|

  • कार्लोस फबाल

ब्राजिलको विशाल अमेजन जंगलमा लागेको भिषण आगलागीप्रति अहिले विश्व समुदायको ध्यान आकर्षित भएको छ। पृथ्वीका अथाह जीवजन्तु र वनस्पतिको वासस्थानका रूपमा परिचित अमेजन जंगलमा लागेको यसपटकको डढेलोले एउटा धरोहर नै नष्ट हुने अड्कलबाजी गरिएका छन्।

ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले शुक्रबार अमेजन जंगलको डढेलो नियन्त्रणमा सघाउन सेना परिचालनको आदेश दिएका छन्। विश्वका प्रकृतिप्रेमीले अमेजोनको डढेलो नियन्त्रण गर्न ब्राजिल सरकारले बेवास्ता गरेको भन्दै सजायस्वरूप ब्राजिलसँगको व्यापार रोक्न विश्वसमुदायले ध्यान दिनुपर्ने आवाज उठाएसँगै राष्ट्रपति बोल्सेनारोले यस्तो आदेश दिएका हुन्।

ब्राजिलको उत्तरपश्चिमी रोन्डोनिया राज्यको घना जंगलमाथिको आकाशमा बाक्लो धुँवा निरन्तर देखिएको छ। एकजना एएफपी फोटोग्राफरका अनुसार सयौँ किलोमिटरको दूरीमा आगोका लप्का जताततै देखिएका छन्।

'यो दृश्य सामान्य छैन। जंगलमा जताततै आगो लागिरहेकाले आकाश धुँवा नै धुँवाले ढाकेको छ,' राज्यको राजधानी पोर्टो भेल्होको एक होटलका कर्मचारीले बताए। पोर्टो भेल्हो नगरकै नजिक आगलागी भइरहेकाले पूरै नगर धुँवा र धुलोले छपक्क ढाकेको छ।

विश्वकै सबैभन्दा ठूलो जंगलको उपमा पाएको यस जंगलमा आगलागी भएपछि विश्वभर नै चिन्ता व्यक्त गरिएको छ। ब्राजिली राष्ट्रपति बोल्सोनारो र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोबीच एकअर्काविरुद्ध आरोप प्रत्यारोप नै चलेको छ। फ्रान्सेली राष्ट्रपति म्याँक्रोले अमेजन जंगलको डढेलोलाई 'अन्तर्राष्ट्रिय संकट'का रूपमा लिनुपर्ने बताएका छन्। उनले ब्राजिलले तत्काल नियन्त्रणका आपतकालीन उपाय अवलम्बन नगरे युरोपेली युनियनसँगको व्यापार सम्झौता नै अबरुद्ध पार्ने धम्की दिएका छन्।

पछिल्लो सरकारी तथ्यांकमा यस वर्षमत्र ब्राजिलमा ७६ हजार ७२० वटा वन डढेलोका घटना रेकर्ड गरिएका छन्। सन् २०१३ यता यो नै सबैभन्दा बढी डढेलाका घटना भएका हुन्। विज्ञहरूले चरिचरन वा बाली लगाउनका लागि जमिन तयार गर्न स्थानीयवासीले सुख्खा मौसममा जंगल आसपास डढेलो लगाउने प्रचलनले आगलागीका घटना बढेको बताएका छन्। यी आगलागीमध्ये आधाभन्दा बढी अमेजन जंगलमै भएका हुन्।

राष्ट्रिय अन्तरिक्ष अनुसन्धान इन्स्टिच्यूट (इन्पे)का अनुसार बुधबार र बिहीबारकै बीचमा अमेजनमा ७०० वटा आगलागीका नयाँ घटना भएका छन्। धुँवाका कारण साओ पाउलो समेतका नगर क्षेत्रको आकाशको हावाको गुणस्तर अत्यन्त न्यून विन्दुमा पुगेको थियो। सोमबार यी क्षेत्रको आकाशलाई धुँवाले ढाकेका कारण दिउँसै रातिजस्तो भएको थियो।

परिस्थिति अति नाजुक बन्दै गएपछि राष्ट्रपति बोल्सोनारोले शुक्रबार अबेर राति मन्त्रिपरिषदको बैठक समेत डाकेका थिए। उक्त बैठकले आगलागी नियन्त्रण गर्न र अमेजन आसपासका आपराधिक घटना नियन्त्रणमा ल्याउन सैनिक परिचालन गर्न स्वीकृति दिएको थियो।

अमेजन वनक्षेत्रले ठूलो परिमाणमा अक्सीजन दिने भएकाले पनि यसलाई 'पृथ्वीको फोक्सो'का रूपमा लिइन्छ। साथै यसले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न ठूलो भूमिका खेल्ने गरेको छ।

ब्राजिलकै रियो डे जेनेरियो र साओ पाउलोमा हजारौं मानिसले अमेजनमा लागेको डढेलो नियन्त्रणमा सरकारी बेवास्ताको विरोध गर्दै दिनहुँ प्रदर्शन गरिरहेका छन्। युरोपेली मुलुकहरूले ब्राजिलका राष्ट्रपतिमाथि दबाब दिनुका साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आगो नियन्त्रणमा ल्याउन सघाउने वचन दिएका छन्।

फ्रान्सेली राष्ट्रपति म्याँक्रोले युरोपेली युनियन र ब्राजिल समेत सहभागी दक्षिण अमेरिकी व्यापार क्षेत्र (मर्कोसर) बीच तय भएको व्यापार सम्झौता रोक्ने चेतावनी दिएका थिए। आयरल्याण्डले पनि व्यापार सम्झौता रोक्ने चेतावनी दिएको छ। फिनल्याण्डले ब्राजिली बिफ युरोप भित्रिन नदिने बताएको छ।

बोल्सोनारोले डढेलोलाई देखाएर ब्राजिललाई सजाय नदिन बारम्बार आग्रह गरेका छन्। 'विश्वभर नै वन डढेलोका घटना भइरहेका हुन्छन्, र यसैलाई कारण देखाएर प्रतिबन्ध लगाइनु जायद होइन,' शुक्रबार साँझ एक टेलिभिजनलाई दिनुभएको संक्षिप्त प्रतिक्रियामा बोल्सोनारोले बताए।

म्याँक्रोले बिहीबार एक ट्वीट गर्दै अमेजनको डढेलोलाई अन्तर्राष्ट्रिय संकटका रूपमा लिनुपर्ने र फ्रान्समा यसैसाता हुने सात आद्योगिक राष्ट्रहरूको बैठक (जी७)मा उच्च प्राथमिकता दिएर छलफल गरिनुपर्ने बताएका छन्। म्याँक्रोको ट्वीटलगत्तै आक्रामक भएका ब्राजिली राष्ट्रपति बोल्सोनारोले म्याँक्रोमाथि 'उपनिवेशवादी प्रवृत्ति' रहेको आरोप लगाए।

वातावरण क्षेत्रका विज्ञहरूको भनाइमा वन डढेलोसँगै तीव्र गतिमा अमेजन जंगलमा वनविनाश हुनेछ। इन्पेका अनुसार सन् २०१८ को जुलाई महिनाको तुलनामा यस वर्ष सन् २०१९ को जुलाईमा वनविनाश झण्डै तीनगुणा बढेको छ। बोल्सोनारोले विगतमा गरिएका दाबी झुटो रहेको भन्दै इन्पेका प्रमुखलाई नै बर्खास्त गरेका थिए।

यसै साताको शुरुमा बोल्सोनारोले गैरसरकारी संस्थाहरु बन डढेलोका लागि जिम्मेवार रहेको दाबी गरेका थिए।

बोल्सोनारोका प्रमुख समर्थक मानिएको ब्राजिलको निकै शक्तिशाली कृषि क्षेत्रले पनि राष्ट्रपतिका भनाईप्रति चासो व्यक्त गरेका छन्। कृषकको भनाईमा समयमै बोल्सोनारोले अमेजन मामिलामा सही कदम नचाले आफ्ना उत्पादनले प्रमुख विश्व बजार गुमाउने छन्।

कन्ट्रोल रिस्क परामर्शदाताका थोमज फाभारोको भनाईमा बोल्सोनारोका टिप्पणीहरुले अन्तर्राष्ट्रिय प्रतिबन्धको जोखिम बढाएका छन्। 'यो पछिल्लो बन डढेलोले ब्राजिलको वन संरक्षणको विश्वव्यापी मोडेल पनि समाप्तीको संघारमा पुगेको छ,' रियो डे जेनेरियोस्थित इगारेप इन्स्टिच्यूटका अनुसन्धान निर्देशक रोबर्ट मुग्गाहले बताए।

अमेजन क्षेत्रमा रहेको ब्राजिलकै सबैभन्दा ठूलो मानस नगरका प्रमुखले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै अमेजनको वनक्षेत्र विश्वकै लागि जीवनको आधार रहेको बताए।

प्रबुद्ध आदिवासी प्रमुख राओनीले पनि आगो नियन्त्रण गर्न अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरेका छन्। छिमेकी मुलुकहरू पाराग्वे र बोलिभियाले पनि अमेजन जंगलमा लागेको डढेलो नियन्त्रण गर्न भरमग्दुर प्रयत्न जारी राखेका छन्। अमेजन जंगलको सबैभन्दा ठूलो क्षेत्र ब्राजिलमा पर्दछ भने यो पेरु, कोलम्बिया, भेनेजुएला, इक्वेडर, पाराग्वे र बोलिभिया समेतमा फैलिएको छ।

अमेजन जंगलको क्षेत्रफल करिब ५५ लाख वर्गकिलोमिटर छ। यस जंगल क्षेत्रमा साना ठूला हजारौं नदीनाला रहेका छन्। अत्यधिक वर्षा पनि हुने यस वन क्षेत्रलाई जैविक विविधताका दृष्टिले यो पृथ्वीकै अद्भूत र अनुपम उपहार मानिन्छ।

बोलियाका सरकारले शुक्रबार बन डढेलो नियन्त्रण गर्न 'सुपरट्याँकर' विमान प्रयोग गरिएको छ। गत महिनादेखि पूर्वी प्रान्त सान्ता क्रुज क्षेत्रको करिब सात हजार ७७० वर्ग किलोमिटर वन क्षेत्र सखाप पारिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.