|

बागलुङ : नेपाल पत्रकार महासंघ बागलुङ शाखाको भवनमा अज्ञात समूहले तोडफोड गरेको छ। महासंघको निर्माणाधीन सभाहलको युपिविसी तोडफोड गरिएको छ भने पानीको मोटर, बिजुलीको मिटर बक्स, एमसिपी र इन्टरनेटको तार काटेर टुक्राटुक्रा पारिएको महासंघका अध्यक्ष दिल शिरिषले बताए।

पछिल्लो तीन साताको शनिबारका दिन तार एकै साथ काटिदिने र भवनमा तोडफोड गर्ने कार्य निरन्तर भइरहेको नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव राम थापाले बताए। यसबारेमा शुरुवातमै जिल्ला प्रहरी कार्यालयमा मौखिक जानकारी गराएर ध्यानाकर्षण गराइएको उनले बताए।

‘अहिलेको तोडफोड क्षतिका हिसाबले ठूलो होइन, तर पत्रकारहरूको साझा संस्थामाथिको लगातारको घटनाले सांकेतिक आक्रमण हो कि भन्ने हिसाबले हामीले संवेदनशील हिसावले लिएका छौँ,’ सचिव थापाले भने, ‘प्रहरी कार्यालयकै सम्मुखमा भएको यस किसिमको घटनाले प्रहरी स्वयंलाई पनि प्रश्न उठेको छ, तोडफोडमा सम्लग्नको खोजी र अबका दिनमा प्रहरी निगरानी बढाउने विषयमा गम्भीरता देखिन जरुरी छ।’ महासंघले भवन आसपासमा काँडेतारले तारबार गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नवराज भट्टले महासंघ भवनमा रातिको समयमा भएको तोडफोडका विषयमा मौखिक जानकारी आएको र यस विषयमा आवश्यक अनुसन्धान जारी राखिएको बताए। यस्तो किसिमको घटना हुन नदिन बजारमा सिसिक्यामेरा जडानका लागि आग्रह गरिएको र घटना दोहोरिन नदिनका लागि आवश्यक निगरानी बढाउने प्रहरी उपरीक्षक भट्टले बताए। बिहिबार जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको कार्यालय प्रमुखहरूसँग पत्रकार भेटघाट कार्यक्रममा पनि महासंघका अध्यक्ष शिरिषले प्रहरी र प्रशासनको ध्यानाकर्षण गराएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.