|

हेटौँडा : दुई महिनापछि प्रदेश ३ को प्रदेशसभाको बैठक आइतबार बसेको छ। बैठकको विशेष समयमा प्रदेशभित्र भएका प्राकृतिक प्रकोप बाढी-पहिरोको विषयदेखि स्थायी राजधानी र नामकरणको विषयले प्रवेश पाएको छ। यस्तै पछिल्लो समय चर्चा पाइरहेको शालिकराम पुडासैनी आत्महत्या प्रकरणको विषय पनि प्रदेश ३ को संसदमा उठेको छ।

प्रदेश ३ को प्रदेशसभाको बैठकको विशेष समयमा गत महिनामा आएको बाढी, पहिरो तथा प्राकृतिक प्रकोपको विषयमा चर्को आवाज उठेको हो। प्रदेश सरकारले बाढी पहिरोपीडितको लागि ध्यान दिन सरकारको सांसदले ध्यानाकर्षण गराएका छन्।

विशेष समयमा बोल्दै नेकपाका प्रदेशसभा सदस्य विशाल खड्काले आफ्नो क्षेत्रमा बाढी-पहिरोबाट जनताले धेरै दुःख पाएको भन्दै सरकारले कार्यशैलीलाई गतिशिल बनाउनुपर्ने बताए। उनले आफ्नो क्षेत्रको बाटोको अवस्था दयनीय भएकोले प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए।

यस्तै, दोलखाकी सांसद सरस्वती बस्नेत दोलखाका गाउँपालिका क्षतिग्रस्त भएर नाकाबन्दी जस्तै भएको बताएकी छिन्। यस्तै, नेकपाकी प्रदेशसभा सदस्य लालकुमारी पुनले ललितपुरमा भएको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराइन्। यस्तै, सासंद राजकाजी महर्जनले बाढी-पहिरोले पुर्‍याएको असरप्रति सरकार गम्भीर हुनुपर्ने बताए।

राजधानी र नामकरण खै?

नेपाली कांग्रेसका सांसद निमा लामाले स्थायी राजधानी र नामकरणको विषयमा प्रदेश सरकारलाई प्रश्न गरेका छन्। उनले स्थायी राजधानी र नाम तोक्न बनेको कार्यविधि दराजमा राख्न बनाएको हो? भन्दै प्रश्न गरेका हुन्।  उनले राजधानी र नामकरण विषयमा सहमतिको प्रयास पनि नगर्ने, प्रकृया पनि नजाने भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका छन्। सांसद लामाले विपद्को समयमा प्रदेशसभा सदस्यहरूसँग छलफल नगरेकोमा सरकारको ध्यानाकर्षण पनि गराएका छन्।

शालिकराम आत्महत्या प्रकरणको छानबिन हुनुपर्छ

प्रदेश ३ को संसदमा माउन्टेन टेलिभिजनका स्वर्गीय पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने आवाज उठेको छ। कानुनी रूपमा छानबिन हुँदाहुँदै कानुनमाथिको अविश्वास गर्न नहुने बताउँदै आत्महत्यासँग जोडिएका जो कोहीमाथि पनि छानबिन हुनपर्ने सांसद केशवराज पाँडेले प्रदेशसभा बैठकमा विषय उठाएका हुन्। उनले कानुन भन्दामाथि कोही पनि नभएको बताउँदै निष्पक्ष छानबिनमा प्रभाव पार्ने खालको गतिविधि गर्न नदिन सरकारसँग माग गरेका छन्।

एउटै बैठकमा २ प्रतिवेदन, ५ विधेयक

लामो समयपछि आइतबार बसेको प्रदेशसभाको बैठकमा दुइटा समितिको प्रतिवेदनसहित ५ वटा विधेयक संसदमा टेबुल भएको छ। बैठकमा दुइटा विधेयकको प्रतिवेदन  पेश भएको हो 'प्रदेश सूचनाको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन' र 'मदन कुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन' संसदमा प्रस्तुत भएको हो।

यस्तै, आइतबारकै बैठकमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले 'प्रदेश लोकसेवा आयोगको गठन, काम कर्तव्य, अधिकार र कार्यविधिका सम्बन्धमा  व्यवस्था गर्न बनेको विधेयक'  पेश गरेका छन्।  मुख्यमन्त्री पौडेलले नै  भौतिक पूर्वाधार मन्त्रीको तर्फबाट 'प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५  लाई संशोधन गर्न बनेको विधेयक' पनि पेश गरेका हुन्। 

यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेल 'प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक' र 'सार्वजनिक नीजि सहकारी साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक'  पनि पेश गरेका छन्। 

आइतबारकै बैठकमा 'प्रदेशसभा नियमावली २०७४ लाई संशोधन गर्न बनेको प्रदेशसभा नियमावलीको पहिलो संशोधन मस्यौदा प्रतिवेदन' पनि पेश भएको छ।  संसद बैठक भोलि सोमबार ११ बजेसम्मको लागि स्थगित भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.