|

नेपालगञ्ज : भेरी अञ्चल अस्पतालले शौचालयको दिसा सिधै नालामा मिसाउँदा सडक र टोल दुर्गन्धित भएको छ। भेरी अस्पतालको शौचालयको सेप्टी ट्यांकी भरिएर दिसा, पिसाव सिधै नालामा मिसाएकै कारण सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ भने नजिकका औषधि पसल र नेपाल टेलिकमका कर्मचारीलाई कार्यालयमा बस्न गाह्रो भएको छ।

सेप्टी ट्यांकीको दिसा मिसिएको पानी नालामा आउँदा दुर्गन्धले बस्नै गाह्रो भएको जेलरोडमा रहेको मेडिसिन बैंकका सञ्चालक विश्व शाक्यले बताए। उनले नाला गन्हाएका कारण दिनभर नाक थुनेर बस्नु परेको बताए। उनले अस्पतालले शौचालयको दिसा र पानी नालामा फालेका कारण ग्राहक नै नआउने गरेको गुनासो गरे। ‘औषधि पसलमा आएका ग्राहकले ओहो कस्तो गन्हाएको, तपाईँ कसरी बस्नु हुन्छ भन्छन्,’ उनले भने।

धेरैबेर बसे बिरामी झन् बिरामी भइने जस्तो गन्हाइरहेको मेडिसिन बैंकमा औषधि किन्न आएकी नेपालगन्ज उपमहानगरपालिका–७, फुल्टेक्राकी सुनिता चौधरीले बताइन्। उनले औषधि लिन आउँदासमेत नाक थुनेर बस्नुपर्ने बाध्यता भएको बताइन्। भनिन्, ‘अस्पताल जस्तो संस्थाले शौचालयको ढल नालामा मिसाएर गैर जिम्मेवारी कार्य गरेको छ।’

अस्पतालले नालामा शौचालयको दिसा नालामा खसाल्दा दुर्गन्ध फैलिएर हिड्डुल गर्न गाह्रो हुने गरेको नेपालगन्ज जेलरोडका सन्तोष चन्दले बताए। उनले नाला गन्हाएका कारण नाक थुन्नेर आवतजावत गर्नु परेको बताए। उनले हिँड्ने बेला नाला गन्हाएर उल्टी आउने जस्तो हुने गरेको समेत गुनासो गरे। ‘नाला गन्हाएकै कारण यो बाटो हिँड्न नपरोस जस्तो लाग्छ, तर के गर्ने नहिँडेर सुखै छैन, नाक थुनेर भएपनि हिड्न बाध्य छौँ,’ चन्दले भने।

नालाको उत्तरतर्फ सडक छेउमै नेपाल टेलिकमको कार्यालय छ। नालाको दिसा गन्हाएका कारण कार्यालयमा बस्न समस्या हुने गरेको टेलिकमका कर्मचारी नारायण सुवेदीले बताए। उनले शौचालयको दिसा नालामा नखसाल्न अस्पताल प्रशासनसँग आग्रह गरेका छन्। ‘शौचालयको ट्यांकी भरिएको छ भने बनाउनु पर्‍यो, सर्वसाधारणलाई दुःख दिन भएन, अस्पताल जस्तो संस्था सर्वसाधारणलाई विरामी बनाउने गरी दिसा नालामा आउन दिन भएन,’ सुवेदीले भने।

नालाममै सेप्टी ट्यांकी

भेरी अञ्चल अस्पतालको एउटो सेप्टी ट्यांकी नालामै परेको छ। उक्त सेप्टी ट्यांकी भरिएर दिसा नालामा मिसिने गरेको स्थानीय ममता शर्माले बताइन्। उनले अस्पतालको लापरवाहीले टोलको नै बदनाम भइरहेको बताइन्। दुर्गन्धले घरमा आउजाउ गर्न गाह्रो हुने भएकाले कर्मचारी र ब्यवसायी घर भाडामा बस्न मान्दैनन्,’ उनले भनिन्, ‘जमिन खरिद विक्रिमा समेत समस्या हुन थाल्यो।’

उनले अस्पतालकै कारण छोटो बाटो प्रयोग नगरेर लामो बाटो भएर आउजाउ गर्न बाध्य भएको बताइन्। ‘जेलरोडको बाटोको नालामा अस्पतालको सेप्टी ट्यांकी छ, सेप्टी ट्यांकीको दिसा र पानी नालामा आएर गन्हाएकै कारण हिड्न गाह्रो हुने भएकोले धेरैजसो सर्वसाधारण लामो बाटो प्रयोग गर्न थालेका छन्,’ उनले भनिन्।

मेडिकल सुपरिटेन्डेन्ट नै अनभिज्ञ

सर्वसाधारणले शौचालयको दिसा सिधै नालामा आएर हिँड्डुल गर्न र बस्न नसक्ने गुनासो गरे पनि भेरी अञ्चल अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्र बहादुर चन्दले शौचालयको पानी नालामा गएपनि दिसा सेप्टी ट्यांकीमै जाने गरेको दावी गरे। उनले पहिले दिसा समेत नालामा गएपनि अहिले पानीमात्र नालामा खसाल्ने गरेको बताए।

‘दिसा सेप्टी ट्यांकीमा जाने ब्यवस्था मिलाइसकेको जानकारी मैले पाएको छु,’ उनले भने। उनले पहिलेको चाप हेरेर सेप्टी ट्यांकी बनाएकोले अहिले छिटै भरिने गरेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.