|

भद्रपुर : बुबाको निधनपछि आमासहित भाइ-बहिनीलाई पाल्दै आइरहेका किसन दास क्यान्सर रोगबाट ग्रसित भएर थला परेका छन्। भद्रपुर नगरपालिका ८ स्थित फुलबारी टोल बस्ने २६ वर्षीय दासको मलद्बारमा क्यान्सर रोग लागेको हो। 

क्यान्सर लागेर अस्पताल भर्ना भएपछि उनका परिवार अहिले बिचल्लीमा परेका छन्। मधेसी समुदायका किसनका परिवारको आर्थिक अवस्था निक्कै कमजोर भएकोले सहयोगका लागि सबै समक्ष अपिल गरेका छन्। ६ वर्षअघि बुबाको निधन पश्चात् परिवार पाल्न भनी पढाई छाडेर किसन वैदेशिक रोजगारीका लागि सन् २०१५ मा दुबई गएका थिए।

आमाले ऋण लिएर दुबई पठाएका किसन दुई वर्षपछि अर्थात् सन २०१७ मा घर फर्किएका थिए। त्यस बेला विदेशमा कमाएको पैसाबाट उनले आमाले लिएको ऋण तिरे र केही रकम जुटाए। सन् २०१७ मा फेरि किसन वैदेशिक रोजगारीका लागि दुबई पुगे, तर त्यस बेला उनी त्यही बिरामी परे। 

बिरामी भएपछि किसन घर फर्किए। घर फर्किएर उनले चेक जाँच गर्दा उनलाई क्यान्सर भएको थाहा भयो। दुई वर्षअघि देखि क्यान्सर पीडित बनेका छोरा किसनको उपचारमा अहिलेसम्म १५ लाख बढी खर्च भइसकेको उनकी आमा सुनिताले बताइन्।

‘परिवार पाल्ने छोरालाई नै क्यान्सर रोग लागेको थाहा पाएपछि उपचारका लागि काठमाडौँस्थित नेपाल क्यान्सर अस्पताल लग्याैं’, आमा सुनिताले भनिन्, ‘त्यहाँ केही दिन उपचार गराएको र रकम सकिएपछि छोरालाई लिएर घर फर्कियौँ।’ ‘त्यसपछि यहाँ ल्याएर पटक-पटक छोराको उपचार जसो त्यसो ऋण र सापटी मागेर गर्दै आइरहेका थियौं’, उनले थपिन्।

पैसा सकिएपछि छोरा किसन घरमै थला परे, मलद्बार सुनिएर दिसा पिसाब रोकिँदा पेट सुनिएको दुःखका घटना सुनाउँदै आमा सुनिताले भनिन्, ‘त्यसपछि चार धुर जग्गा बैंकमा राखेर फेरि ऋण निकालेर छोरालाई मेची अञ्चल अस्पताल भद्रपुरमा भर्ना गराए। अस्पतालका चिकित्सकले पेटबाट दिसा पिसाब निकाल्ने बाटो बनाइदियो’ अहिले छोराको उपचार मेचीमै भइरहेको उनले बताइन्।

छोरालाई क्यान्सर रोग भएपछि सात वर्षको नाति लिएर बुहारी माइती गइसकेकी छिन्। ‘यता छोरा क्यान्सर भएर थला पर्नु, उता बुहारीले नाति लिएर घर छाडेर जानु, यस्तो पीडा कसैलाई नपरोस्’, उनले भनिन्। छोराको उपचारका लागि सहयोग गरी दिनुहुन उनले सबै समक्ष आग्रह हात फैलाएकी छिन्। 

किसन दास बचाउ अभियान

बिर्तामोड ४ स्थित गंगामाया तथा नरबहादुर क्यान्सर पीडित सहयोग संस्था किसन दास बचाउ अभियानमा जुटेका छन्। अर्थ र चेतनाको अभावमा स्वास्थ्यको कारण कोही पनि नेपालीको मृत्यु हुनु हुँदैन भन्ने संकल्प लिएर किसन दास बचाउ अभियानमा लागेको संस्थाका अध्यक्ष भूपाल बस्नेतले जानकारी दिए।

मेची अस्पतालमा उपचार भइरहेका किसनको स्वास्थ्य अवस्था देखाउँदै पत्रकार समक्ष बस्नेतले भने, ‘किसनलाई बचाउ अभियानमा हामी जुटेका छौं। यसका लागि आर्थिक संकलन सुरु गछौं।’ ‘क्यान्सर रोग बिरामीको क्षेत्रमा काम गर्दै आइरहेको यस संस्थाले अहिलेसम्म ९५ जनाको उपचार गराइसकेको छ। उनीहरूको उपचारमा ६५ लाख बढी खर्च गरिसकेका छौं’, उनले भने। अब यो संस्था किसनलाई बचाउन लागि परेको उनको भनाई छ। 

यस अभियानलाई सफल बनाउन देश तथा विदेशमा रहेका नेपालीले आर्थिक सहयोग गरी दिनु हुन सबै समक्ष उनले अपिल गरेका छन्। किसनको सहयोगका लागि ९८४२६५२५१२ र ९८०३०४१४३१ नम्बरमा सम्पर्क गर्न सकिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.