|

सर्लाही : प्रदेश-२ को मन्त्रिपरिषद् बैठक पहिलोपटक अस्थायी राजधानी जनकपुरभन्दा बाहिर भएको छ। मन्त्रिपरिषद्को बैठक शुक्रबार सर्लाहीको सागरनाथमा बसेको हो। सागरनाथ वन विकास परियोजनाको स्वामित्वको विषयलाई लिएर संघीय र प्रदेश सरकारबीच विवाद भइरहेकोले सर्लाहीको इश्वरपुरस्थित सागरनाथ वन विकास परियोजनाकै सभा कक्षमा  मन्त्रिपरिषद्को बैठक बसेको हो।

सागरनाथलगायत प्रदेश-२ भित्रका अन्य वनको संरक्षण गर्ने मुख्य उद्देश्यसहित परियोजनामा बैठक आयोजना गरिएको प्रदेश-२ सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए। मन्त्रिपरिषद्को बैठकले सागरनाथ वनलगायत प्रदेशभित्रका संवैधानिक हिसाबले प्रदेश सरकारको मातहतमा भएको हुनाले यसको संरक्षण, सम्वर्द्धन प्रदेश सरकारले पाउनुपर्ने बताए।

वन निगमको नाममा सागरनाथ वन विकास परियोजनालाई बिक्री गर्ने वा अन्य निकायलाई सुम्पिन खोजिएको आरोप लगाउँदै त्यसको विरुद्धमा प्रदेश सरकार चुप लागेर नबस्ने कानुनमन्त्री यादवले बताए।

मन्त्रिपरिषद्को बैठकले चुरेक्षेत्रलाई हराभरा बनाउने, गैर कानुनी तरिकारले भइरहेको बसोवास नियन्त्रण गर्ने, चुरे क्षेत्रमा भइरहेको नदीजन्य पदार्थको अवैध उत्खनन तुरुन्त नियन्त्रण गर्ने, प्रदेश स्तरीय निकायका निजामति कर्मचारीको प्रोत्साहनस्वरूप आन्तरिक पर्यटन कार्यक्रम सञ्चालन निर्देशिका २०७६ र कर तथा गैर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छलफलका लागि विधायन समितिमा पठाउने निर्णय गरेको छ।

प्रदेश २ को आठवटै जिल्लामा १९५ हेक्टरमा वृक्षारोपण गर्ने अभियानको शनिबार एकैसाथ शुभारम्भ गरिने मन्त्री यादवले जानकारी दिए। बैठकमा मुख्यमन्त्री लालबाबु राउत, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय,  भौतिक पूर्वाधार तथा यातायातमन्त्री जीतेन्द्र सोनल, सामाजिक विकासमन्त्री नवलकिशोर साह, राज्यमन्त्रीहरू अभिराम शर्मा र सुरेश मण्डल सर्लाही सहभागी रहेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.