|

बोस्टन : सर्वत्र जिज्ञासा र विरोध आएपछि शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अमेरिकामा रहेका नेपाली पत्रकारको संस्था नेजाले विज्ञप्ति निकालेको छ। नेजाका महासचिव किरण मरहठ्ठाले उक्त आत्महत्या प्रकरणबारे विज्ञप्ति जारी गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, 'नेपाल नुवाकोट घर भई पछिल्लो समय माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा चितवनको एक होटलमा शव भेटिएको घटना र त्यसपछि उत्पन्न विषयमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) को ध्यानाकर्षण भएको छ। सो घटनाको यथाशक्य छिटो छानबिन गरी वास्तविकता बाहिर ल्याउन नेजा सम्बन्धित पक्षसँग जोडदार माग गर्छ।' पत्रकार पुडासैनी साउन २२ गते चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारू होटलमा पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए।

विज्ञप्तिमा अगाडि भनिएको छ, 'पुडासैनीप्रति हार्दिक श्रदाञ्जलि व्यक्त गदै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौँ। सोही घटनासँग जोडेर न्यूज २४ टेलिभिजनमा कार्यरत, 'सिधा कुरा जनतासँग' कार्यक्रमका प्रस्तोता रवि लामिछानेसहित कार्यक्रम छायांकन समूहका सदस्य युवराज कँडेललाई नेपाल प्रहरीले पक्राउ गरी अनुसन्धान र छानविनका क्रममा हिरासतमा राखिएको छ।

लामिछाने र कँडेललाई पक्राउ गर्दा प्रहरी प्रशासनले प्रेस स्वतन्त्रता र न्यायसंगत प्रक्रियाको समेत उल्लंघन गरेको हाम्रो ठम्याइ छ। यस सन्दर्भमा नेपाल पत्रकार महासंघको धारणा र भूमिकाप्रति नेजा ऐएक्यवद्धता जनाउँछ।'

आत्महत्याअघि पुडासैनीले मोबाइलमा रेकर्ड गरेको र अरूबाट गराइएको भिडियोमा रवि लामिछानेले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका थिए। लामिछाने साउन ३० मा पक्राउ परेका हुन्।

'बरू दोषीहरू उम्कन नपाऊन्, तर निर्दोषहरू नफँसून्', भन्ने कानुनको मान्यताबमोजिम यो घटनाको चाँडोभन्दा चाँडो सत्यतथ्य पत्ता लगाएर निष्कर्षमा पुर्‍याउनका लागिसमेत संस्थाले अपिल गरेको छ। नेजाको स्थापना वाशिंगटन डिसीमा २००७ अप्रिलमा भएको हो। यसका आजीवन १२, र साधारण करिब १ सय ५० सदस्य छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.