|

काठमाडौं : स्वयं कर घोषणाअन्तर्गत व्यक्तिले गलत विवरण बुझाएमा कर छलीसरह नै कारबाही हुने भएको छ। संसदीय समितिमा छलफलको क्रममा रहेको राजस्‍व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संसोधन) विधेयक २०७५मा व्यक्तिले झुट्टा विवरण बुझाएको पाइएमा कर छली कसुरअनुसार नै कारबाही हुने व्यवस्था गरिएको हो।

संघीय संसद प्रतिनिधिसभा अन्‍तर्गतको अर्थ समितिको आइतबारको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले नागरिकलाई राज्यप्रति जवाफदेही र जिम्मेवार बनाउनका लागि स्वयं कर घोषणा गर्न दिइएको तर त्यसमा झुटो विवरण भरेको पाइए कर छलीसरह अपराध ठहर भई कारबाही हुने बताए।

समितिले दण्ड सजायसम्बन्धी विधेयकमा उल्लेखित व्यवस्थामा पनि केही संशोधन गर्ने तयारी गरेको छ। कैदको समय धेरै राख्दा जेल भर्ने अभियान मात्रै हुने र राजस्‍व असुलीमा सकारात्मकभन्दा नकारात्मक प्रभाव पर्न सक्ने भन्दै ५० लाख सम्मको अधिकतम अंक तोकेर त्यसभन्दा बढी हुनेलाई बिगो बराबरको जरिवानासहित कैदको व्यवस्था गर्न लागिएको हो।

बैठकमा समिति सदस्यहरुले विधेयकमा जरिवाना र कैदको समय बढी भयो भन्दै संशोधन गर्नुपर्नेमा सुझाव दिएका थिए। उनीहरूले कसुरबापतको दण्ड सजायको मात्रा ठूलो हुँदैमा राजस्‍व असुली नहुने तर्क गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.