सरोकार समितिले माग्यो उपकुलपतिको राजीनामा

|

दाङ : केही दिन पहिलेले काम गर्ने वातावरण नभएको भन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राजीनामा दिएका चिकित्सकहरूको राजीनामा स्वीकृत भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले गत बिहीबार बेलुका सामूहिक राजीनामा बुझाएका २३ जना चिकित्सकको राजीनामा स्वीकृत गरेर सेवाबाट निकालेको हो।

चिकित्सकहरूले राजीनामाको कुनै सुनुवाई नभएपछि आइतबार बिहान २४ घण्टे अल्टिमेटम दिँदै राजीनामा स्वीकृत गर्न या काममा फर्किने वातावरण बनाउन ज्ञापनपत्र बुझाएका थिए। प्रतिष्ठानका लागि सरकारी डाक्टरहरूलाई मन्त्रालयले व्यवस्थापन गर्ने गरी फिर्ता पठाएको छ भने प्रतिष्ठान आफैँले नियुक्त गरेका डाक्टरहरूको करार सम्झौता भंग गरेको बताएको छ।

उपकुलपति डा. संगीता भण्डारीले चरम मानसिक तनाव दिएको भन्दै प्रतिष्ठानमा कार्यरत डाक्टरहरूले राजीनामा दिएका थिए। राजीनामा दिनेहरूमा डा. दिनेश उप्रेती, डा. जीतनारायण यादव, डा. ओम अर्याल, डा. अनिल यादव, डा ईश्वरी भुषाल, डा. सुरेन्द्र कुँवर, डा. राजन शाक्य, डा. विक्रम बुढाथोकी, डा. कृष्णहरी सुवेदी, डा. रामेश्वर देवकोटा रहेका छन्।

यसैगरी, डा. जेम्स मर्हजन, डा. अमित लाम्गाडे, डा. वर्षा मानन्धर, डा. प्रितम डिसी, डा. अभ्यास पोख्रेल, डा. अनिल खाम, डा. मनोज यादव, डा. गौरव आचार्य, डा. सुवर्ण बुढा, डा. घना केसी, डा. राजेन्द्र फुलारा, डा. आयुष पौडेल उपाध्याय र डा. कृष्ण रिजालको राजीनामा दिएका थिए। उनीहरूले दिएको राजीनामा पत्रमा उपकुलपतिको मनोमानीले प्रष्तिठान थला परेको उल्लेख गरिएको  छ।

उनीहरूको राजीनामासँगै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टरहरूको संख्या शून्यमा पुगेको छ। अस्पतालमा आइतबार उपकुलपति आफैँले बिरामी जाँचेकी थिइन् भने निर्देशक सागर पन्थी र डिन वसन्त लामिछाने मात्र प्रतिष्ठानमा छन्।

त्यसैगरी  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ अभियान नाम दिएर केही दिनअघि घोराहीमा गठन गरिएको सरोकार समितिले प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीको राजीनामा माग गरेको छ। विभिन्न पेसा, व्यवसायी, अधिकारको क्षेत्रमा काम गरिरहेका व्यक्तिहरूले स्तस्फुर्त रूपमा गठन गरेको अभियान टोलीले प्रष्तिठानको वास्तविक अवस्था अध्ययनपश्चात् उपकुलपतिको राजीनामा नै उपयुक्त उपाय भएको ठहर गरेको हो।

अभियानका अगुवा विकिरण गौतमको नेतृत्वमा आइतबार अपराह्न प्रतिष्ठान पुगेको टोलीले राजीनामा माग्नुको कारणसहित पत्र बुझाएको छ। टोलीले प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेललाई उक्त बुझाएको हो। राप्ती उपक्षेत्रीय अस्पताल, राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानका रूपमा स्तरोन्नति हुँदा पनि जिल्लावासीले चाहे अनुसारको सेवासुविधा नपाएको, उपकुलपतिकै कारण प्रतिष्ठान धरासायी बनेको, अनियमितता बढेको, विभिन्न निकायसँग विवादमा मुछिएको, डाक्टर तथा कर्मचारीलाई काम गर्ने वातावरण नदिएको उनीहरूको आरोप छ। टोलीले उपकुलपतिलाई २४ घण्टाभित्र राजीनामा बुझाउनसमेत भनेको छ।  

सरोकार समितिले प्रतिष्ठानलाई बुझाएको पत्रमा आधारभूत रूपमा उपकुलपतिले राजीनामा बुझाउनुपर्ने ५ वटा कारण अगाडि सारेको छ भने प्रशासनिक अनियमितताका १० वटा प्रमाणहरू बुदाँगत रूपमा उल्लेख गरिएको छ। य,स्तै प्रांगिकतर्फ ४ वटा कारण अगाडि सारिएको छ।

उपकुलपति डा. भण्डारी सहजरूपमा प्रतिष्ठानबाट बर्हिगमन नभए कडारूपमा आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने अभियान टोलीका संयोजक विकीरण गौतमले बताए।  माग पत्रमा प्रतिष्ठान स्थापना भएको दुई वर्ष बितिसक्दा पनि डाक्टर उत्पादनका कुनै प्रक्रिया नथालेको, स्वास्थ्य सेवा उपक्षेत्रीय अस्पतालभन्दा खस्किएको, एमबिबिएस पढाइ गर्नका लागि सामान्य प्रक्रियासमेत सुरु नगरेको, प्रतिष्ठानका उपकुलपति स्वयं सरोकारवाला निकायसँग समन्वय कायम गर्नुको साटो सबैसँग विवाद गरेर जुहारी खेल्नमै व्यस्त रहेको जस्ता आरोप लगाइएको छ।

यस्तै, आन्तरिक रूपमा प्रतिष्ठानको सुशासन कमजोर पारेको जसको मुख्य उदाहरण चिकित्सकहरूको सामूहिक राजीनामा भएको उल्लेख गरिएको छ।  दुई वर्षको अवधिमा प्रतिष्ठानमा देखिएको व्यापक अनियमितताले प्रतिष्ठानको गरिमा र प्राज्ञिक मर्यादालाई कायम राख्न नसकेको अभियान टोलीको निष्कर्ष छ।

अभियान टोलीका संयोजक विकीरण गौतमले प्रतिष्ठानको गरिमा जोगाइराख्नको लागि ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔं’ अभियानको शुरुवात गरिएको उनको भनाई छ। अभियानले प्रतिष्ठानभित्र झाँगिएको सम्पूर्ण विकृति, अनियमितता, अपारदर्शिता, विवाद, द्वन्द्व र अवनतीको जड उपकुलपति भण्डारी नै भएको निष्कर्ष निकालेको हुदाँ राजीनामा मागिएको बताए।


सम्बन्धित समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.