|

काठमाडौं : संघीय राजधानी काठमाण्डौंमा  चार देशका कलाकारको सहभागितामा ‘अन्तर्राष्ट्रिय कला प्रदर्शनी’ चलिरहेको छ। अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालको आयोजना तथा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान (नाफा) को सहकार्यमा शुरु भएको प्रदर्शनी भदौ १७ गतेसम्म सञ्चालन हुनेछ।

काठमाण्डौंस्थित प्रतिष्ठानको कार्यालय नक्सालमा जारी कला प्रदर्शनीमा नेपालसहित भारत, बङ्गलादेश र चीनका चर्चित कलाकारको चित्र समावेश गरिएको आइडब्लुएस नेपालका अध्यक्ष एनवी गुरुङले जानकारी दिए। उनले ६ महीनादेखिको प्रयास सफल भएको बताए।

प्रदर्शनीको उद्घाटन गर्दै वरिष्ठ कलाकार हरिप्रसाद शर्माले यस्ता कार्यक्रमले कला र विचार आदानप्रदानमा सहयोग पुग्ने उल्लेख गर्दै जीवन रहुञ्जेल कला साधना गर्नसमेत कलाकारलाई आग्रह गरेका थिए।

कार्यक्रममा पूर्वराजदूत कमानसिंह लामाले कला क्षेत्रको गतिविधि कमजोर रहेको भन्दै अहिले गरेका काम भावी पुस्ताका लागि पनि सङ्ग्रह गरेर राख्नुपर्नेमा जोड दिए। प्रदर्शनीमा चीनबाट ११, बङ्गलादेशबाट ११, भारतबाट १५ र नेपालको ४३ कलाकारका चित्र समावेश गरिएको छ।

कलाका माध्यमबाट ती देशबीच सम्बन्धलाई थप मजबुत बनाउने लक्ष्यसहित प्रदर्शनी गरिएको आयोजकले जनाएको छ।

प्रतिष्ठानको मूर्तिकला विभाग प्रमुख लालकाजी लामाले अन्तरराष्ट्रिय क्षेत्रमा काम गरिसकेका कलाकारको चित्र समावेश हुने यस्ता प्रदर्शनीले सहभागी देशबीचको आपसी सम्बन्ध विस्तार हुने र नेपाल चिनाउन सहयोग गर्ने विस्वास व्यक्त गरेका छन्।

चित्रका गतिविधि धेरै भए पनि मूर्तिका गतिविधि हुन नसकेको भन्दै उनले मूर्तिकला प्रदर्शन गर्न कसैले इच्छा देखाए प्रतिष्ठानले सहयोग गर्ने बताए। प्रतिष्ठानका सदस्य सचिव विपिनकुमार घिमिरेले देशको धेरै कुरा कलाकृतिले बोल्ने भएकाले पहिचान दिन सजिलो हुने उल्लेख गरेका थिए।

प्रदर्शनीमा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, सदस्य सचिव विपिनकुमार घिमिरे, वरिष्ठ कलाकार श्यामलाल श्रेष्ठलगायतका अनुभवी र अगुवा कलाकारको चित्रसमेत समावेश गरिएको छ।

कार्यक्रमको पहिलो दिन शनिबार जलरङको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै कलाकार बुद्धि गुरुङलाई सम्मान गरिएको थियो भने र वाटरकलर युथ अवार्डबाट कान्छाकाजी भासिमालाई पुरस्कृत गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.