|

दार्चुला : दार्चुलाको उत्तरी क्षेत्र घुसाका पाटनमा हिमचितुवाले चरनमा लगाइएका भेँडाबाख्राहरू खान थालेपछि भेँडापालक कृषकहरू चिन्तित बनेका छन्।

एक महिना यता लोलु, गौथोलीघोल, भवय वन र रोखापु वन क्षेत्रमा स्थानीयका ७० भन्दा बढी भेँडाबाख्रा सेतोकालो रंगको बाघले खाने गरेको अपी हिमाल गाउँपालिका १ का चन्द्रसिंह कार्कीले जानकारी दिएका छन्।

सबैभन्दा बढी लालुको कालीढुंगा क्षेत्रमा स्थानीय रघु धामीका ३६ भेँडाबाख्रा बाघले खाएको उनी बताउँछन्। भवय वनमा दलविर धामीका २० र लोलु मै कार्कीका १० भेँडा बाघले खाएको स्थानीय बताउँछन्। प्रत्येक दिन ३/४ र भेँडाबाख्रा बाघले खान थालेपछि चरन क्षेत्र छोडेर भेँडाबाख्रालाई बस्तीनजिकै ल्याइएको कार्कीले बताए।

एउटैका पन्ध्र हजारभन्दा बढी पर्ने भेँडाबाख्रा बाघले खाए पनि भेँडापालकलाई लाको खौंनोक्सानी भएको छ। बाघले निरन्तर खान थालेपछि घुसाको बस्ती नजिककैको डौठा क्षेत्रमा भेँडाबाख्रा ल्याएको रघु धामी बताए।

‘चरन क्षेत्रमा बाघले बस्न दिँदैन। बस्तीनजिक चरन क्षेत्र छैन। भेँडापालकलाई दोहोरै मार परेको छ’ गाउँपालिकामा क्षतिपूर्तिका लागि निवदेन दिएको बताउँदै  कार्कीले भने। घुसाको लोलु क्षेत्र हिमरेखानजिकै पर्ने भएकाले उक्त क्षेत्रमा देखिएको बाघ, हिमचितुवा हुन सक्ने अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयका निमित्त प्रमुख राजु घिमिरे बताउँछन्।

संरक्षण क्षेत्रभित्र कृषक तथा पशुपालकको खेतवारी र पशुधनमाथि संरक्षित जनावरले क्षति पुर्‍याए नियमानुसार क्षतिपूर्ति दिने व्यवस्था रहेको निमित्त प्रमुख घिमिरेले बताए। उनले पीडितले प्रमाण‍सहित क्षतिपूर्तिका लागि निवदेन दिए संरक्षण क्षेत्रले निमानुसार क्षतिपूर्ति दिने पनि बताए।

तीन वर्ष पहिले क्यामेरा ट्रयापिङमार्फत उक्त क्षेत्रमा संरक्षण क्षेत्रले हिमचितुवाको अध्ययन गरेको छ। त्यतिबेला हिमचितुवा रहेको चिह्न मात्रै देखिएको छ। तर क्यामेरामा हिमचितुवा नदेखिएको बताउने सहायक संरक्षण अधिकृत राजु घिमिरेले अहिले हिमचितुवा देखिनु खुसीको कुरा भएको बताए।

बच्चलाई सिकार गर्न सिकाउन र रगतको स्वाद चखाउन हिमचितुवाले ठूलो मात्रामा सिकार गर्ने बताउँदै सहायक संरक्षण अधिकृत घिमिरे पशुपालकले सुरक्षा अपनाउनु पर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.