|

दाङ : साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले एजेण्डाका हिसाबले आफ्नो पार्टी पहिलो भएको दाबी गरेका छन्। उनले उपकुलपति नियुक्तिदेखि जग्गा प्रकरणसम्मका घटनामा सबैले साझाको एजेण्डालाई नै पछ्याएका कारणले साझा पार्टी पहिलो भएको दाबी गरेका हुन्।

 शनिबार कार्यक्रमको सिलसिलामा दाङको तुलसीपुर आएका मिश्रले पत्रकारसँग कुरा गर्दै स्थापनाको २ वर्षका बीचमा जनतामा एजेण्डा उठाएकै कारण देशका मुख्य मुद्दामा पार्टीको सहभागिता हुने गरेको उनले बताए। 'देशका मुख्य एजेण्डामा साझा पार्टीको सहभागिता अनिवार्य भएको छ,' उनले भने।

उनले पेसागत संगठनहरूले पेसालाई नै धरासायी बनाएको भन्दै साझा पार्टीले कुनै पनि पेसागत संगठन नखोल्ने बताए। 'पेसागत संगठनहरू पेसागत हकहितभन्दा पनि आफ्ना पार्टी निकटका व्यक्तिहरूलाई कसरी पक्षपोषण गर्ने भन्ने कुरामा उद्यत रहेका छन्' उनले भने। उनले युवा, महिला र ज्येष्ठ नागरिकको संगठन भने बनाउने संकेत गरे।

रवि लामिछानेको विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै संयोजक मिश्रले प्रहरीले कुनै पनि घटनाको निष्पक्ष छानबिन गर्न पाउनुपर्ने धारणा राखे। निष्पक्ष छानबिनका लागि भीडले आवाज उठाउनु आवश्यक रहेको भन्दै त्यसले छानबिनलाई भने असर पर्ने खालका गतिविधि गर्न नहुने बताए। 'निष्पक्षरूपमा छानबिन गर्न र अनुसन्धानलाई वहकिन नदिनका लागि आन्दोलन गर्न सकिन्छ' उनले भने।

त्यसैगरी कार्यक्रममा बोल्दै पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले पार्टीलाई फराकिलो बनाउन खोज्दा केही साथीसँग मतभेद भएर छुट्टिनु परेको बताए। 'पाटी फुटेको होइन निर्माणका क्रममा एकाध इँटाहरू छुट्टिएका हुन्' आचार्यले भने “पार्टीका गोप्य दस्तावेज पार्टीको प्रवक्ताले मिडियाबाट थाहा पाउनु पर्छ भने त्यो जति गोपनियताको उल्लंघन के हुन्छ?' उनको भनाइ थियो। उनले साझा पार्टीले प्रतिक्रियात्मकभन्दा पनि परिणाममुखी काममा ध्यान दिने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.