|

सोलुखुम्बु : सोलु करिडोर १३२ केभी प्रशारण लाइनको काम बाढी र पहिरोका कारण प्रभावित भएको छ।

विद्युत प्राधिकरणको लगानी र भारतीय एक्जिम बैकको सहुलीयतपूर्ण ऋणमा निर्माण भइरहेको आयोजनाको काम सन् २०१९ को मार्चमा सक्ने लक्ष्य राखिए पनि बाढी र पहिरोका कारण निर्धारित समयमा नसकिने आयोजनाका प्रमखु जनार्दन शर्माले जानकारी दिए। काम प्रभावित भएपछि सन् २०२० जनवरी ३१ सम्म म्याद थप गरिएको छ।

ठेकेदार कम्पनी मोहन इनर्जीले आयोजना निर्माणको जिम्मा पाएको छ। वर्षाका कारण आयोजनाको काम प्रभावित भए पनि थपिएको समयमै काम सम्पन्न गर्ने आयोजना प्रमुख गौतमको दावी छ। गत असार अन्तिममा मात्र सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी सडकखण्डको ठाँटीमा पहिरो जाँदा करिब एक महिना सवारी आवगमन ठप्प भएको थियो। जसले गर्दा पनि आयोजनालाई समस्या भएको थियो। 

ओखलढुंगामै धेरै काम बाँकी

सिरहाको मिर्चैयादेखि सोलुखुम्बुको तिङ्लासम्म ९० किलोमिटर प्रशारण लाइनमा ३०३ वटा टावर निर्माण गर्नुपर्ने स्टिमेट छ। जसमध्ये २०६ वटा टावर निर्माण गरिसकिएको आयोजना प्रमुख जनार्दन गौतमले जानकारी दिए।

बाँकी काम अहिले रोकिएको छ। ‘वर्षाकै कारण टावर खडा गर्न समस्या भयो,’ गौतमले भने, ‘रोकिएको काम चाँडै सुरु हुन्छ।’

सिराहा, उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बुमासम्म विभिन्न स्थानमा निर्माण गरिने टावरका लागि सामुदायिक वन मुख्य चुनौती बनेको आयोजनाको भनाइ छ। निर्माण गर्न बाँकी रहेका ९७ वटा टावरमध्ये ओखलढुङगामा मात्र ६२ वटा बाँकी रहेको प्रमुख गौतले बताए। त्यस्तै, सोलुखुम्बुुमा २४, उदयपुरमा ९ र सिराहमा २ वटा टावरका काम हुन बाँकी रहेको छ।

आयोजनाको काम सम्पन्न हुन ढिला भएको भन्दै सोलुखोलामा निर्माणाधीन अवस्थामा रहेका हाइड्रोपावरले चिन्ता व्यक्त गरिरहेको छ। माथिल्लो सोलुखोला जलविद्युत आयोजना २३.५ मेगावटको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ। करिब ९५ प्रतिशत काम सम्पन्न भए पनि उत्पादिन विद्युत प्रशारण गर्ने माध्यम नुहँदा समस्या भएको आयोजनाका बद्रिमान श्रेष्ठले जानकारी दिए। 

यस्तै, ८२ मेगावाट क्षमताको तल्लो सोलुहाइड्रो पावरको समेत ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको आयोजनाले जनाएको छ। सोलु खोलामा निजी क्षेत्रका २१७.५ मेगावाटका ६ जलविद्युत आयोजना निर्माण भइरहेका छन्। 

बैकल्पिक माध्यम खोज्दै प्राधिकरण

सोलुखुम्बुको तिङ्लामा १३२, ३३ र ११ केभी प्रशारण लाइनका लागि सबस्टेशन निर्माण भइरहेको छ। विद्युत प्राधिकरणले ३३ केभी प्रशारण लाइनमार्फत सोलुखोलामा उत्पादन भएको विद्युतलाई राष्ट्रिय प्रशारणमा जोड्ने बिकल्प खोजेको छ। ओखलढुंगाको रुमजटारमा रहेको सब स्टेशनमा जोडर खेर जान सक्ने विद्युतलाई जोडेर प्रयोग गर्ने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ। उक्त काम समेत अन्तिम चरणमा पुगेका बताइएको छ।

निर्माणाधीन आयोजनाले उत्पादन थालेपछि राष्ट्रिय प्रशारण लाइनको व्यवस्था गर्न नसकेको खण्डमा सरकारले ४५ प्रतिशत हर्जना (पेनाल्टी) समेत तिर्नुपर्छ। पेनाल्टी तिर्नबाट बच्नको लागि पनि सरकारलाई कुनै न कुनै माध्यमबाट राष्ट्रिय प्रशारण लाइनमा जोड्नुपर्ने बाध्यता छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.