|

हेटौंडा : मकवानपुरको दामन प्रकृतिक रुपमा सुन्दर स्थान हो। सरकारले तोकेको पर्यटकीय गन्तव्यअन्तर्गत उक्त दामन पर्दछ। दामनमा दैनिक संयौ पर्यटक पुग्ने गर्छन्।

पर्यटक व्यवसायी, होटल व्यवसायीका अनुसार दामनका अधिकांश होटल तथा लज शुक्रबार र शनिबार खाली नै हुँदैन। तर सरकारी स्वामित्वमा रहेको शितोष्ण बागवनी नर्सरी केन्द्र पुग्ने पर्यटक थोरै मात्रै हुन्छन्। बागवनीमा नै विरुवा र फलफूल लिने किसान, व्यापारी  बाहेक अरु नपुग्ने हुँदो त्यही भित्र रहेको सरकारी आवासको बारेमा झन अधिकांशलाई जानकारी  छैन।  

एकसय जनासम्म अट्ने हल, ७ वटा रुम र बेड सहितको लज सुविधा भएको नर्सरी केन्द्रमा उक्त संरचना बारे पर्यटकलाई थाहा नहुँदा जीर्ण बन्दै गएको छ। लालिगुराँस र फलफूलको  जंगलको बीचमा रहेको उक्त सरकारी आवासको भवन जहाँबाट दन्तलहर हिमाल देखिन्छन्।

एकान्त र शान्त वातावरण रहको उक्त आवास अहिले छायाँमा परेको छ। सरकारी हाकिम, कर्मचारी, राजनीतिक दलका नेता समेत उक्त सरकारी स्वामित्वको लज र हलको प्रयोग गर्दैनन्। कुनै बेला सरकारी रिर्सोटको रुपमा चलेको सुविधायुक्त लज तथा हलको व्यवस्था भएको ठाउँमा सरकारी कार्यक्रम नै हुँदैनन, बरु नजिकैको महँगा निजी होटलहरूमा कार्यक्रम हुन्छन्।

कुनै समय उक्त सरकारी आवास मै बस्नकै निम्ति एक हप्ता अगाडि कोठा बुक गर्नुपर्ने स्थिति समेत रहेका थाहा नगरका स्थानीय नेता विष्णु विष्ट 'आदर्श'ले बताए। तर अहिले महिनामा एक जना पनि नबस्ने गरेको शितोष्ण बागवनी नर्सरी केन्द्र दामनका प्रमुख कालिकाप्रसाद कोइरालाले बताए।

पूर्व प्रधानमन्त्री झलनाथ खनालदेखि ठूला-ठूला नेताले समेत बास बसेको उक्त सरकारी  आवास अहिले सुनसान बनेको छ। लज तथा हलको लागि जडान गरिएको सोलारबाट पानी तातो-चिसो बनाउने मेशिन समेत अहिले विग्रेको छ।

सभाहलमा ताला लागेको छ भने शौचालयहरू पनि जीर्ण बनेका छन्। हल र ७ वटा कोठा भएको स्थान दामन क्षेत्रकै उच्च स्थानमा रहेको आवास स्थान हो तर पछिल्लो समय त्यहाँ कोहि पुग्दैनन्। मान्छे जान छोडेपछि उक्त स्थान सुनसान भएको छ। कलात्मक रुपमा ढुंगले सजाएका पेटीहरू पुरना भएका छन्। चुन, बाबियो लगायतबाट निर्माण भएको उक्त लज र हलको भवन भूकम्पबाट समेत कुनै जोखिम नभएता पनि प्रयोगमा भने आउन सकेको छैन।

२०१९ सालमा स्थापना भएको मकवानपुरको जिल्लाको पर्यटकीय स्थल दामनमा रहेको शितोष्ण बागवनी नर्सरी केन्द्रको अवस्था दयनीय बनेको हो। भारतीय सरकारको सहयोगमा अर्चाड कम नर्सरीको नामबाट सुरु भएको केन्द्र रिसोर्टको रुपमा सञ्चालनमा आएको थियो। तर पछिल्लो केही वर्ष यता निजी होटल, लजहरूको प्रचार र सरकारी वेवस्ताको कारण उक्त नर्सरी केन्द्रको सरकारी आवास ओझेँलमा परेको हो।

सरकारी  आवासकोे अवस्था जीर्ण भए तापनि नर्सरी केन्द्रको कार्यालय भने केही हदसम्म चलिरहेको शितोष्ण बागवनी नर्सरी केन्द्रका प्रमुख कालिकाप्रसाद कोइरालले बताए। केन्द्र अन्तर्गत कै रिसोर्टबाट करिब आधा किलोमिटर दूरीमा रहेको केन्दको कार्यालयको वरिपरि भने व्यवस्थित रुपमा बाटोको सजावट गरिएको छ। २०२५ सालबाट शितोष्ण बागवानी नर्सरी केन्द्रको रुपमा सञ्चालन रहेको नर्सरी केन्द्र ७६ हेक्टर क्षेत्रफलमा फैलिएको छ।

झट्ट हेर्दा फलफूल बगैँचा  देखिने उक्त केन्द्रमा आरु २९८, नास्पाती ४०३, स्याउ ४७६, हलुवावेद ५९, आरुवखडा २८६, ओखर १ हजार २४०, किवी, १६९ लगायतका फलफूलको बोटसहित जम्मा ३ हजार ७२५ विरुवा रहेका छन्। यस्तै विभिन्न फलफूलका गरी ३० हजार  विरुवा उक्त नर्सरी केन्द्रमा रहेका छन्।

कलमीबाट उत्पादन भएका नर्सरी र फलफूल वेचर केन्द्रले  गत वर्ष १४ लाख राजश्व समेत उठाएको कार्यालय प्रमुख कोइरालले बताएका छन्। बागवनी केन्द्रभित्र नास्पाती, स्याउलाई असिनाले असर गर्ने भन्दै माथिबाट जाली लगाइएको छ। पाखैभरी आल्चा, खुरवानी, किवि, ओखर रहेको छ। बागवनी केन्द्रको बीच-बीच भागमा भवनहरू रहेता पनि कार्यालय प्रयोजनका भवनहरू भूकम्पको कारण कोही चर्केको, कोही क्षति भएकोअव स्थामा छ।

प्रशासनिक र प्राविधिक सहित १३ जना कर्मचारीको दरबन्दी रहेको केन्द्रमा ८ जना प्राविधिक मध्ये कार्यालय प्रमुखसहित २ जना मात्रै कर्मचारी रहेका छन्। अन्य दुई जना कर्मचारी र कार्यालय सहयोगीको भरमा केन्द्र सञ्चालन गर्नु परेको कोइरालाको गुनासो छ।

फलफूलको बिरुवा र बोट रहेको उक्त बागवनीमा व्यवस्थित रुपमा घेराबार नहुँदा घाँस दाउरा गर्न आउने किसान र बाँदरले सताउने गरेको समेत उनले बताए। फलफूलको बगैंचा र पार्कको रुपमा केन्द्रको निर्माण भएता पनि किसान र व्यापारी बाहेक अन्य पर्यटकको उपस्थिति नहुने भएकोले पार्कहरू घाँसले छापिएर नदेख्ने भएका छन्। कर्मचारीको कमी र पर्यटक नआउँदा केन्द्रका कर्मचारीले पनि रिसाोर्टलाई वास्ता गर्न नसेको कार्यालय प्रमुख कोइरालाले स्वीकार गर्छन्।    

सरकारले ध्यान दिने

हाल प्रदेश ३ को भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको उक्त केन्द्रमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चासो व्यक्त गरेका छन्। मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले थाहा नगर क्षेत्रमा गरिने सरकारी कार्यक्रममा केन्द्रमा रहेको हलको प्रयोग गर्ने बताएका छन्। उनले जीर्ण अवस्थाको जानकारी पाएपछि प्रदेश सरकारले विशेष रुपमा हेरेको भन्दै आवश्यक भौतिक संरचना र व्यवस्थापनसहित सरकारी आवासको रुपमा रहेको बागवानी केन्द्रलाई सुधारेर एक वर्षभित्र परिर्वतन गने दाबी गरेका हुन्।

यस्तै थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले नगरपालिकाले आवश्यक सहयोग गरी उक्त आवास पुनः व्यवस्थित रुपमा सञ्चालन गर्ने समेत बताएका छन्।पर्यटकीय क्षेत्रसँगै कृषि विषयको विद्यार्थीको लागि अध्ययन केन्द्रको रुपमा समेत विकास गर्न सकिने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.