|

काठमाडौं : काठमाडौं महानगरपालिकाभित्र वैशाखदेखि सञ्चालनमा आएको स्मार्ट डस्टबिन राख्नका लागि कम्पनीको छनोट बिनाप्रतिष्पर्धा गरिएको पाइएको छ। महानगरपालिकाभित्र प्लाष्टिकजन्य फोहोर वस्तुहरूलाई व्यवस्थापन गर्नका लागि स्मार्ट डस्टविन राखिसकेको छ।  महानगरका मुख्य-मुख्य सडकको किनारमा स्मार्ट डस्टबिन राखिएको छ।

महानगरपालिकाले सार्वजनिक निजी साझेदारी (पिपीपी) अवधारणाअनुसार काठमाडौंका विभिन्न क्षेत्रमा ‘स्मार्ट सोलार डस्टबिन’ राख्न दिने गरेको पाइएको छ।सामान्यतया सरकारी कार्यालयले (पिपिपी) अवधारणामा काम गरे पनि प्रतिस्पर्धा गर्नुपर्ने व्यवस्था रहेको महानगर स्रोतले बताएको छ। २०७३ जेठ २१ गते पहिलो पक्ष काठमाडौं महानगरपालिका र दोस्रो पक्ष कृष्ण सप्लार्यसबीच सम्झौता भएको थियो।

महानगरले शून्य लागतमा स्मार्ट डस्टबिन राख्नका लागि पहल गरेको थियो। महानगरको लागि केही फाइदा हुन्छ भने प्रतिष्पर्धा नगरी काम गर्न इच्छुक कम्पनीलाई जिम्मा दिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए। उनका अनुसार डस्‍टबिन राख्नको लागि स्थान राख्न दिएको हो। यस्ता कार्यले महानगरलाई फाइदा हुन्छ ।

अरू कम्पनीले प्रस्ताव नै गरेनन् 

कृष्ण सप्लार्यसले महानगरभित्र शून्य लागतमा स्मार्ट डस्‍टबिन राखिदिन्छु भन्दै आएकोले सो कम्पनीलाई अनुमति दिएको डंगोलले बताए। अन्य कम्पनीले महानगरलाई प्रस्ताव नल्याएकोले उक्त कम्पनीलाई डस्‍टबिन राख्न दिएको उनले जानकारी दिए। 'अन्य कम्पनीले पनि इच्छुक छौँ भनेर प्रस्ताव गरेको भए प्रतिष्पर्धा गरिन्थ्यो' उनले भने ।

महनगरका मुख्य-मुख्य सडकमा स्मार्ट डस्टबिन राखिसकेको डंगोलले बताए।' स्मार्ट डस्‍टबिन राखेदेखि सडकमा हिजोआज प्लाष्टिकजन्य फोहोर देखिन छाडेको छ' उनले भने। राम्रो काम गर्नेलाई यहाँ अनेक कुरा र कानुनको कुरा गरेर बाधा झिक्ने चलन रहेको उनले प्रतिक्रिया दिए।

स्मार्ट डस्टबिन विशेषगरी सार्वजनिक यात्रु र विदेशी पर्यटकको लागि ल्याइएको उनले बताए। बाटोमा हिँड्दा चाउचाउको खोल र पानीको बोतल जहाँसुकै फाल्ने गरेको कारणले सडक पनि फोहोर भइरेको उनको भनाइ छ। 'सडक यात्रुहरूले नकुहिने वस्तु डस्‍टबिनमा राख्न सक्छन्' उनले भने।

महानगरसँग सहकार्य गरेका छौँ : कृष्ण सप्लायर्स

पिपिपी अवधारणाअनुसार महानगरपालिकासँग सहकार्य गरेर काम गरिरहेको कृष्ण सप्लार्यसका निर्देशक सुदीपराज कुँवरले बताए। उनका अनुसार महानगरको शून्य लागत छ। सम्पूर्ण खर्च कम्पनीले गरेको छ ।

महानगरको पिपिपीको नियम कस्तो प्रकारको हुन्छ त्यो थाहा नभएको कुँवरले बताए।' राम्रो काम गर्छौ भनेर हामी गएका हौँ, सफा र सुन्दर काठमाडौं महानगर राख्छौँ भनेर गरका हौँ' उनले भने। राम्रो काम गर्नको लागि प्रतिष्पर्धामा नै आउनुपर्छ भन्ने भनाइ नरहेको उनको भनाइ छ।

कम्पनीले सम्पूर्ण जोखिम लिएर काम गरिरहेको उनले प्रतिक्रिया दिए। कम्पनीले विज्ञापन पाएमा नाफा पाए मात्र फाइदा लिन सक्ने उनले जानकारी दिए।

महानगरभित्र ५० वटा स्मार्ट डस्टबिन राखिसकेको उनले बताए। स्मार्ट डस्टबिनमा मोबाइल चार्ज गर्न पाउने व्यवस्था, प्रदूषण र मौसमको मापन राखेको छ। टुँडिखेल आसपास, रानीपोखरी आसपास, न्युरोडदेखि वसन्तपुर, माइतीघरदेखि थापाथली, भद्रकालीदेखि सिंहदरबार आसपासमा स्मार्ट डस्‍टबिन राखिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.