युवालाई कृषिसँग जोड्नुपर्छ : मन्त्री खनाल

|

हेटौंडा : संघीय सरकारका कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणी खनाल 'बलदेव' शुक्रबार बिहान हेटौंडा आइपुगे। बिहान हेटौंडाको एउटा महँगो होटलमा खाना खाएर विभिन्न उद्घाटन र निरीक्षण निस्केका खनालको प्रदेश ३ को राजधानीसमेत रहेको हेटौंडामा छुट्टै रवाफ थियो।

  प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्की र नेकपाका नेता केदार न्यौपानेसहित होटलबाट निस्केर कार्यक्रमतर्फ अगाडि बढे।

नेपाल प्रहरीको स्कटिङसहित हिँडेका मन्त्री खनालको गाडी अगाडि प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीको गाडी, मन्त्री खनालको पछाडि प्रदेशमन्त्री दावा दोर्जे लामाको गाडी, त्यसपछि उपसचिव, निर्देशकसहित लावालस्कर लिएर मन्त्री खनाल हेटौंडामा विभिन्न कार्यक्रममा पुगे।

मन्त्रीका अगाडि पछाडि प्रदेश ३ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र निर्देशनालयका मात्रै करिब १२ कर्मचारी थिए। उनको जम्बो टोलीले दुई उद्घाटनसहित अन्य ४ वटा कार्यक्रममा सहभागिता जनाउन भ्यायो।

खनालले शुक्रबार हेटौंडाको दिव्य सेवा निकेतन (वृद्धाश्रम)को कृषि पर्यटन प्रवर्द्धन कार्यक्रमको उद्घाटन गरे। प्रदेश सरकारको कन्दमूल तरकारी  विकास केन्द्र सिन्धुलीको २५ लाख र संस्थाको १५ लाख  ८८ हजार लगानीमा बनेको ३ वटा टनेल, वीज भण्डार कोठा निर्माण, गोठ तथा भकारो सुधार, गोबर ग्यास निर्माणको उद्घाटन तथा अवोलकन गरे।

दिव्य सेवा निकेतनमा उद्घाटनपछि १० मिनेट भाषण गरेर मन्त्री खनाल हेटौंडा औद्योगिक क्षेत्रको माटो तथा मल परीक्षण प्रयोगशालाको निरीक्षणमा पुगे त्यहाँ अवलोकन गरेर औद्योगिक क्षेत्रकै पशु वधशालाको आधा घण्टा अवलोकन गरे।

त्यो कार्यक्रम सकिनेबित्तिकै हेटौंडा १३ पदमपोखरीमा प्रदेश सरकारको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट १६ लाख ६३ हजार सहयोगमा सञ्चालन भएको बाख्रा फार्म अवलोकन गरे। 

सुन्दर बहुउद्देश्ययी कृषक समूहले सञ्चालन गरेको बाख्रा फार्मको निरीक्षणमा पुगेर  खादा र मालाको स्वागतपश्चात उनी सहितको टोली हेटौंडा–१२ पदमपोखरीको एग्रिगेट हाउसको उद्घाटनमा पुग्यो।

वडाध्यक्ष ललित घलानले प्रदेश सरकारको अनुदानमा सञ्चालन गरेका एग्रिगेट हाउसमा गोलभेंडाको विरुवा रोपेर त्यहाँ २० मिनेट भाषण गर्न भ्याएका मन्त्री खनालले लगत्तै हेटौंडा ११ थानाभर्‍याङमा स्थापना गर्न लागिएको थोक बजार स्थलको स्थलगत अवलोकन गरे।

स्थलगत अवलोकनपश्चात प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आएका उनी बेलुका मुख्यमन्त्रीसहित प्रदेशका मन्त्रीहरूसँग भेटघाट गरे। प्रदेश मन्त्रालयअन्तर्गत रहेका कर्मचारीको टोलीले शुक्रबार भए पनि ६ बजेसम्म मन्त्री छोड्न सकेनन्।

युवालाई कृषिसँग जोड्नुपर्छ : मन्त्री खनाल

 मन्त्री खनालले सरकारले युवाहरूलाई कृषिमा जोड्न खोजेको भन्दै नेपालको समृद्धि कृषिबाट मात्रै सम्भव भएको बताएका छन्। हेटौंडा १२ मा भएको  एग्रिगेट हाउसको उद्घाटन कार्यक्रममा मन्त्री खनालले नेपालको भौगालिक बनावट कृषियोग्य भएको बताएका हुन्।

उनले  वैदेशिक रोजगारीमा जाने अधिकांश युवा भएकोले कृषिसँग युवालाई जोड्न सके विदेश जानेको संख्या कम हुने बताए। उनले नेपाल सरकारले प्राथमिकता दिने उद्यमहरूमा कृषि पहिलो रहेको भन्दै पारिवारिक कृषि कर्मबाट व्यावसायिक कृषितर्फ अगाडि बढ्नुपर्ने बताए।

  किसानलाई परिचय पत्र दिएर योगदानको आधारमा पेन्सनको समेत व्यवस्था गर्न सरकारले खोजेको भन्दै संघले बनाएको योजनाहरु प्रदेश र स्थानीय तहले पनि लागू गर्नुपर्ने बताएका हुन्। उनले शुक्रबार नै भएको कार्यक्रममा किसानहरुको वर्गीकरण गरेर परिचयपत्र दिनुपर्नेसमेत बताएका थिए।  

परिणाममुखी काम गर्नुपर्छ

यस्तै, प्रदेश मन्त्री दावा दोर्जे लामाले कृषिबाट मुलुकलाई समृद्धि बनाउन सक्ने भन्दै अब परिणाममुखी काम गर्नुपर्ने बताएका छन्। सरकार र दलबीच विकास र समृद्धिमा विवाद नगरी अगाडि बढ्नुपर्ने भन्दै सरकार सबै खाले जनताको आयस्तर उकास्न लागिपरेको बताए।

कृषिमन्त्रीको उद्घाटन र निरीक्षणको कार्यतालिका

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.