स्वास्थ्य

राप्ती स्वास्थ्य प्रतिष्ठानको विवाद मिलाउन समिति गठन
SHARES

उपकुलपति प्राडा भण्डारीको राजीनामा माग

भदौ ७, २०७६

    दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा पछिल्लो समय देखिएको विवाद समाधान गर्दै प्रतिष्ठानको गरिमा कायम राख्न र निकास खोज्न अधिकारकर्मी विकीरण गौतमको संयोजकत्वमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ अभियान गठन गरिएको छ। प्रतिष्ठानको गरिमा, महत्व र आवश्यकतालाई जोगाउन भन्दै सरोकारवाला निकाय, नगरबासी, संघसंस्था, नागरिक समाज सबैको सक्रियतामा सर्वपक्षीय छलफल गरी अधिकारकर्मी गौतमको संयोजकत्वमा सो अभियान गठन भएको हो। 

    अभियानको सदस्य सचिवमा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासन रहेका छन्। त्यस्तै, अभियानको अन्य सदस्यमा नागरिक समाज दाङकी सचिव लक्ष्मी आचार्य, दाङ चेम्बर अफ कमर्सका अध्यक्ष श्रीधर महरा, दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष वसन्त जोशी, चेम्बरका निवर्तमान अध्यक्ष दीपक सुवेदी, चेम्बर घोराहीका अध्यक्ष मञ्जु वज्राचार्य, नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी शाखाका अध्यक्ष शरद अधिकारी, घोराही १५ का वडाअध्यक्ष रमेश पाण्डे, घोराही १४ का वडाअध्यक्ष शक्तिराम डाँगी, प्याव्सन दाङका पूर्वअध्यक्ष यादव गिरी, थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन थारु, पत्रकार भुपेन्द्र वली, टीका बस्नेत रहेका छन्।

    गठित दबाव अभियान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर संगीता भण्डारीको राजीनामा माग गरेको छ। सर्वपक्षीय भेलाले प्रतिष्ठानका उपकुलपति डाक्टर भण्डारीको कार्य अक्षमता देखिएकाले सम्बन्धित पक्षसमक्ष उनको राजीनामा माग गर्ने निर्णय गरेको हो।

    बिहीबार सामूहिक राजीनामा दिएर आन्दोलनमा उत्रिएका प्रतिष्ठानमा कार्यरत चिकित्सकहरूका माग सम्बोधन गरी उनीहरूलाई काममा फर्कने वातावरण बनाउन सम्बन्धित पक्षसँग आग्रह गर्दै जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषयप्रति चिकित्सकलाई पनि संवेदनशील बन्न पनि भेलाले माग गरेको छ। साथै भेलाले प्रतिष्ठानको विषयमा जिल्लाका राजनीतिक दल, जनप्रतिनिधिहरूको गम्भीर ध्यानाकर्षण गराउँदै समस्या समाधान गर्न अपिल गरेको छ।

    सो भेलामा सहभागी जिल्लाका सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरूले आफ्नो स्वार्थ पूरा गर्न प्रतिष्ठानलाई प्रयोग गर्न नहुने बताए। उनीहरूले प्रतिष्ठानको गरिमा बचाउन र स्वास्थ्य सेवा जस्तो गम्भीर विषयलाई सामान्य ठानेर खेलाँची गर्ने अधिकार कसैलाई नभएको भन्दै यस विषयमा गम्भीर बन्न अस्पताल प्रशासनलाई आग्रह पनि गरेको छ।

    दाङबासीको ठूलो आशा, भरोसा र आकांक्षाका साथ तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताललाई विलय गराई बनाइएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको पछिल्लो हविगतलाई लिएर सिंगो दाङबासीमा निरासा छाएको छ। प्रतिष्ठानको मर्म र उद्देश्यलाई उँचो बनाउन, यसको साख र गरिमा कायम राख्न चुनौति थपिँदै गएको छ।

    दाङबासीले अपेक्षा गरे अनुसारको प्रतिष्ठान नरहने होकी भन्ने सर्वत्र चिन्ता र चासो आम नागरिकले गरेका छन्। यस्तै हविगत यथावत रहे प्रतिष्ठानको हैसियत सामान्य हेल्थ केन्द्रका रूपमा परिणत पुग्नेमा कुनै शंका छैन। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत २५ जना डाक्टरहरूले बिहीबार मात्रै सामूहिक राजीनामा बुझाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]