|

सल्यान : सल्यानमा भवन निर्माण गर्दाको पारिश्रमिक नपाएको भन्दै विद्यालयमा तालाबन्दी भएको छ । जिल्लाको दार्मागाउँपालिका १ दार्माकोटमा राष्ट्रिय माध्यमिक विद्यालयमा बुधबार मजदुरले तालाबन्दी गरेका हुन। 

विद्यालयको भवन निर्माणमा काम गरेको ज्याला दुई वर्ष बितिसक्दा समेत पारिश्रमिक प्राप्त गर्न नसकेपछि बाध्य भएर विद्यालयमा तालाबन्दी गर्नु परेको दार्मा १ डाकिबाराका बलबहादुर रोकायले जानकारी दिए। 

आफूहरूले काम गरेको पारिश्रमिक दिन पटक पटक विद्यालय प्रशासनलाई आग्रह गर्दा पनि वास्ता नगरेपछि ताला लगाउनु परेको उनको भनाई छ। 
विद्यालयमा तालाबन्दी हुँदा सयौं विद्यार्थीको पठन पाठन प्रभावित भएको छ। 

आर्थिक वर्ष २०७४/०७५ मा जिल्ला शिक्षा कार्यालयबाट भवन निर्माणका लागि ३२ लाख रकम विनियोजित भएको थियो। विद्यालयमा लगाएको तालाबन्दीका विषयमा सम्बन्धित निकायसँग छलफलको प्रयास भई रहेको विद्यालयका प्रधानाध्यापक हेमन्त ओलीले बताए। 

विद्यालयको भवन निर्माण गर्दा विनियोजित बजेट भन्दा केही बढि रकम खर्च हुँदा समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष कवि कुमार चन्दले बताए।

स्थानीयबाट हुनु पर्ने श्रमदान नभएका कारण भवन निर्माण गर्दा विद्यालयलाई घाटा लागेको कारण मजदुरहरूलाई पारिश्रमिक दिन ढिला भएको उनको भनाई छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.