|

सोलुखुम्बु : थुलुङदुधकोशी गाउँपालिका-९ लोखीमले बजार अनुगमनलाई प्रभावकारी बनाउने भएको छ। जसको लागि सात सदस्य समितिसमेत गठन गरिएको वडा अध्यक्ष भूपाल सिंह राईले जानकारी दिए।

चाडपर्वको बेला वडाभित्र सञ्चालन भएको होटल तथा पसलमा म्याद नाघेका सामग्री बिक्रीवितरण हुनसक्ने भन्दै अनुगमनमा कडाई गरिने वडा अध्यक्ष राईले बताए। वडा अध्यक्षको संयोजकत्वमा गठन गरिएको समितिमा सम्पूर्ण वडा सदस्य, सहकारी संस्था, स्वास्थ्यचौकी, विद्यालय र वडामा रहेको हुलाक कार्यालयका प्रमुख सदस्य रहने उल्लेख गरिएको छ।

उक्त समितिले शुक्रबारदेखि नै काम गर्ने वडा अध्यक्ष राईले बताए। गत जेठ पहिलो हप्ता बसेको वडा समितिको निर्णयपछि सम्पूर्ण होटल तथा पसल सञ्चालक र उपभोक्तालाई समेत खाद्य वस्तुको म्याद हेर्ने तरिका सिकाइएको बताइएको छ।

यसअघि नै साउन एक गतेदेखि सम्पूर्ण होटल तथा पसलले त्यस्ता खाद्य वस्तु बिक्रीवितरण गर्न नपाउने गरि सूचना जारी गरिएको थियो। म्याद गुज्रिएको खाद्य वस्तु बिक्रीवितरण गरेको पाइएमा पहिलोपटक सम्झाउने, दोस्रो पटक जफत गरी नष्ट गर्ने र पुनः तेस्रो पटक दोहोरिए होटल, पसल नै सिल गर्ने कार्यविधिअनुसार कार्वाही गर्ने वडा अध्यक्ष राईको भनाइ छ। 'उपभोक्ता ठग्न कुनै पनि हालतमा पाइँदैन, हामीलाई उपभोक्ताको हितमा काम गर्नु भनेर जनताले मत दिएका हुन्, सोहीअनुसार काम गर्छौं', उनले भने।

उनका अनुसार वडाभित्र व्यावसायिक रूपमा सञ्चालन भएको होटल तथा पसल करिब ४० वटा रहेको छन्। बिहीबार बसेको वडा समितिको बैठकले उपभोक्ता हितको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएकाले बजार अनुगमनलाई कडाइ गर्ने निर्णय गरेको वडा अध्यक्ष राईको भनाइ छ।

यस्तै, सोही बैठकले चालु आर्थिक वर्ष २०७६/०७७ बाट खर्च हुने गरि वडा भित्रका सम्पूर्ण छात्रा विद्यार्थीलाई स्यानिटरी प्याड निःशुल्क वितरण गर्ने निर्णय गरेको छ। विद्यालयमा छात्राको उपस्थितिलाई नियमित बनाउको लागि उक्त सामग्री वितरण गरिने वडाले जनाएको छ।

वडा अध्यक्ष राईको अध्यक्षतामा सम्पन्न बैठकले भदौ महिनाभित्र वडाभित्रका सम्पूर्ण सडक तथा बाटोलाई पूर्णरूपमा सरसफाई गर्ने निर्णय गरिएको छ। सरसफाई अभियानमा वडाभित्र रहेका सम्पूर्ण संघसंस्थालाई सहभागी गराउने योजना रहेको अध्यक्ष राईले बताए। सरसफाइयुक्त वडा अभियानमा वडा सदस्यदेखि वडा अध्यक्षसमेत एक दिन अनिवार्य सरसफाइमा सहभागी हुने निर्णय गरिएको छ। वडाले यसरी समिति नै बनाएर बजार अनुगमन गरेको जिल्लाकै पहिलो कार्य हो। कतिपय गाउँपालिकाले समेत बजार अनुगमन गर्न सकेका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.