दुई हजारमा सांसद भएँ, अहिले वडामै लड्न २० लाख चाहिन्छ

|

दमक : झापामा सादगी नेताको छवि बनाएका व्‍यक्तित्‍व हुन् तारासम योङ्या। झापाको राजनीतिमा स्थापित नाम हो यो। तत्कालीन नेकपा एमालेको अञ्चल कमिटी तथा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यसम्मको जिम्मेवारी सम्हालेका उनीसँग प्रतिनिधिसभा सदस्यको अनुभव पनि छ।

अझै उनी सम्झन्छन्, उनी सांसदमा निर्वाचित हुँदा जम्मा दुई हजार रुपैयाँ खर्च गरेका थिए। समय धेरैअघिको पनि होइन, दुई दशक अघिको मात्र हो। तर, अहिले वडाध्यक्षको चुनावमा पनि २० लाख रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था आएको देख्दा उदेक मान्छन् उनी। सांसदको कार्यकालकै बेलामा पनि औपचारिक कार्यक्रमहरूमा साइकलमा हिँड्ने गर्थे उनी। त्यसैले पनि उनलाई धेरैले सादगी नेताका रूपमा चिन्छन्।

दुई कार्यकाल झापाको तत्कालीन सतासीधाम गाविसको अध्यक्षसमेत भएका उनी ०५६ को संसदीय निर्वाचनमा उम्मेद्ववार बन्ने निश्चित भएपछि गाविस अध्यक्षबाट राजीनामा दिएर संसदीय अभ्यासका लागि तयार भए। परिणाम उनको पक्षमा आयो र सांसद पनि बने। ७६ वर्षीय नेता योङ्या पार्टी एकीकरणपछि भने सक्रिय जिम्मेवारीमा छैनन्।

राजनीतिमा भ्रष्टाचार छिर्ने ढोका नै निर्वाचन

उनी राजनीतिमा भ्रष्टाचार छिर्ने ढोका नै निर्वाचन भएको तर्क गर्छन्। निर्वाचनलाई जति भड्किलो र खर्चिलो बनाइन्छ भ्रष्टाचार त्यति नै संस्थागत हुन्छ भन्ने उनको धारणा छ। सबै पार्टी र उम्मेद्वारको चाहना र निर्वाचन आयोगको ध्यान पुगे निर्वाचनलाई मितव्ययी बनाउन सकिने बताउँछन् उनी। उनले आफू सांसदमा निर्वाचित हुँदाको अनुभव सुनाउँदै भने, ‘त्यस बेला खर्च भएको भनेको मेरो २ हजार हो।

त्यो पनि गाविस अध्यक्षबाट राजीनामा दिएर फर्किँदा सचिवले आफ्नो भत्ताबापतको रकम दिएका हुन्। जहाँ पुगियो त्यहीँ खाइयो। खट्ने साथीहरूले पनि अरू केही आशा गरेका हुँदैनथे। पार्टीमा अनुशासन हुन्थ्यो के गर्ने र नगर्ने भन्ने।

अहिले त कुरै अर्कै।’ उनी स्थानीय तहको निर्वाचनमा शिवसताक्षीको चुनावमा खटिएका थिए। त्यसबेला एउटा वडाको निर्वाचनमा १८ देखि २० लाख रुपैयाँसम्म खर्च भएको सुनाए। ‘यही पारा हो भने पैसा नहुने तर त्यागी  र निष्ठावानहरूले कसरी चुनाव जित्नु?’ उनले चिन्ता व्यक्त गरे।

जनप्रतिनिधिमा सुविधामोह

अहिले तीनै तहका सरकारमा वामपन्थी जनप्रतिनिधिहरूको बाहुल्यता छ। तर यिनै जनप्रतिनिधीहरूको जीवनशैली सुविधाभोगी बन्यो, विकासभन्दा सुविधामा केन्द्रित भए भन्ने गुनासो पनि छ। किन कम्युनिस्‍टहरूको जीवनशैली यसरी प्रश्न उठ्ने गरि परिवर्तन भएर आयो? भन्ने प्रश्नको उनी सहज जवाफ दिन्छन्, ‘यो प्रश्न उठ्नैपर्ने हो, ठिकै हो।

जनप्रतिनिधिहरूमा सुविधामोह झल्किएको पक्का हो, प्रमुख–उपप्रमुख–कार्यालय प्रमुख सबैलाई गाडी चाहियो रे। कुनै एक पदाधिकारीले आफ्ना लागि करोडौंको गाडी ताक्नु र अरू रित्तै भएपछि त्यहीँ भित्रैबाट असन्तुष्टि पैदा हुन्छ।’ आवश्यकता र स्रोतसाधनको सन्तुलन कायम गरेर मात्र सुविधा भोग्न जनप्रतिनिधि सजग हुनुपर्ने उनको सुझाव छ।

संसद् भवनकै रूखमुनि ओत लाग्यौँ

आफू सांसद हुँदाको एउटा अनुभव सुनाए उनले, ‘हामी सांसदले पँजेरो किन्न सुविधा लिनुहुँदैन भन्ने पक्षमा थियौं, संसदमा त्यही बहस थियो। एकदिन संसद चलेर निस्कँदा ठूलो पानी पर्‍यो, हामी दगुरेर संसद भवन नजिकैको रूखमा ओत लाग्यौँ' उनले थपे, 'त्यही बेला छेउमा बसेका केहीले कुरो काटिहाले, हेर आफ्नो पँजेरो बेचेर खाए अनि अहिले पानीमा दर्गुछन्।’

खाँदै नखाएको विष लागेको दिनको अमिलो अनुभव उनले थपे, ‘हाम्रो बिल्ला (व्याच)ले सांसद हो भन्ने चिनेछन्, अनि सबै सांसदले सुविधाको पँजेरो बेच्न भन्ने भान भएका सर्वसाधारणले आक्षेप लगाइहाले, त्यहाँ प्रतिवाद गर्ने कुरा पनि भएन।’

चाकडीका अघि त्यागको अवमूल्यन

पार्टीभित्र पनि नेताको नजिक हुने वा आर्थिक रूपमा बलिया भएकाहरूले त्याग र संघर्ष गरेकाहरूलाई अवसरमा उछिन्दै गएको उनलाई पनि भान हुन्छ। जसले शक्तिको पूजा गर्‍यो र शक्तिशाली नेताको ज्यू हजुरी गर्‍यो उसैले अवसर पाउँदा त्यागी र निष्ठावान कार्यकर्ता भूमिकाविहीन हुनुपरेको उनको तीतो अनुभव छ।

‘अरूको के कुरा गरौँ है, म सांसद हुँदा शीर्ष नेताहरूको डेरा वा घर कहाँ छ थाहै पाइनँ। त्यहाँ पुग्ने कामै परेन। कुरा पार्टी कार्यालय, संसदीय दल वा मन्त्रालयमै हुन्थ्यो। अनि किन घर र डेरा चहार्नुपर्‍यो।

सांसद हुँदा कुनै कुनै अनुगमन र भ्रमणमा सरकारी गाडी चढियो होला, अरू बेला चढेको सम्झना छैन।’ उनले थपे, ‘त्यसैले अवसर प्राप्तिमा लोभीपापीले आँखा लगाउँछन् नै तर सजग हुने काम भनेको नेतृत्वको हो।

वर्ग, सिद्धान्त, धरातल, संघर्ष,त्याग, अनुशासन सवै कुरा हेरेर नेतृत्वले अवसरहरूको वितरण गर्न सक्नुपर्छ।’ एक्लो व्यक्तिको व्यवहारले ठूलो क्रान्ति वा परिवर्तनमा ठूलो प्रभाव नपारे पनि सबैले म आफूचाँहि निष्ठामा रहन्छु भन्ने वचनमा पक्का भए अभियान र क्रान्तिमा लागेका घुन-पुत्ली आँफै बाहिरिने जीवन दर्शन उनले सुनाए।

कमजोर अनुशासन

कम्युनिस्‍ट पार्टीहरूभित्र आन्तरिक अनुशासन कमजोर भयो, नेतृत्वकै विरोधमा चर्को आवाज उठेको पनि कानमा परेको छ। अझ अहिले त पार्टी एकताको प्रक्रिया पनि जारी छ। यस्तो बेला अनुशासनलाई थप व्यवस्थित पार्नु पर्ने आवश्यकता ठान्छन्, उनी। ‘नेतृत्वको आलोचना नै अनुशासनहीनता चाहिँ होइन। तर किन आलोचना हुन्छ भनेर चाहिँ नेतृत्वले बुझ्नुपर्छ।

यदि संगठनले नै त्यस्ता असन्तुष्टि वा आलोचनालाई गलत भन्यो भने सोही अनुसारको निर्णय हुनुपर्छ।’ उनले नेतृत्वले आलोचना पनि सहन सक्नुपर्ने भन्दै थपे, ‘कम्युनिस्‍ट पार्टीहरू भनेको अरू जस्तो होइन, यहाँ अनुशासन, सिद्धान्त र निष्ठाको कुरा महत्वपूर्ण हुन्छ।'

कुनै कुरा आम कार्यकर्तासम्म पुर्‍याउनुपरेमा सर्कुलर जारी हुनुपर्ने, जसले जसरी बुझ्यो त्यसरी नै भनेमा समस्या हुने, एउटाले एकथोक अर्काले अर्कैथोक भन्दा कार्यकर्ता अल्मलिने उनको बुझाइ छ।

अनुशासन भनेको कम्युनिस्‍ट पार्टीको जग हो भन्छन् उनी। यसलाई बलियो बनाउनैपर्ने उनको धारणा छ। यो कुरा नेतृत्वले पनि बुझेको भन्दै उनले समय दिन नभ्याएको मात्र होला भन्ने लागेको भन्दै नेतृत्वको बचाउ पनि गरे।

ढिला भए पनि पार्टी एकता राम्रै भो

ठूलो संघर्ष गरेर स्थापित गरेको कम्युनिस्‍ट आन्दोलन अहिले सबैभन्दा बढी जनमतसहित सरकारको नेतृत्वमा छ। पार्टी पनि एकीकरणपछि ठूलो बनेको छ। तर, यो कुरा उहिल्यै भइसक्नु पर्नेमा ढिलो भएको तर राम्रो भएको उनको ठम्याइ छ।

‘नेपालको कम्युनिस्‍ट आन्दोलन कहिल्यै कमजोर थिएन, खाली आवश्यकता थियो एकता र एकीकरणको’ उनले पार्टी एकतामा सही थप्दै भने, ‘विगतका चुनावमा देख्‍नु भो नि, सबै कम्युनिस्‍टहरूको मत जोड्दा चाहिँ बहुमत हुने तर छरिएका कारण सरकार अर्कैले चलाउने। यो अवस्था अन्त्यका लागि कम्युनिस्‍ट आन्दोलन एकढिक्का हुन जरुरी थियो। भयो, राम्रो भयो।’ जनताका सबै अपेक्षा विस्तारै पूरा हुन्छ भन्नेमा आशावादी रहेको बताए उनले।

परिवारबाटै विद्रोह

पाँचथरको ओयाममा २००१ साल वैशाख २५ गते जन्मिएका उनको परिवारका सुखसयल नै थियो। बाबु बलवीर र आमा मैतहाङमाका कान्छा छोरा उनले विद्रोही भावना भने परिवारबाटै विकास गरे। बुबा गाउँका अमाली/सुब्बा थिए। गाउँभरीको मालपोत संकलन गरेर सरकारलाई बुझाउने जिम्मा थियो।

त्यसैले दुई गाउँमा सान थियो। योसँगै उनका बुबा बढी धार्मिक। मुन्धुमको राम्रो ज्ञान थियो। यति हुँदाहुँदै पनि सन्तानलाई पढाउनुपर्छ भन्ने कहिल्यै सोचेनन्। त्यसैले पढ्नकै लागि भए पनि बुबासँग विद्रोह गर्नुपर्ने अवस्था भयो। बुबासँगै ठाकठुक गर्दै भए पनि उनले २०३२ सालमा एसएलसी सके। तर उनले त्यसअघि नै २०२६ सालदेखि शिक्षण पेसा समाइसकेका थिए। यो सिलसिला २०३७ साल सम्म रह्यो।

शिक्षणसँगै राजनीति

उनले विद्यार्थी कालदेखि नै वामपन्थी राजनीतिको झण्डा बोके। ०२७ मा झापाको सताक्षीधाम आएर शिक्षण सुरु गरेका उनलाई सहकर्मी जगतमान बज्रचार्यले लुकाइलुकाई रेडबुक र बेइजिङ् रिभ्यु पढ्न दिन्थे। त्यही बेलादेखि उनलाई चीनमा जस्तै जनक्रान्ति गर्ने र त्यसको नायक भन्ने भूत सवार भयो। २०३६ सालको जनमत संग्रहमा भने उनी बहुदल पक्षधरको प्रचार समिति सदस्य बने।

त्यसमा लीला उदाशी, दोर्णाचार्य क्षेत्री, गंगा राईलगायत रहेको उनलाई सम्झना छ। बहुदलको पक्षमा खटिए पनि परिणाम पक्षमा थिएन। त्यसैले झन् उग्र भएर उनी संघर्षमा होमिए। उनलाई आफ्ना राजनीतिक अगुवा रुद्र चापाँगाईंले पार्टीको भूमिगत नाम अरुण भनिदिएका थिए। तिनै तारासम अरुण नदीजस्तै बेगवान बनेर क्रान्तिमा होमिए।

०३७ सालमा झापामा पाटा काण्ड भयो। पाटा अर्थात् जुटखेती गर्ने किसानले उचित मूल्य पाउनुपर्ने मागमा भएको आन्दोलन उग्र बन्यो। त्यही बेला उनी पक्राउ परे र ६ महिना थुनिए। तर, त्यसअघि नै २०३२ सालमा घरैबाट पक्राउ परेर ६ महिनाजति थुनिएका उनलाई संघर्षबाट पछिहट्ने विचारै आएन।

तर ०२६ तिरबाट सुरु भएको सशस्‍त्र झापा विद्रोहमा उनीहरू चुप थिए। राजनीतिक शक्ति आर्जन नगरी सशस्‍त्र आन्दोलनमा जाँदा थप क्षति व्यहोर्नुपर्छ भनेर हतियारभन्दा अघि विचारलाई बलियो पार्नुपर्छ भन्ने मान्यता थियो, उनीहरूको।

अनि अर्को कुरा, त्यस भूमिगत बेलामा नेता को हुन्छ थाहै नहुने। सिद्धान्त र सर्कुलरले जे भन्छ त्यही मात्र गर्ने। त्यसैले उनी मूलनेता नै नचिनि क्रान्तिमा थिए। पछि थाहा भयो, उनीहरू पूर्वकोशी प्रान्तिय परिषदमा रहेछन्। कोअडिनेसन केन्द्र बनेपछि मात्र उनी पनि झापा विद्रोहको पदचाप पछ्याउन थाले।

दाह्रासिंहको ज्यानमुद्‍दा

झापामा अझै पनि एउटा पात्रको नाम त्रसित भावभंगीमा सम्झना गरिन्छ–दाह्रासिंह। उनी त्यस बेलाका खुंखार। जहाँ पनि झगडा गर्ने, कसैलाई नटेर्ने। धेरै कम्युनिस्‍टहरूले उनलाई देखिसहँदैनथे। उनले भने, ‘साह्रै उग्र भएपछि जिम्मेवारी दिँदा पो मान्छे ठेगानमा आउँछ कि भनेर तोपगाछी गाउँपञ्चायतका प्रधानपञ्च नगेन्द्र बस्नेतले उसलाई वडाध्यक्ष बनाएका थिए’ उनले थपे, ‘तर पनि केही लागेन, उसको उग्रतामा कुनै कमी आएन।’

झापाको कन्काईमा उहिल्यैदेखि माघे सक्रान्तिमा मेला लाग्छ। २०३७ सालमा तारासम भर्खरै किसानले चलाएको पाटा काण्ड (पाटाको उचित मूल्य पाउनु पर्ने आन्दोलन) मा पक्राउ परी ६ महिनाको जेलबाट छुटेर आएका थिए।

सामाजिक अगुवाकै हिसाबबाट उनलाई मेला आयोजक समितिको सचिव बनाइएको थियो। प्रमुख प्रधानपञ्च थिए। त्यही वर्षको माईमेलामा ती उग्र पात्र दाह्रासिंहको खुकुरी प्रहारबाट हत्या भयो। प्रशासनले मेला रोक्यो। आयोजक समितिका सबैलाई प्रशासनमा बोलाइयो। प्रमुख त प्रधानपञ्च थिए, उनलाई कुनै कानुनले छोएन। बाँकी अरू पनि धरौटीमा छुटे तर उनलाई जिल्ला अदालत र सर्वोच्च अदालतको बहानाबाजी भयो, उनी थुनामा परे।

अदालतले उनकै पक्षमा फैसला गरेपछि मुद्दा सर्वोच्चमा पुग्यो। ‘मलाई बहुदल पक्षधर भनेर छोडेन प्रशासनले, मुद्धा सर्वोच्चमा फेरि हाल्यो’ तत्कालीन प्रशासनको पूर्वाग्रही सोचका कारण ७ वर्ष ज्यानमुद्धामा जेल परेका उनले थपे, ‘७ वर्षपछि त सर्वोच्चले पनि पो जिल्ला अदालतकै फैसला सदर गर्‍यो, अनाहकमा त्यत्रो लामो समय जेलमा कोचिनुपर्‍यो।’ झापा, इलाम, पाल्पा हुँदै नख्खु जेलमा पुर्‍याइएका उनले त्यहाँ भने राजनीतिक बन्दीहरूसँग भेट पाए।

मोहनचन्द्र अधिकारी, घनेन्द्र बस्नेत, नरेश खरेल, भीष्म धिमाल जस्ता राजनीतिबन्दीसँगको भेटले राजनीतिक चेतना थप बलियो बनाएको भन्दै जेल जिवनलाई पनि उनी सिकाइकै थलो भन्दै चित्त बुझाउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.