|

बैतडी : दशरथचन्द नगरपालिकाका विभिन्न वडाका ज्येष्ठ नागरिकहरुले सामाजिक सुरक्षा भत्ता बुझ्न निकै कठिन भएको गुनासो गरेका छन्।

नगरपालिकाले कृषि विकास बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दैै आएको छ। बैंकमा पुग्न र पुगेपछि लाइनमा उभिनुपर्ने समस्या भएको वडा नम्बर ६ सिम्तडीका ८८ वर्षीया लछिमा भट्टले गुनासो गरिन्। उनले भनिन्, ‘चुनावका बेला घरघरमै पुगेर भत्ता दिन्छु भन्नेहरुले आफूहरुको पीडा बुझ्न सकेन।’

वडा नम्बर ६ सिम्तडीकी ६५ वर्षीया राधिका भट्टले जनप्रतिनिधिहरुले ज्येष्ठ नागरिकको पीडा बुझ्न नसकेको बताइन्। उनले भनिन्, ‘घण्टौं लाइन बसेर भोकभोकै सामाजिक सुरक्षा भत्ता बुझ्नुपरेको छ।’

नगरपालिकाकी उपप्रमुख मीना चन्दले सामाजिक सुरक्षा भत्ता बैंकबाटै वितरण गर्नुपर्ने सरकारले नियम बनाएकाले नगरपालिकाले सोही व्यवस्था गरेको बताइन्। ज्येष्ठ नागरिकको सजिलोका लागि अर्को चौमासिकमा केही बैकल्पिक उपाय निकाल्ने उनको भनाइ छ। नगरका प्रवक्ता चक्रप्रसाद शर्माले ज्येष्ठ नागरिकको समस्यालाई मध्यनजर गर्दै वडाबाटै भत्ता वितरण गर्ने निर्णय भएको जानकारी दिए ।

कृषि विकास बैंक शाखा कार्यालय शाहीलेकका प्रमुख डीकरदेव पाण्डेयले सुरक्षाको कारण गाउँमा गएर भत्ता वितरण गर्न नसकेको बताउँछन्। यसका साथै कर्मचारीको अभाव, चार बजेभित्र सिस्टमा राखिसक्नुपर्ने र अनलाइनबाट कारोबार गर्नुपर्ने भएकाले गाउँमा गएर भत्ता वितरण गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.