|
फाइल फोटो

चितवन : पत्रकार शालिकराम मृत्यु प्रकरणमा उत्पन्न भएको पछिल्लो अवस्थाप्रति भरतपुर महानगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विज्ञप्ती निकालेर महानगरले अनुसन्धान भइरहेको विषयलाई प्रभावित पार्नेगरी भइरहेको नाराजुलुस तथा प्रदर्शनप्रति ध्यानाकर्षण भएको जनाएको हो।

महानगरले सत्यतथ्य छानबिन गरी दोषी नछुटुन र निर्दोष नपरून भन्ने मान्यताका आधारमा शीघ्र न्यायिक निरुपणका लागि सम्बन्धित पक्षसँग आग्रह पनि गरेको छ। सरोकार नभएका व्यक्तिलाई गालीगलोज गरेको प्रति दुःख व्यक्त गर्दै महानगरले घट्नालाई देखाएर सडक र सामाजिक सञ्जालको दुरुपयोग नगर्न सबैसँग आग्रह गरेको छ।

‘घट्नासँग कुनै पनि सम्बन्ध नभएका व्यक्ति एवं सस्थाहरूलाई जोडेर अनावश्यक टीकाटिप्पणी र घटनालाई विषयान्तर नगर्न महानगरपालिका सम्बन्धित सबैसँग अनुरोध गर्दछ’ महानगर प्रमुख रेनु दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ। महानगरले अस्वाभाविक, प्रायोजित तथा अनर्गल प्रचारको भ्रममा नपर्न सबैमा अपिल पनि गरेको छ।

पत्रकार पुडासैनी साउन २० गते नारायणगढस्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। उनको मोबाइलमा रेकर्ड गराएको भनिएका भिडियोमा रविसहित युवराज कँडेल र अस्मिता भनिने नर्स रुकु कार्कीको नाम मुछिएपछि उनीहरू तीनै जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ। उनीहरूमाथि दोस्रो पटक ५ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.