|

इटहरी : भारत आउजाउ गर्ने सुनसरीको मुख्य नाका भान्टाबारी हो। पूर्वी नेपालको जोगबनी, काँकडभिट्टापछि बढी सामान आउने छोटी भन्सार समेत भण्टाबारी मै छ।

नेपाल भारत मैत्रीपोखरीमा बाँध बनाएर नेपाल भारतको आधिकारिकस्थल सम्बन्ध जोडिएको छ। छोटी भन्सार भन्नेबित्तिकै नेपाली सशस्त्र प्रहरीको उपस्थिति बाक्लै हुन्छ।

सशस्त्र प्रहरीको संख्या उल्लेख्य हुँदा पनि त्यस नाकामा भारतले भने दशगजा मिचेर स्वागत गेट बनाएको छ। स्थानीय प्रशासनले कुनै कदम नचाल्दा भाण्टाबारीस्थित नेपाल-भारत सीमाक्षेत्रको दशगजा मिचेरै संरचना बनाएको हो। 

सीमाक्षेत्रको दशगजाभित्र दुवै मुलुकले स्थायी-अस्थायी संरचना बनाउन पाउँदैन। अन्तर्राष्ट्रिय नियम र दुई देशबीचको सहमति विपरित भारतीय पक्षले बनाएको गेट हटाउन कुनै पहल कदमी पनि गरेको छैन। 

चार महिना अघि मात्र भारतले सशस्त्र प्रहरीको चेकपोस्टको एक सय मिटर छेउमै गेट बनाएको थियो। पक्की संरचनाको गेटमा निलो रातो रङभित्र सेतो लेखिएको छ ‘भारतमे आपका स्वागत है।’ स्वागत मात्रै होइन, दशगजा नै मिचेर भारतले स्थल शुल्क कार्यालयको क्षेत्राधिकार पनि गेटसम्मै भएको बताउँदै आएको छ। 

वैशाख अन्तिममा बनाएपछि धेरै पटक नेपाल भारतका अधिकारीहरूको विभिन्‍न बैठकहरू भएका छन्। निरन्तर बैठक हुने भए पनि अहिलेसम्म त्यो गेटको विषयमा संयुक्त बैठकमा छलफल हुन नसकेको बैठक टोलीका एक सदस्य बताउँछन्।

’धेरै पटक बैठक बसिसक्यौँ,’ सुरक्षा निकायका एक सदस्यले भने, ’तर दशगजा मिचिएको विषयमा तपाईंले भने जस्तो गेटको विषयमा भारतीय समकक्षीसमक्ष हाकिम'साबहरूले सोधपुछ गर्नु भएको छैन।’ 

दशगजा पारि भारतको विहारका दुई जिल्ला सुपौल र अररिया पर्छन्। भारतका दुवै जिल्लाका डीएम, भारतीय प्रहरी र एसएसवीसँग सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारी, सशस्त्र जनपथ प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान प्रमुखको सीमासम्बन्धी बैठक हुन्छ।

बैठकमा दुवै देशका समकक्षीबीच सीमाक्षेत्रका समस्या, दशगजाको अवस्था, अपराध, लागुऔषध, मानवबेचविखन, सुरक्षा लगायतका सवालमा छलफल हुने गरे पनि गेटको विषयमा एक पटक पनि छलफल चलेको छैन। 

फोहोर नेपालतिरै

भारतले बनाएको गेटछेउ, नेपालपट्टि वीरपुर नगरपञ्चायतको फोहर फाल्ने डम्पिङ साइड बनाइएको छ। सीमापारिबाट बनेको खुनियाधार खोलाको छेउमा भारतीय नागरिकले नेपाल तिरै फोहोर फाल्ने गरेका छन्। 

डम्पिङ साइडको ठ्याक्कै अगाडि सशस्त्र प्रहरीको सुरक्षा चौकी र भन्सारको युनिट छ। हावा चल्दा कार्यालयसम्म दुर्गन्ध आउने गर्छ। सीमा प्रहरीचौकी र सशस्त्र प्रहरीले भारतीय समकक्षीसँग न फोहोरको विषय उठेका छन् न त संरचना निर्माणकै।

’हामी त सानो पदको मान्छे हाकिम सावहरूलाई त भनेका छौं,’ गेटमा ड्युटी गर्दै गरेका एक जवानले भने, ’फोहोर फालेकै दिनदेखि भनेका हौं। तर अझै काम भएकै छैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.