|

डडेल्धुरा : डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका–८ जमरानीमा गम्भीर खालको झाडापखाला ‘हैजा’ को प्रकोप देखिएपछि सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरासहितको टोली उक्त प्रभावित क्षेत्रमा पुगेको छ।

नगरपालिकाअन्तर्गत वडा नम्बर ८ को सानखोला, धादलीफाटा र गुप्तेगाडामा हैजाको महामारी फैलिएको खबर संचार माध्यममा आएपछि बिहीबार मन्त्री बोहरासहित डडेल्धुराका प्रमुख जिल्ला अधिकारी तथा सम्पूर्ण सुरक्षा निकाय, परशुराम नगरपालिका नगरप्रमुख र चिकित्सकको टोली प्रभावित क्षेत्रमा पुगेको हो।

हैजाको प्रकोप अत्याधिक भएको खबर पाएपछि औषधिसहित टोली उक्त प्रभावित क्षेत्रमा पुगेको डडेल्धुरा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए। ‘अहिले अनुगमन भइरहेको छ, अनुगमनबाट केही न केही निष्कर्ष निकाल्ने छौँ’ उनले भने।

बिरामीको संख्या ८५ पुग्यो

दुषित खानेपानीको कारण हैजा फैलिँदा ती तिन गाउँमा ८५ जना बिरामी परेका छन्। ती सबै बिरामीमा गम्भीर खालको झाडापखाला अर्थात ‘हैजा’ देखिएको साँदनी स्वास्थ्य चौकीका प्रमुख आनन्दकुमार यादवले पुष्टि गरेका छन्। बिहीबारसम्म एकजना गर्भवती ७ बालबालिका र अन्य ७३ जना गरी ८१ जना हैजाबाट संक्रमित भएकोमा त्यो संख्या बढेर बिहीबार ८५ पुगेको उनले बताए।

‘गाउँबाट माथि रहेको मुहान दुषित भएकाले दुषित पानीबाट नै हैजा फैलिएको हो। पानीमा दिशामा पाइने ‘कोलीफर्म’ अन्तर्गतको ‘भिब्रियो कोलेरा’ ले महामारी फैलीएको पाइएको छ’ उनले भने, ‘हैजा हो भन्ने पृष्टी भएकाले अहिले उपचार गर्दैछौँ। धेरैलाई उपचार गरेर घर पठाइसके अहिले अवस्था समान्य छ।’

प्रभावित क्षेत्रबाट पानीको नमुना परिक्षणका लागी डडेल्धुरा अस्पतालमा पठाइएको थियो। उक्त नमुना ल्याबमा चेकजाँच गर्दा हैजा फैलाउने ‘भिब्रियो कोलेरा’ नामक ब्याक्टेरिया भेटिएको डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी भुषालले जानकारी दिए।

विगत ९ दिनबाट रातदिन स्वास्थ्यकर्मीको टोली उक्त स्थानमा काम गरीरहेको परशुराम नगरपालिका स्वास्थ्य शाखाका उप-संयोजक हिक्मत धामीले जानकारी दिए। ‘साउन २९ गते झाडापखालाको प्रकोप देखिएको हो। ‘हामीले गाउँमा स्वास्थ्य शिविरको आयोजना गरेका छौँ, स्वास्थ्यकर्मी पनि खटाएका छौँ’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.