|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि बिहीबार दिउँसो सिंगापुरतर्फ प्रस्थान गरेका छन्। थाई एयरवेजको जहाजमार्फत् प्रम ओली दिउँसो साढे १ बजे सिंगापुतर्फ उडेका हुन्। 

सिंगापुरमा स्वास्थ्य परीक्षणपछि प्रधानमन्त्री ओली यही भदौ २० गते स्वदेश फर्किने कार्यक्रम छ। तर यो मिति अवस्था हेरेर तलमाथि हुने बताइएको छ। ओलीसँगै पत्नी राधिका शाक्य पनि सिंगापुरतर्फ लागेकी छन्। ओली यसअघि उपचार गरी फर्किएको १० दिनमै त्यसतर्फ लागेका हुन्। 

अघिल्लो पटक २०७६ साउन १८ गतेदेखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा उनको स्वास्थ्य परीक्षण गरिएको थियो  ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा.दिव्या सिंहका अनुसार अघिल्लो पटकको स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री ओलीको शरीरमा मृगौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको थियो ।

'एण्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन उहाँ  फेरि त्यसतर्फ जान लाग्नु भएको हो', डा.सिंहले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।  

सिंगापुरमा रहँदा न्यासनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञहरुको टोलीले उहाँको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार गर्ने विज्ञप्तीमा जनाइएको छ। 

सिंगापुरमा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अवस्थाको उल्लेखनीय जानकारी भएमा सञ्चार माध्यमलाई जानकारी गराउने डा.सिंहले जनाउनुभएको छ ।

'प्रधानमन्त्रीको स्वास्थ्यका सम्बन्धमा नयाँ र उल्लेखनीय जानकारी प्राप्त भएमा हामी मिडियामार्फत् आमनेपाली दिदीबहिनी तथा दाजुभाइलाई अवगत गराउने नै छौं', डा सिंहले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । चिकित्सकको सल्लाह बमोजिम प्रधानमन्त्री ओली स्वदेश फर्कने मिति तय गरिनेछ।
 

प्रमको बिदाइमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, संविधानसभाका अध्यक्ष तथा नेकपाका उपनेता सुवास नेम्वाङ र गृहमन्त्री रामबहादुर थापा बादलसहितका सरकारका उच्च पदस्थ अधिकारीहरु विमानस्थलमा पुगेका थिए। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.