|

मोरङ : विराटनगरमा श्री राधाकृष्ण रथयात्रा सुरु भएको छ। विराटनगर १ पोखरियास्थित श्री राधाकृष्ण मन्दिर परिसरबाट शनिबार दिउँसो साढे ३ बजे सुरु भएको रथयात्रा साँझ सम्पन्न भएको छ।

रथयात्रामा सबै जातजाती, धर्म, संस्कृति, लिंग र उमेरका मानिस सहभागी भएको आयोजकले जनाएको छ।

सामाजिक सद्भावको पर्वको रूपमा विराटनगरमा श्री राधाकृष्ण रथयात्रा हुने गर्दछ। दक्षिण एशियाकै दोश्रो ठुलो रथयात्रा मानिएको विराटनगरको श्री राधाकृष्ण रथयात्रा यस पटक ५२ औँ संस्करण हो। रथयात्रामा पाँच लाख बढी श्रद्धालुले सहभागिता जनाएको आयोजकको दाबी छ।

अत्यधिक गर्मी हुने विराटनगरमा रथयात्राका क्रममा दिउँसो सामान्य बादल लागेका कारण रथयात्रामा सहभागीलाई केही राहत भएको थियो।

रथयात्रामा प्रदेश १ का प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङ, संघीय सरकार सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली लगायतले रथयात्राको उद्घाटन गरेका थिए।

खटयात्राले ५२ वर्षअघि रथयात्राको रुप लिएको थियो। विक्रमसम्वत् १९८८ सालमा शुरु भएको खटयात्रालाई स्थानीय भूपालमानसिंह कार्की र सत्यनारायण धनावतसहितका समाजसेवी र धार्मिक व्यक्तित्त्वहरूले २०२५ सालबाट रथयात्रामा रुपान्तरण गरेका थिए। त्यसअघि भगवान श्री राधाकृष्णको मूर्तिलाई खटमा राखी काँधमा बोकेर नगरपरिक्रमा गराउने प्रचलन थियो। खटयात्रालाई रथयात्रामा रुपान्तरण गरिए यता पम्रागत शैलीको आधुनिक रथमा भगवान राधाकृष्णको मूर्ति राखेर नगर परिक्रमा गराउने गरिएको थियो।

पेगोडा शैलीमा निर्माण गरिएको रथको लम्बाई २२ फिट, चौडाई १४ फिट र उचाई १८ फिट रहेको थियो। चिटिक्क पारेर सजाइएको रथ तान्नकालागि रथको अग्रभाग जुँवाको दुर्वतर्फ ७५ फिट लम्बाईको डोरी राखिएको थियो। रथयात्राको क्रममा श्रद्धालुहरूको अत्यधिक भीडभाड रहने गरेका कारण त्यसलाई व्यवस्थित गर्न रथको दाँया भागमा पुरुष र बायाँपट्टिको भागमा महिलाहरूकालागि रथ तान्ने स्थान निर्धारण गरिएको थियो। रथयात्रालाई शान्तिपुर्णरूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पारिएको थियो।

नगरक्षेत्रका विभिन्न ४० स्थानमा विश्राम लिने रथयात्रालाई थप भव्य र आर्कषक बनाउन हेलिकप्टरबाट १०० किलो बढी फूल वर्षा गरिएको थियो। सुरक्षाका लागि ठाउँठाउँबाट ड्रोन क्यामेराले निगरानी गरिएको थियो।

विराटनगरको वडानम्बर १, २ र ३ को संगमस्थल राधाकृष्ण मन्दिरबाट निकालिने रथयात्रा मेनरोड, ट्राफिकचोकसहित कोशीराजमार्गको महेन्द्र चोकदेखि बरगाछी हुँदै पुनः मन्दिर परिसरमा गएर साँझ सम्पन्न भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.