थाहा संवाद

टीकापुर घटना राजनीतिक तरिकाले हल गरिनुपर्छ
SHARES

शान्तिविना समृद्धि हुनै सक्दैन

भदौ ८, २०७६

    धनगढी : ०७२ भदौ ७ गते थरुहट/थारूवान आन्दोलनको क्रममा टीकापुरमा हिंसात्मक झडप हुँदा आठ सुरक्षाकर्मी र एक बालकसहित नौ जनाको हत्या भयो। घटनामा दोषी ठहर भई संघीय सांसदमा निर्वाचित रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय भएको छ।

    यसैगरी, ७ गतेको घटनाको प्रतिशोधमा भदौ ८ गते थारू समुदायको घर, व्यापारिक फर्म, सञ्चार गृहलगायत जलाइएको थियो। टीकापुर घटनापछि टीकापुरमा थारू र पहाडी समुदायबीच कुनै न कुनै रूपमा दूरी बढेको छ। यही दूरी कम गर्न भन्दै शनिबारदेखि टीकापुरमा थरुहट सम्मेलन सुरु भएको छ।

    चार वर्षदेखिको दूरी तीन दिनको सम्मेलनले केही कम गर्ला त? थरुहट/ थारूवान राष्ट्रिय सम्मेलनका केन्द्रीय सल्लाहकार तथा संविधानसभा पूर्व-सदस्य कृष्णकुमार चौधरीसँग थाहा खबरकर्मी भानुभक्त आचार्यले गरेको कुराकानीको सम्पादित अंश :

    राष्ट्रिय सम्मेलनको मुख्य यसको उद्देश्य के हो?

    यसका दुईवटा उद्देश्य छन्। एउटा ०७२ सालमा टीकापुर घटना घटिसकेपछि टीकापुरमा तीतोतीतो वातावरण महसुस भइरहेको थियो। हामीले जनतासँग कुराकानी गर्दा पनि त्यस्तो महसुस गरिरहेका पायौँ। त्यसकारणले टीकापुरमा गुम्सिएको वातावरणलाई राम्रो बनाउनको लागि यो कार्यक्रम आयोजना गरिएको हो।

    यो हाम्रो एउटा उद्देश्य हो भने अर्को ०७२ को संविधान बन्दै गर्दा थारूहरूले आफ्नो हक अधिकारको बारेमा आवाज उठाएका थिए। तर, त्यो संविधानमा सबैभन्दा बढी थारू समुदाय नै ठगिएका छन्। त्यसकारणले यो समुदायको हक अधिकारका लागि पनि यो कार्यक्रम आयोजना गरिएको हो। हामीले सबैसँग छलफल गरेर एउटा टीकापुर घोषणा पत्र जारी गर्नेछौँ। त्योअनुसार नै हामी अगाडि बढ्नेछौँ।

    तपाईंहरू सद्भाव चाहन्छौँ भन्नुहुन्छ। तर, तापाईंरूकै कार्यक्रममा बाबुराम भट्टराईले यस्तो सद्भावको कुरा गरेर हुँदैन अधिकार लडेर लिनुपर्छ भन्ने अभिव्यक्ति दिनुभयो। तपाईंहरू सद्भाव चाहनुहुन्छ तर नेतृत्व त्यस्तो चाहँदैनन् भन्ने त देखियो नि होइन र?

    त्यस्तो होइन। त्यतिबेला थारूहरूले राज्यसत्तासँग माग राखेका थिए र राज्यसत्तासँगैको लडाइँ थियो। अखण्ड सुदूरपश्चिमले पनि राज्यसत्तासँगै माग राखेका हुन्। थारूसँग होइन। त्यसकारणले गर्दा हाम्रो त्यो लडाइँ भनेको राज्यसत्ताको विरुद्धमा थियो। तर, केही व्यक्तिहरूले भने यो लडाइँ त यहाँको पहाडी थारू विरुद्धमा हो, थारूहरूले त यहाँको सद्भाव बिगारे भन्ने आरोप लगाए।

    ठूलो भ्रम छर्ने काम भयो। त्यसका रणले गर्दा हामीले के स्पष्ट पार्‍योभन्दा यो लडाइँ थारू र पहाडीको हुँदै होइन। यो लडाइँ त राज्यसत्तासँगको हो। हिजो कार्यक्रममा बक्ताहरूले वास्तविक सद्भाव कसरी आउन सक्छ त्यसमा जोड दिनुभएको हो।

    तर, उहाँले त सद्भावको आह्वान गरेर अधिकार पाइँदैन। आन्दोलन गर्नुपर्छ भन्नुभयो नि। यो भनेको त तपाईंहरूले गरिरहेको प्रयास गलत हो भन्ने होइन र?

    होइन...होइन...यो चाहिँ राज्यसत्ताको विरुद्धमा तपाईंहरू आन्दोलन गर्नुहोस्, संघर्ष गर्नुहोस् भनिएको हो।

    तपाईँलाई थाहा छ? चार वर्ष पहिले पनि टीकापुरमा त्यस्तै सभा भइरहेको थियो। त्यहाँ उपस्थित नेताहरूले आन्दोलन गर्नुपर्छ, अधिकार लडेर लिनुपर्छ भन्ने अभिव्यक्ति दिएका थिए। त्यसैको परिणाम हो टीकापुर घटना पनि भन्नेहरू छन्। फेरि चार वर्षपछि पनि उस्तै अभिव्यक्तिले कसरी सद्भाव फैलन्छ र?

    त्यतिबेला जति वक्ताले बोलेका थिए उनीहरूले आफ्नो अधिकार आन्दोलन गरेर, संघर्ष गरेरै लिनुपर्छ है भन्ने भनेका हुन्। उहाँहरूको मूलस्पिरिट त्यो थियो। उहाँहरूले भन्न खोजेको चाहिँ घरमा बसेर अधिकार पाइँदैन भन्ने थियो।

    त्यतिबेला पनि थारू समुदायहरू लड्न कुनै अर्को समुदायसँग आएका थिएनन्। राज्यसत्तासँग माग राख्न आएका थिए। त्यसो गर्दैगर्दा सुरक्षाकर्मीसँग दोहोरो भिडन्त भयो। त्यसपछि अप्रिय घटना भयो। त्यसको भोलिपल्ट कर्फ्यु लागेकै बेलामा थारूको घर छानीछानी जलाइएको थियो।

    ०७२ को कार्यक्रमले गर्दा थारूहरूले धेरै पाठ सिकेका छन्। अब त्यसबाट पाठ सिकेर अघि बढ्ने हो। अब हिजोको घाउलाई कोट्याएर, हिजोको घटनाहरूलाई कोट्याएर केही हुँदैन। अब हामी नयाँ तरिकाले अगाडि बढ्ने हो।

    तपाईंहरूले सद्भाव फैलाउने भन्दै राष्ट्रिय सम्मेलनको आयोजना त गर्नुभयो। तर थारू नेतृत्वहरु नै यसमा विभाजित भएको पाइयो नि। किन सबै अटाएनन्?

    अब विवादै भए त यहाँ लाखौँ हजारौँ जनता कहाँबाट उपस्थित हुन्थे होला र? पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मबाट यहाँ आएका छन्। तपाईंहरूले देख्नुभएकै होला। तर, कुरा केही भन्नुहुन्छ भने हिजो पनि हामी सद्भावको कुरा गरिरहँदा त्यो सद्भावको कुरा यहाँका केही गलत तत्त्वहरूलाई चित्त बुझिरहेको थिएन। अहिले पनि तिनैले उचालिरहेका छन्।

    उनीहरूलाई कसरी लडाउने भन्ने छ। लडाउने र फुटाउनेको शासन त भइरहेको छ नि यहाँ। त्यस्ता गलत तत्त्वहरूबाट परिचालित मान्छेहरूले यो कार्यक्रमको विरोध गरिरहेका हुन्।

    भदौ ७ गते हिंसात्मक झडप भयो। ९ जनाले ज्यान गुमाए। त्यसको भोलिपल्ट कर्फ्यु लागेकै बेला थारू समुदायका घरहरू जलाइयो। त्यसपछि सद्भाव बिग्रिएको हो?

    टीकापुरमा ठूलो घटना घटिसकेपछि त्रासदीका कारण जनतामा कताकता खुलेर कुरा गर्ने र भावना साटासाट गर्ने वातावरणको अन्त्य भयो। यो कार्यक्रमले खुलेर भावना साटासाट गर्ने वातावरण सिर्जना गरेको छ।

    हामीले त बुझायौँ यो आन्दोलन तपाईंहरूविरुद्ध थिएन र होइन। त्यतिबेलाको घटनाले निश्चित रूपमा थारू र गैरथारूबीच केही न केही प्रभाव त परेको छ। त्यो गलत प्रभावलाई हटाउन र मलम लगाउन हामी आएका हौँ।

    चार र्षदेखि समुदायस्तरमै चिसिएको सम्बन्ध तपाईँहरूको तीन दिनको कार्यक्रमले सुधार गर्छ त?

    यो कार्यक्रम एउटा मन्त्र होइन, जो छु मन्त्र गर्नासाथ सारा समस्या हल भइहालोस्। एकैपटकमा सारा सद्भाव जनताको घर दैलोमा आइहाल्छ भन्ने होइन। तर, एउटा सुरुवात गर्‍यौँ हामीले।

    सबैजनालाई कार्यक्रममा आउँदा फूल लिएर आउनुहोस् भनेर आह्वान गर्‍यौँ। यहाँ कुनै जिन्दावाद र मूर्दावादको नारा लगाउँदैनौ भन्यौँ। त्यसपछि सद्भावसहित टीकापुर नगर सरसफाइको कार्यक्रम हामीले गर्‍यौँ। हिजो भर्खरै हामीले सद्भाव रक्तदान कार्यक्रमको आयोजना गर्‍यौँ।

    यसरी सद्भावका लागि गरिएको विभिन्न कार्यक्रमले पनि यो एउटा सुरुवात हो भन्ने बुझिएको छ। अब हामी एक आपसमा लड्न हुन्न, एक आपसमा  शत्रुताको व्यवहारले हेर्नुहुन्न, हामी त सबै मित्र हौँ भन्ने भावनाको विकास गर्नुछ। माग मागे पनि हामी राज्यसत्तासँगै माग्ने हो। अब कसैले लडाएर पनि हामी लड्नुहुँदैन भन्ने कुरा सबै नागरिकले बुझ्दै जानुभएको छ र हामी बुझाउँदै गएका छौँ।

    टीकापुरमा सद्भाव कायम गर्ने र संविधानमा थारूहरूको माग सम्बोधन नभएको भन्दै राष्ट्रिय सम्मेलनको आयोजना गरिएको बताउनुभयो। यसपटक रेम चौधरीको विषय ओझेलमा पारिएको हो?

    हामीले थारूले न्याय पाउनुपर्छ। अधिकार पाउनुपर्छ भन्नुको अर्थ त्यो पनि हो। रेशम चौधरी जो जनताबाट निर्वाचित प्रतिनिधि हुन्। उहाँ अहिले जेलमा आजीवन कारावास बिताइरहनुभएको छ। त्यसैगरी, दर्जनौँ थारूहरू जेलबन्दीको जीवन बिताइरहनुभएको छ।

    टीकापुर घटना राजनीतिक घटना थियो। त्यसैले राजनीतिक तरिकाले हल गरिनुपर्छ भनेर हिजो हरेक वक्ताहरूले जोड दिएको छ। यो टीकापुर घटना राजनीतिक घटना हो। यसकारण राजनीतिक तरिकाले हल गरिनुपर्छ भन्ने हाम्रो पनि माग हो।

    मान्छे मारेको वा मारिएको भनेको आन्दोलनको क्रममा ०४६ सालमा  पनि भएकै हो। १९ दिनको आन्दोलनमा पनि भएकै हो। त्यसकारणले गर्दा टीकापुर घटना पनि राजनीतिक घटना हो। त्यसको अर्थ हामी मार्ने र मारिने खेल गर्नु भने राम्रो होइन।

    सधैँ नेपालमा शान्ति आओस्, समृद्धि आओस् भन्नको लागि सबै जाति, वर्ग क्षेत्रलाई राजनीतिक सत्ताको मूलधारमा ल्याउनुपर्छ। यही उद्देश्यको साथमा हामी अगाडि गइरहेका छौँ। त्यसकारणले टीकापुर घटनामा रेसमजीमाथि भइरहेको अन्यायको विरोधमा छौँ। उहाँलाई रिहा गरिनुपर्छ। जनप्रतिनिधिको भूमिका निर्वाह गर्न दिनुपर्छ भनेर सुरुदेखि नै हामी यो कुरा गरिरहेका छौँ।

    तपाईंहरू त यो संघीय संरचना पनि अमान्य छ भन्नुहुन्छ। ११ प्रदेश हुनुपर्छ, जातीयताको नाममा प्रदेश बनाउनुपर्छ भन्दै हुनुहुन्छ। माग पूरा होला त?

    एउटा कुरा यो जातीयताको नाममा हुँदै होइन। यो चाहिँ भूगोलको नाममा हो। थारूवान भनेको भूगोल हो, जाति होइन। जस्तै भारतमै हेर्नुहोस् न   पञ्‍जाब छ। त्यो पञ्जाप भनेको भूगोल हो, जाति होइन। अर्को बंगाल छ। त्यो बंगाल भनेको भूगोल हो जाति होइन।

    थारूवान भन्दा सबै जाति, वर्ग, क्षेत्र मिलेर बस्ने ठाउँ हो। राज्य पुनर्संरचना आयोगले पेस गरेको १० प्लस १ को अवधारणा नै वस्तुवादी र वैज्ञानिक छ। त्यसकारणले यो खाका पास गर्नुको विकल्प छैन।

    यसले मात्रै उत्पीडनमा परेका जाति, वर्ग, क्षेत्रलाई राज्यसत्ताको मूलधारमा  ल्याउँछ। यसले थारूहरूलाई मात्रै होइन गैरथारूलाई, दलितलाई, महिलालाई खस आर्यलाई, मधेसी, जनजाति आदिवासी सबैलाई राज्यसत्ताको मूलधारमा ल्याउँछ।

    त्यसपछि मात्रै नेपालमा शान्ति हुन्छ। शान्ति भएपछि समृद्धि आउँछ। समृद्धिको खाका भनेको यो हो हेर्नुहोस्। शान्तिविनाको समृद्धि हुनै सक्दैन। अहिले सुखी नेपाली समृद्ध नेपाल जस्ता गलत नाराहरू ल्याइएको छ। जनता एक आपसमा अधिकारको लागि लडिरहेका छन्। अनि कहाँबाट सुखी नेपाली समृद्ध नेपाल हुन्छ। यस्ता हावा कुरा गर्दै यहाँका शासक रमाइरहेका छन्। त्यसकारण हामी पहिले शान्ति त्यसपछि समृद्धि भनिरहेका छौँ।

    आजसम्म राज्यले तपाईँहरूको माग सम्बोधन गरेको अवस्था छैन। अझै सम्बोधन गरेन वा चासो नै दिएन भने के हुन्छ?

    हामीले त शान्तिपूर्ण आन्दोलन गर्नेछौँ। निरन्तर गर्नेछौँ। जबसम्म न्याय पाइँदैन, जबसम्म अधिकार पाइँदैन तबसम्म हामी निरन्तर कुनै न कुनै तरिकाले संघर्ष गर्दै जानेछौँ।

    एक न एक दिन पक्कै यो राज्यले हाम्रो माग सम्बोधन गर्छ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ। तर, यदि सुनेन भने हामी आन्दोलन चर्काउँदै जाने छौँ। अगाडि बढ्दै जान्छौँ। राज्यले दमन गर्‍यो भने त्यसको प्रतिरोध पनि हुन्छ। हामी जनतालाई कति लडाउने कति मराउने। त्यसकारणले राज्यले यो न्यायपूर्ण अधिकारलाई तुरुन्त सम्बोधन गर्नुपर्छ।

भानुभक्त आचार्य

आचार्य थाहा खबरका कैलाली समाचारदाता हुन् । इमेल : bhanuavenues@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]