद्यालय एक नर्स कार्यक्रम’ लाई प्रदेश सरकारले विस्तार गरेको छ। विद्यार्थीहरु बिरामी हुँदा विद्यालयमै उपचार गराउने लक्ष्यको साथ एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गरेको हो। 

प्रदेशभित्रका १३ जिल्लाका एक सय १ स्थानीय तहमार्फत सो कार्यक्रम सञ्चालनमा ल्याउन लागेको सामाजिक विकास मन्त्री युवराज दुलाल शरदले जानकारी दिए। यसअघि मन्त्रालयले सो कार्यक्रम केही विद्यालयमा कार्यान्वयनमा ल्याइसकेको थियो। 

एक नर्स एक विद्यालय कार्याक्रम प्रभावकारी बन्दै गएपछि सिन्धुली आठ, रामेछाप सात, दोलखा आठ, सिन्धुपाल्चोक १०, काभ्रे १२, ललितपुर पाँच, भक्तपुर तीन, काठमाडौ ९, नुवाकोट १०, रसुवा चार, धादिङ्ग ११, मकवानपुर ८ र चितवन ६ स्थानीय तहका एक विद्यालयमा नर्सको व्यवस्था गरिने भएको मन्त्री दुलाल जनाए। जस अनुसार प्रदेश तीनको सामाजिक विकास मन्त्रालयले १०१ जना नर्सका लागि दरखास्त आव्हान गरेको छ। 

कार्यक्रम सञ्चालन भएका विद्यालयहरुका विद्यार्थीको चौतर्फि विकासमा सहयोग पुगेको मन्त्री दुलालको भनाइ छ। अहिले देशभरका विद्यालयमा प्राथमिक उपचारबाहेक स्वास्थ्यका अन्य सेवा उपलब्ध छैन्। निम्न आय भएका गरिब, पिछडिएका वर्गलगायतका परिवारकाबालबालिकाको स्वास्थ्यमा यो कार्यक्रम धेरै प्रभावकारी भएको मन्त्री दुलालले बताए। 

यो योजना लागू भएका विद्यालयमा नर्सले प्रत्येक दिन बालबालिबाको अवस्थाबारे जाँचबुझ, स्वास्थ्य रहन गरिने कार्यबारे जानकारी दिने, व्यवहारिक प्रयोगबारे सिकाउने, विद्यालयमा जंकफुड प्रयोग निषेध गर्ने, घर तथा विद्यालयमा कसरी स्वस्थ्य खानेकुरा बनाइन्छ भन्नेबारे जानकारी गराउने छन्। 

महिलाको प्रजनन् अवस्था र समयअनुसार शारीरिक अवस्थामा आउने परिवर्तनबारे  समेत नर्सले विद्यालयमा सहजीकरण गर्नेछन्। नर्सले प्रत्येक विद्यार्थीको स्वास्थ्यबारे दैनिक जानकारी लिनेछन्। उनीहरुलाई आफूसँगै घरपरिवारलाई स्वास्थ्य रहने तरिका सिकाउनेछन्। प्राथमिक उपचारले ठीक नभएपछि नर्सले बिरामी विद्यार्थीलाई अस्पताल पठाउनेछन् ।

मन्त्रालयले चालू आर्थिक वर्षमा एक सय २१ विद्यालयमा नर्स कार्यक्रमका लागि ६ करोड ६५ लाख विनियोजन गरेको थियो । प्रदेश ३ सरकारको लोकप्रिय कार्याक्रमको रुपमा एक विद्यालय एक नर्स कार्याक्रम स्थागित भएको छ । यसअघि पहिलो चरणमा ‘पाइलट प्रोजेक्ट’ का रुपमा १३ जिल्लाका २० विद्यालयमा नर्सको व्यवस्था गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.