आवेगात्मक आदेशले सामाजिक विखण्डन ल्याउँछ
आवेगात्मक आदेशले सामाजिक विखण्डन ल्याउँछ
कृष्णबहादुर बुढाथोकी
नपाकेको फलमा झटारो हानेर थकानको सुसेली हाल्ने चलनले समजिक सहिष्णुता स्खलन भएको छ। पछिल्लो समय खोटाङको दही प्रकरणले बजारमा चर्चा पाएको छ। राम्रै खरिद बिक्री भइरहेको छ। जेठ १८ को दिन कसैका लागि महान सांस्कृतिक क्रान्तिको शुभारम्भको यश बटुल्ने अवसर भयो भने इमान्दार र शालीन किसानका लागि गलाको पासो भयो।
जातीय छुवाछुत तथा उचनीचको सदियौं पुरानो विकृति विनासका लागि जिल्ला समन्वय समिति खोटाङले गररेको सहभोजमा सामेल ७६ वर्षीय टंकप्रसाद आचार्य गाउँबाट विस्थापित भए। त्यसपछि विभिन्न संघ संस्था र राज्यका निकायमा न्यायका लागि भौतारिए। तर पनि अझै उचित न्याय पाउन सकेका छैनन्।
केन्द्रीय तथा जिल्लास्तरीय नेता र जिल्लाका हाकिम सा'वहरू सामेल सह-भोजनमा अचार्य लगायतका सज्जनले दलित बालिकाको हातबाट दही पिएका थिए।दहीमात्र होइन, मासु भात पनि स्वाद मानीमानी खाएका थिए। सञ्चारमाध्यममा तस्बिरसहितको समाचारले राम्रै बजार पाएको थियो। सहभोजनमा सहभागी नेतागण र प्रमुख जिल्ला अधिकारीलाई थेगी नसकनु बधाइको वर्षा भयो, सामाजिक कुरीति समाप्त गर्ने असल कार्यको थालनी गरेकोमा।
छोटो समयमै यस प्रकरणले गलत मोड लियो। दलितको दही आचार्यका लागि समुद्र मन्थन गर्दा निष्पन्न कालकुट विष महादेवले निलेर छटपटाएझैं भयो। उही प्रकरणमा सामेल नेतागण र कार्यालय प्रमुखलाई इन्द्रले ऐरावत र देवगणले अमृत पाएझैँ भयो।
जातीय छुवाछुतलाई खरानी बनाउन बालेको दावानलमा हामफाल्नेमध्ये आचार्यमात्र जले, कुसंस्कार जलेन अन्य अभियान्ता जलेनन्। यहाँ त सच्चा प्रल्हाद नजलेर अग्नि शक्तिप्राप्त मायावी होलिका जलेकी हो वा सच्चा प्रल्हाद जलेर मायावी होलिका नजलेकी हो, खुट्याउन सकस छ।
हजारौं माइलको यात्रा ढोकाको संघारबाट आरम्भ हुन्छ भन्ने दर्शनमा टेकेर थालेको अभियानले हजार माइलको यात्रा एक कदमको कमजोरीले दुर्घटनामा पर्याउँछ भन्ने नवीन दर्शनको जन्म गराएको छ।
सामन्ती संस्कारको (परिवर्तनका लागि होइन) परिमार्जनका लागि सामन्त दलालहरूको अधिपत्य खोसिनु पर्छ र आमुल परिवर्तनका लागि सांस्कृतिक क्रान्ति गरिनुपर्छ। सांस्कृतिक क्रान्तिले संस्कृतिभित्रका विकृति पखालेर शुद्धीकरण गरेर संस्कार परिवर्तन हुन्छ। चीनको राज्यक्रान्तिपछि माओले सन् १९६६ देखि १९७६ सम्म रेड गार्डमार्फत् सांस्कृतिक क्रान्तिको थालनी गरे।
सांस्कृतिक विकृतिका रुपमा रहेका चार स्तम्भहरू पुराना रिवाज, तौर-तरिका, संस्कृति र सोच बदल्ने लक्ष्य थियो। भनेका थिए, 'बुर्जुवावर्ग कम्युनिष्ट पार्टीमा आफ्नो प्रभाव कायम गरेर एक किसिमको तानशाही व्यवस्था स्थापना गर्न चाहन्छ।' तर दुई वर्ष (१९६८) मा नै क्रान्तिले सामाजिक विद्रोहको रुप लिएपछि रेडगार्ड विघटन गरेको तीतो इतिहास भेटिन्छ।
राज्य क्रान्तिलाई पूरा गरी थालेको सांस्कृतिक क्रान्तिले विद्रोहको बाटो समायो भने नेपालमा सामन्त र बुर्जुवाको काखमा बसेर गरेको क्रान्ति, समझदारीमा लेखेको संविधानबाट सास्कृतिक रुपान्तरण गर्न खोज्नु नपाकेको फलमा झटारो हान्नु शिवाय केही होइन।
साइनामाइट परीक्षण गर्दा जसलाई सुघाइन्छ त्यो मर्ने सम्भावना रहन्छ। यहाँ पनि परीक्षणको पूर्ण तयारी नभई आचार्यलाई संविधानको साइनामाइट सुँघाउने काम गरियो। जसको पीडाले उनी भौतारिँदैछन भने अनुसन्धाताहरू परीक्षण सफल हुने-नहुने पिरलोमा छन्।
प्रसङ्ग नेपालको संविधानको मर्मलाई परीक्षण प्रयोगका लागि दहीमा घोलेर प्रयोगशलाको जठाराग्नीमा बसाल्दा दही मही बनेन, नौनी निस्केन बरु फाटेर छताछुल्ल भयो। त्यसको अम्लीय तत्वले सामाजिक एकतामा उभार र उगाल ल्याइदियो। दलितले आयोजना गरेको सहभोजमा दही खाँदा जन्ती, मलामी, अर्मपर्म रोकियो।
अघोषित सामाजिक बहिष्करणको चितामा हालियो संविधान, कुहिराको काग बनाइयो समाजलाई। नेपाल धर्मनिरपेक्ष राष्ट्रको कित्तामा उभिइसकेको छ। कागजी संविधानमा लिपिबद्ध गरिएका छन् नागरिकका मौलिक हक। मौलिक हकको लामो सूचीको बुँदा नं २४ (भाग ३, धारा २४) मा उप बुदा (उपधारा १-५) पाँचवटा राखिएका छन्।
यी उपधाराले समग्रमा छुवाछुत र भेदभावलाई कानुनबमोजिम दण्डनीय मानेको छ। दलित पनि मान्छे हुन्। यिनले छोएको खाने मान्छे मर्दैन, झर्दैन। तर हाम्रो सोच र संस्कार बदल्नु आवश्यक छ, भाषण र वक्तब्यबाजीले परिवर्तन आउँदैन।
कानुनको पालना इमान्दारीपूर्वक गर्न आवश्यक हुन्छ। कानुन संशोधन गरेर फाँसी देऊ भनेका पीडित आचार्यको अवस्था दयनीय छ। संसार बदल्नेले आफूबाट शुरु गर्नुपर्छ भन्ने मर्मलाई ध्यानमा राखेर उच्च तहका नेतृत्वबाट दलितसँग लेनदेन थाले आफैं समाज बदलिन्छ।
दलित समाजका कारिगढ हुन्। मन्दिरको मूर्ति, गजुर, भगवानका लागि भोग लगाउने हतियार बनाउने, पण्डितको पाइजामा सिलाउने, पुजारीको दौरा मिलाउने, भगवानको मन्दिरमा नौमति बजाउने, हरेकलाई पानीदार हीरा बनाएर सजाउने दलित नै हुन्। फर्केर आफ्नो पाउदेखि शिरसम्म नियाल्नुहोस् हरेक अंगमा दलितका औँला छल्।
भान्सादेखि बिस्तारासम्म दलितका कला छन्। तथापि दलितमाथि यो अन्याय भएको छ। आज पनि पानी छोएको निहुँमा दलित पिटिएका छन्। दलित घृणित भन्दा बढी पूज्य हुन्। तापनि जयस्थिति मल्लले बनाएको अलिखित विधानको आडमा लिखित विधानको उपहास निन्दनीय छ। जात मानिसले बनाएको पहिचान हो। साश्वत सत्य होइन। किनकि भारतमा भएको जात नेपालमा छैन, नेपालमा भएको युरोपमा छैन।
मानव निर्मित पहिचानले सिर्जना गरेका विषवृक्षलाई बिस्तारै पातबाट छास्नु बुद्धिमानी होला। समाज सञ्चालनको स्थायी कानुन धर्मशास्त्र हो। सबै सम्प्रदायका धर्मिक कानुन छन्। त्यसकै आधारमा समाज र संस्कार चलेको छ। हिन्दु दर्शनमा जातपात र छुवाछुत सीपका भण्डार दलितलाई अछुत बनाउने कारणमध्ये सीप नै हुनसक्छ।
सीप नभएका तर समाजमा ठगी खानेहरूले कपडा सिलाउन, जुत्ता बनाउन, हातहतियार निर्माण गर्न, गरगहना, भाँडाकुडा बनाउन कारिगढको ज्यासलमा दैनिक जाने र काम गराउने अनि पाकेको खाना पनि खाइदिने हुँदा दर्जनौं मानिसको पेट भर्न सकस भयो होला। काम पनि लगाउने खाना खाएर अझै दु:ख दिएको ठहर गरी तिनका घरमा कसैले खाना नखाने भनी फर्मान जारी गरेको हुन सक्छ। पछि त्यही चलन संस्कार बनेको हुनसक्छ।
कारण जे होस् जातको आधारमा गरिने विभेद निन्दनीय छ। यसको सहज परिवर्तनको माध्यम खोजिनु आवश्यक छ। मानिस भएर पनि मानिसको दर्जामा दर्ज हुन विभन्नि कालखण्ड पार गर्नु पर्दाको पीडामा मल्हम लगाउन कोशिश गर्ने महान योद्धा समाजको नजरमा पतित ठहरिनु सामन्त सोचको पराकाष्ठ हो। अधिग्रो परिवर्तनको द्योतक हो।
घटना एक विकृति अनेक भित्रिन सक्छन्। उज्यालोका लागि बालेको बत्तीले घर जलाउन सक्छ, त्यस बेला उज्यालो बत्ती निभाउन हतार गर्नुपर्छ र अन्धकारमै फर्कनुपर्ने बाध्यता आउन सक्छ। तसर्थ बत्ती बाल्नुभन्दा अघि ज्वलनशील वस्तुको दीगो व्यवस्थापन गर्न जान्नुपर्छ। मतलव क्रान्तिले प्रतिक्रान्ति नजन्माओस् भन्नेमा चनाखो हुनुपर्छ।
संस्कार समाजको सम्पत्ति हो। चिनियाँ सांस्कृतिक क्रान्तिमार्फत् माओले दश वर्ष कुचो लगाउँदा पनि विकृतिका त्यान्द्रा पन्छाउन सकेका थिएनन्। हामीले पनि सस्तो लोकप्रियताका लागि पुरातन संस्कारमाथि हमला गर्यौं भने त्यसले अर्को विद्रोहको जन्माउन सक्छ। सबै संस्कारमा थोरधेर विकार छन्। तर ती विकारलाई पन्छाउन हतार गरियो भने विकार नै संस्कार बन्न सक्छन्।
दही प्रकरण एक थियो, तर यसले अनेक घटना सिर्जना गरेको छ। समाज सर्वशक्तिमान हुन्छ समाजविना मानिस रहन असम्भव छ। कानुनी कारवाहीले सामाजिक कलहलाई साम्य बनाउँदैन, केवल बल्झाउँछ मात्रै। जातीय भेदभावका दृष्टिले व्यक्ति बहिष्कार गर्नेहरूलाई प्रशासनिक दबाबमा सहभोजन गराउन दिइने आवेगात्मक आदेशले सामाजिक विखण्डन ल्याउँछ भने व्यक्तिगत स्वतन्त्रताको हनन हुन्छ।
पदमा आसिन जिम्मेवार व्यक्तिले ठाडो पीडकलाई दलितसहितको भोज गराउन दिने आदेशको पालना गर्दा पर्न सक्ने मानसिक असरको ख्याल गर्न पर्ने बेला आएको छ। कसैलाई न्याय दिँदा अरुको न्याय खोसिन हुन्न भन्ने विश्वव्यापि मान्यता बिर्सिँदा उत्पन्न समस्याको समयमा आँकलन गरी पीडिले समाजमा रहने वातावरण बनाउन सक्नु बुद्धिमानी होला।
समाजमा सामन्ती अवशेष र बुर्जुवा प्रवृत्तिलाई मलजल गरेर सास्कृतिक परिवर्तन गर्न तम्सियो भने द्वन्द्वको विरुवा उम्रन्छ। द्वन्द्वको पहाड रगडिएर निस्कने सानो झिल्कोले संसार खरानी हुन्छ। दलितको दहीबाट उब्जिएको समस्या शक्ति प्रयोगको अवस्थामा नपुगोस्, सामाजिक सहिष्णुतामा तुषारापात भई जातीय द्वन्द्वमा परिणत नहोस्। सामाजिक संरचना भत्किएर भग्नावशेषमा रुपान्तरणको अवस्था आउने बाटो बन्द गरिनु पर्दछ।
लेखक खोटाङको रतन्छास्थित शाकेला उच्च माध्यमिक विद्यालयका निवर्तमान प्राचार्य हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।