|

बागलुङ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्षमा रहेको दलले जनताका सवालमा बोल्न नसक्दा नेपाली जनता मारमा परेको आरोप लगाएका छन्। झिनामसिना कुरामा हप्तौँ संसद अवरुद्ध गर्ने प्रमुख प्रतिपक्षमा रहेको दलले भ्रष्टाचार, महँगी र जनताका सामान्य सवालमा समेत आफ्नो मत राख्न नसक्दा सरकारले एकाधिकार गरेको उनको आरोप छ।

नेपाल सरकारले भारतीय तरकारीको चेक जाँचमा चालेको कदम सकारात्मक भए पनि भारतीय दादागिरीका कारण सरकारले आफ्नै निर्णय कार्यान्वयन गर्न नसकेको उनको भनाइ थियो। ‘तरकारीको विषदी जाँच गर्ने विषय राम्रो थियो’ केसीले भने ‘लैनचौरको पत्रपाएपछि सरकार लत्रालुत्रुक पर्‍यो।’

अखिल नेपाल राष्ट्रिय उद्योग व्यपार संघ बागलुङले आयोजना गरेको प्रशिक्षण भेलालाई आइतबार बागलुङमा सम्बोधन गर्दै केसीले नेपालमा कम्युनिष्टको सरकार आउँदा पनि जनताको जीवनशैलीमा परिवर्तन ल्याउन नसकेको आरोप लगाए। ‘आचरण नै कम्युनिष्टको जस्तो छैन, हेर्नूस त कहीँ कम्युनिष्टले कमिसज, घुसघोरी गरेको देख्नुभएको छ?’ केसीले भने ‘कम्युनिष्ट भन्ने लाज मन्नुपर्ने हो।’

उनले संघीयता लागू भएसँगै नेपाली जनताको जीवन थप कष्टकर भएको भन्दै संघीय व्यवस्थाको विरोध गरे। आर्थिक क्षमता कम भएको देशले महँगो पद्धति लागू गरेको भन्दै केसीले ऋण काडेर संघीय प्रणलि धान्नु परेको बताए। नेपालका लागि संघीय व्यवस्था महँगो भएको भन्दै केसीले जनताले तिरेको करले संघीय व्यवस्थाको समान्य खर्च चलाउनसमेत कठिन हुने बताए। संघीयताको आवरणमा नेपाली जनतालाई चर्को करको मारमा पारेको भन्दै अध्यक्ष केसीले तत्काल संघीयताको विकल्पमा एकात्मक प्रजातान्त्रीक विकेन्द्रीकरणको व्यवस्थामा जानुपर्ने बताए।

पछिल्लो समय नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतलगायत नेपालमा समेत केही शक्ति लागेको भन्दै त्यसको भित्री रहस्य राजतन्त्र ब्युँताउनु भएको उनको भनाइ थियो। ‘गणतन्त्रमाथि कालो बादल मडालिएको छ’ केसीले भने ‘हिन्दु राष्ट्रको बहानामा राजतन्त्र ब्युँताउने शक्ति लागेका छन्।’

ठूला साम्राज्यवादी राष्ट्रहरूले विभिन्न बहानामा राष्ट्रियतामा माथि आक्रमण गरिरहेको भन्दै केसीले त्यसका केही संकेत देखा परेको बताए। राजनीतिक र आर्थिक रूपमा देशलाई कमजोर बनाउँदै साम्राज्यवादीहरूले नेपाल प्रवेशको बाटो रोजेको उनको भनाइ थियो। ‘जग्गा बाँझो छ, सिस्नो उम्रेको छ, सरकारले विदेशी उत्पादनलाई प्रोत्साहन गर्छ’ उनले भने ‘यो साम्राज्यवादीहरूको आक्रमणका कारण भएको हो।’

व्यवस्था परिवर्तन भए पनि व्यवहार परिवर्तन हुन नसकेका कारण नेपालमा विदेशीको हस्ताक्षप कायम रहेको उनले बताए। अहिले पनि राष्ट्रियता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता संकटमा रहेको भन्दै केसीले त्यसलाई जोगाउनको लागि सबै नेपाली लाग्नुपर्नेमा जोड दिए।

देशको अर्थतन्त्र कमजोर बन्दै गएको भन्दै केसीले उत्पादन र बजारीकरणमा राज्यको ध्यान नपुगेको बताए। निजीकरणका कारण हिजो पञ्चायती व्यवस्थामा भन्दा कमजोर अवस्थामा देशको उत्पादन पुगेको उनको टिप्पणी थियो। ‘हिजो विकास थिएन, हामीसँग खानी थिए, उद्योग पनि थिए तर आज कोही बन्द भए कोही निजीकरण गरियो’ केसीले भने।

कार्यक्रममा अखिल नेपाल राष्ट्रिय उद्योग व्यपार संघका पूर्वअध्यक्ष भैरव रेग्मी, राजमो बागलुङका अध्यक्ष अमर थापा, अखिल नेपाल महिला संघ बागलुङका अध्यक्ष दिमायाँ पुन, आन्तरीक राजश्व कार्यालयका प्रमुख हेमराज सुवेदी, बागलुङ उद्योग वाणिज्य संघका उपाध्यक्ष राजनकुमार शाक्य र उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र श्रेष्ठलगायतले बोलेका थिए। अखिल नेपाल राष्ट्रिय उद्योग व्यपार संघ बागलुङका अध्यक्ष थानेश्वर सुवेदीको अध्यक्षता र सहविन अर्गेजाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.